25th August | 2019 | Sunday | 6:34:55 PM

दैनिक १३ करोड लिटर सफा पानी काठमाडौंका नदीमा छाडिनेछ

दैनिक १३ करोड लिटर सफा पानी काठमाडौंका नदीमा छाडिनेछ

काठमाडौं उपत्याकावासीमा मेलम्ची खानेपानीको सपनाले अझै सार्थकता पाउन सकेको छैन । मेलम्चीको पानी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौंवासीको धारामा झार्ने सरकारको प्रतिबद्धता कागजमै सीमित हुने भएको छ । ठेकेदार कम्पनीले आयोजनाको काम बीचमै छाडेर बाहिरिएपछि मेलम्चीको भविष्य अन्यौलमा परेको हो । तथापि मेलम्ची खानेपानी आयोजनाको काम अन्तिम चरणमा रहेकाले ढिलै भए पनि मेलम्चीको पानी काठमाडौंवासीको धारामा झर्ने निश्चित छ । मेलम्चीको पानी वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्याकाभित्र आवश्यक पूर्वाधारको काम अन्तिम चरणमा रहेको जनाएको छ । पानी वितरणका लागि नयाँ पाइप विछ्याउने र ठाउँठाउँमा रिजर्भ ट्यांकी निर्माणको काम अन्तिम चरण पुगेको आयोजना निर्देशक तिरेशप्रसाद खत्रीले बताएका छन् । प्रस्तुत छ, हिमालय टाइम्सका लेखनाथ पोखरेलले खत्रीसँग गरेको कुराकानी ः

मेलम्चीको पानी राजधानीवासीको धारासम्म पु¥याउने काम कहाँ पुगेको छ ? 

सुन्दरीजलबाट काठमाडौं उपत्याकावासीको घरघरमा पानी वितरणका लागि आवश्यक संचरना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यसमा करिब ९५ प्रतिशत काम पूरा भएको छ । पाइपलाइन टेष्ट गर्ने काममात्रै बाँकी छ, प्रेसर, लिंकेज टेष्ट गर्ने र पाइपलाइन सफा गर्ने काममात्रै बाँकी रहेको छ, जुन मेलम्चीको पानी आएपछिमात्रै हुनेछ । यसका लागि हाल उपलब्ध पानीले मात्रै सम्भव छैन ।

नयाँ चरणको काम चाहिँ कति पूरा भयो ?

नयाँ सझौताअनुसार पनि झण्डै ४० प्रतिशत काम पूरा भइसकेको छ । पहिले रिङरोडको दुई तिहाइ क्षेत्रमा मात्रै विस्तार गर्ने भनिएकोमा अहिले बचत रकमबाट थप क्षेत्रमा पनि पाइपलाइन विस्तारको काम सुरु गरिएको हो । सम्झौताअनुसार दोस्रो चरणको काम आगामी २०७६ सालको पुस मसान्तसम्म सम्पन्न गर्नुपर्नेछ ।

मेलम्ची ढिलाइले केही सहज भयो होइन ?

मेलम्ची ढिलो हुँदा हामीलाई सहज होइन, समस्या भएको छ । किनभने निर्माण कम्पनीले काम छोडेर हिँड्नसक्ने अवस्था छैन, काम पूरा भए पनि पूर्णरूपमा पूरा हुन नसकेकाले यस्तो अवस्था आएको हो । मेलम्चीको पानी आइसकेपछि पनि तीन महिनासम्म सम्बन्धित ठेकेदार कम्पनी नै हेर्नुपर्ने सम्झौता छ । पाइपलाइनमा १५ प्रतिशतभन्दा बढी पानी चुहावट भएमा ठेकेदार कम्पनीले नै जिम्मेवारी लिनुपर्ने प्रावधान रहेको छ ।

दोस्रो चरणअन्तर्गत कति किलोमिटर पाइपलाइन हो ?

२२७ सय किलोमिटर हो । १२ सय किलोमिटर र २२७ किलोमिटर एसियाली विकास बैंकको ऋण सहयोगअन्तर्गत हो भने नेपाल सरकारकै स्रोतमा अन्य क्षेत्रमा पनि पाइपाइन विस्तारको प्रक्रिया सुरु भएको छ । खासगरी काठमाडौैंको कपन क्षेत्रमा पाइपलाइन बिछ्याउनका लागि टेण्डर प्रक्रिया सुरु गरिएको छ । 

अहिले पनि उपत्यकाका विभिन्न स्थानमा सडक खन्ने काम जारी छ नि ?

कतिपय स्थानमा भल्व च्याम्बरको काम भइरहेकाले सडक खन्नुपरेको हो, पानीका लागि भल्व च्याम्बरको काम पनि झण्डै ७० देखि ७५ प्रतिशत काम पूरा भइसकेको छ । यस्ता भल्व च्याम्बरहरू सातभन्दा बढी हुनेछन् ।

पानी स्टोरेज ट्यांकको काम चाहिँ कहाँ पुगेको छ ?

पानी पोखरीको काम पनि लगभग पूरा भइसकेको छ । १० वटा निर्माण गर्नुपर्नेमा ९ वटाको काम सम्पन्न भइसकेको छ । भक्तपुरको कटुन्जे क्षेत्रमा मात्रै काम बाँकी छ । कटुन्जेमा जग्गा अधिग्रहणमा समस्या देखिएपछि काम रोकिएको हो ।

स्टोरेज पोखरी चाहिँ कुन–कुन स्थानमा छन् ?

आरूबारी, महाँकाल, बाँसबारी, पानीपोखरी, बालाजु, खुमलटार, ढोलाहिटी, कीर्तिपुर र भक्तपुरको तिगनेमा रहेको छ । उल्लिखित पोखरीको काम सम्पन्न भइसकेको छ । सबै पोखरीको कुल स्टोरेज क्षमता सात करोड ४५ लाख लिटर रहेको छ । सानोमा ३० लाख लिटरदेखि ९५ लाख लिटरसम्मका पोखरी रहेका छन् ।

राजधानीवासीको धारामा दैनिक कति घण्टा पानी वितरण हुन्छ ?

प्रथम चरणमा मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा भित्रिनेछ । मेलम्चीको पानी नयाँ र पुराना दुवै पाइपलाइनबाट वितरण हुनेछ भने उपत्याकावासीका धारामा दैनिक औसतमा ४ घण्टासम्म पानी आउनेछ ।

मेलम्ची आएपछि भूमिगत स्रोतको दोहनमा कमी आउला ?

धेरै कमी आउनेