26th March | 2019 | Tuesday | 1:33:55 AM

फिल्म सम्पादनमा खोजिने नाम मित्र

हिमालय टाइम्स   POSTED ON : फाल्गुन २६, २०७५ (११:२९ AM)

फिल्म सम्पादनमा खोजिने नाम मित्र

काठमाडौं । कुनै पनि चलचित्र पूर्ण भएर दर्शकसम्म पुग्न सम्पादकको भूमिका महŒवपूर्ण हुन्छ । चलचित्र निर्देशकको निर्देशनमा छायांकारले खिचेर ल्याएका दृश्यलाई सही तरिकाले मिलाउने काम सम्पादकको हो । चलचित्रमा राखिने ‘ब्याकग्राउण्ड म्युजिक’लाई सम्पादकले ध्यान दिनुपर्ने अर्को महŒवपूर्ण पाटो हो । 

यसैबीच एकदशकदेखि नेपाली चलचित्र क्षेत्रमा चलचित्र सम्पादन गर्दै आएका मित्र देव गुरुङ पछिल्लो समय धेरैको रोजाइमा पर्ने सम्पादक हुन् । दशकअघि अभिनेता राजेश हमालको मुख्य भूमिका रहेको ‘हातमा लाग्यो सुन्ना’ देखि पछिल्लो प्रदर्शनमा आएको ‘जय श्री दाम’ सम्पादन गर्दासम्म मित्र डी गुरुङको व्यस्तता बढेको छ । सानैदेखिको कलाकारिताको मोहले गायकदेखि नायकसम्म बन्ने इच्छा राखेका मित्र विविध कारणले चलचित्र सम्पादनको पाटोमा रोमलिए । अहीले उनी अभिनयको मोहलाई छाडेर सम्पादन पेशामै रमाइरहेका छन् । 

‘हातमा लाग्यो सुन्ना, वर्षात्, फूल स्टप, मुुटु, ठूली, बुद्ध वन इन नेपाल, रंग बैजनी र गोरे’ चलचित्र सम्पादन गर्दासम्म मित्रको चर्चा सामान्य थियो । जब पछिल्लो सफल मानिएको चलचित्र ‘जात्रा’ सम्पादन गरे त्यपछि उनको चर्चा हृवात्तै चुलियो । ‘जात्रा’ले उनको जीवनको व्यस्ततामा जात्रै देखाइदियो । एकपछि अर्को चलचित्र सम्पादन गर्ने जिम्मा उनले पाए । उनले सम्पादन गरेका पछिल्लो चलचित्र ‘जात्रा, शुत्रगते, रोजी र जय श्री दाम’ हुन् । यी चलचित्रले उनको जीवनमा सफलता दिए । अहिले उनी आफ्नो टेबुलमा रहेका ‘जात्रैजात्रा’ र ‘दालभात तरकारी’को सम्पादनमा व्यस्त छन् । 

उनै चलचित्र सम्पादक मित्र डी गुरुङले सम्पादन यात्रा र पछिल्लो समयको नेपाली चलचित्रको सम्पादकीय अवस्थाबारे हिमालय टाइम्सका आठ सवालका जवाफ दिएका छन् ।

चलचित्र निर्देशक र सम्पादक बीचको तालमेल कत्तिको मिल्नुपर्छ ?

कुनै पनि चलचित्रको निर्देशक र सम्पादकबीच तालमेल मिल्नुपर्छ । निर्देशकले खिचेका दृश्यलाई सम्पादकले मिलाउँदा निर्देशकको दिमागी क्रिएसन कस्तो थियो भन्ने सम्पादकलाई थाहा नहुनसक्छ । कुनै नयाँ निर्देशकसँग काम गर्दा सुरुवातमा केही अप्ठ्यारो हुन्छ किनकी निर्देशकीय भाषा बुझ्न समय लाग्छ तर मेरो हकमा म अलिक सजिलो छु, त्यसैले अधिकांश नयाँ निर्देशक दोहोरिनु भएको छ । 

यदि निर्देशक र सम्पादकको तालमेल मिलेन भने चलचित्र राम्रो बन्न सक्दैन ।


निर्देशकमा सम्पादनको ज्ञान हुनु कत्तिको आवश्यक छ ? 

चलचित्र निर्देशकसँग सम्पादनको पनि ज्ञान छ भने पछि चलचित्र सम्पादन गर्ने क्रममा अप्ठ्यारा बाटो देखिँदैनन् । त्यसैले एक निर्देशकसँग सम्पादनको ज्ञान हुनु आवश्यक छ । यहाँ कतिपय यस्ता निर्देशक पनि हुनुहुन्छ जो पछि सम्पादनमा बस्दा दृश्यहरूको अपुग भएपछि पुनः सुट गर्नुपर्ने अवस्था आएको हुन्छ, त्यो सम्पादनमा हुनुपर्ने ज्ञानको कमीले हो । निर्देशकले सम्पादनको पूरै काम जान्नुपर्दैन तर ज्ञन हुनैपर्छ ।


चलचित्र सम्पादन गरेको अनुभवमा चलचित्र निर्देशन गर्न सकिन्छ ? 

चलचित्र सम्पादन गरिरहेको अनुभवले निर्देशकीय पाटोको ज्ञान त हुन्छ तर पूरा चलचित्र निर्देशन गर्न सकिँदैन । निर्देशकले खिचेर ल्याएका दृश्यहरू टेबुलमा बसेर हेर्दा सजिलै त रहेछ भन्ने लाग्नु स्वभाविक हो तर जब फिल्डमा उत्रिनुपर्छ अनि निर्देशकको जिम्मेवारी कति रहेछ भन्ने थाहा हुन्छ । तर सम्पादन गरिरहेको मान्छेलाई चलचित्र निर्देशन गर्न सजिलो भने पक्कै हुन्छ ।

मेरो हकमा कुरा गर्दा अहिले नै चलचित्र निर्देशनमा लाग्ने सोंच छैन । सम्पादन गरिरहेको छु, अब त सक्छु भन्ने घमण्ड लिएर निर्देशनमा हतारमा हात हालेर निर्मातालाई डुबाउन चाहन्न । यदि निर्देशन गर्नै प¥यो भने सुरुमा कुनै चलचित्रमा सहायक निर्देशक भएर अनुभव लिएरमात्र गर्नेछु ।


नेपालमा कतिपय चलचित्र खिचिसकेपछि सम्पादक तय भएको पाइन्छ, छायांकनअघि नै सम्पादकसँग सल्लाह लिनु कत्तिको आवश्यक छ ? सम्पादक फिल्डमै जानु आवश्यक देख्नुहुन्छ कि नाई ? 

चलचित्र खिच्नुभन्दा अघि सम्पादक तय गरेर सल्लाह गरियो भने सजिलो हुन्छ र राम्रो बन्छ । किनकी स्क्रिप्टमा लेखिएका कतिपय दृश्यलाई निर्देशक र सम्पादक बसेर यो तरिकाले होइन यसरी खिचौं भन्ने सल्लाह गर्न सकिन्छ, त्यो भनेको चलचित्र राम्रो बनाउन गरिने मिहिनेत हो । अर्को कुरा सम्पादक छायांकनस्थलमै जाने कुरामा नेपालमा अझै गाह्रो छ । फिल्डमा जानु भनेको फिल्डमै बसेर सम्पादन गर्नु हो । बाहिरी देशहरूमा हेर्नेहो भने अधिकांश फिल्म खिच्दै फिल्डमै सम्पादक हुन्छन्, छुटेका आवश्यक दृश्यहरू फेरि खिच्न सकिन्छ । केही नयाँ ‘सट’ प्रयोग गरौं भन्न मिल्छ । तर सबै सुट गरिसकेपछि एकैपटक टेबुलमा बसेर सम्पादन गर्न लाग्दा दृश्य छुटेका अथवा केही नयाँ दृश्य राख्न मन लाग्यो भने फेरि फिल्डमा जान गाह्रो पर्छ ।

नेपालमा अझै पनि फिल्डमै गएर सम्पादन गर्न गाह्रो छ । किनकी सम्पादनमा चाहिने सबै सामग्री फिल्डमा लैजान गाह्रो छ । सक्दैनसकिने भन्ने होइन तर सम्पादनमा प्रयो गरिने प्रविधि विदेशमा जत्तिको नेपालमा आइसकेका छैनन् । त्यसैले टेक्निकल्ली कुरामा समस्या छ । 


हिट र फ्लप फिल्मको आधारमा सम्पादकको योग्यता निर्धारण गर्न सकिन्छ र ? 

मैले सुरुवातका दिनमा चलचित्र सम्पादन गर्दा धेरैले चिन्नुहुँदैनथ्यो । म भित्र चलचित्र सम्पादन गर्न सक्छु भन्ने आँट त थियो तर मैले सम्पादन गरेका चलचित्रहरू हिट अथवा नाम चलेका छैनन् भने कसले विश्वास गर्ने ? तर फ्लप भएका चलचित्रहरू सम्पादकको कम ज्ञानका कारणले मात्र भने होइनन् । कतिपय राम्रो सम्पादकले सम्पादन गरेका चलचित्रहरू फ्लप छन् । हिट र फ्लप फिल्मको आधारमा यो सम्पादकको ज्ञान थोरै र यसको ज्ञान धेरै भन्ने हुँदैन । 

मैले चलचित्र जात्राभन्दा अगाडि धेरै चलचित्रमा काम गरेँ तर जात्रापछि मलाई धेरै अफर आए किनकी जात्रा हिट भएको थियो । 


चलचित्र सफल बनाउनमा सम्पादकको भूमिका कत्तिको रहन्छ ? 

चलचित्र सफल बनाउन सम्पादकको भूमिका रहँदैन, बरु चलचित्र राम्रो बनाउन ठूलो भूमिका हुन्छ । सम्पादक चलचित्रको एक पार्टमात्र हो, सफल बनाउन चलचित्रको निर्देशन र स्क्रिप्टको ठूलो भूमिका रहन्छ ।


तपाइँ चलचित्र सम्पादक भएको हिसाबमा बढी लोभ केको लाग्छ ? 

सबैका चलचित्र सम्पादन गर्न पाइयोस् भन्ने चाहना हो । एकै निर्देशकसँग काम गर्नभन्दा नयाँ–नयाँ निर्देशकसँग काम गर्न पाइयोस् । नयाँ जेनेरेशनसँग काम गर्दा सिक्ने मौका मिल्छ ।


ठूलो र सानो ब्यानरको चलचित्र सम्पादन गर्दा समय र दुःख त एकै होला ? पारिश्रमिकमा कत्तिको लचकदार बन्नुपर्छ ? 

दुई घण्टाको चलचित्र छ भने ठूलो ब्यानर भएपछि सानो भएपछि सम्पादकले बिताउने समय लगभग उस्तै हो । तर टेक्निकल्ली फरक चलचित्र पनि हुन्छन् जस्तै भिएफएक्सको पाटलगायत कुराहरू पारिश्रमिक छुट्टै हुन्छ । तर ब्यानर फरक र एकै प्रकारका चलचित्रमा चलेको ब्यानर अथवा निकै कम बजेटमा बनेका चलचित्रहरूको पारिश्रमिकमा लचकदार बन्नुपर्छ । कतिपय निर्माताहरूले निकै सानो बजेटमा चलचित्र बनाइरहेको हुन्छन् ती चलचित्रमा ठूला अर्थात् चलेका ब्यानरसँग काम गरिरहेको पारिश्रमिक लिने कुरा हुँदैन ।

प्रस्तुतिः गोपिकृष्ण चापागाइ


Views: 55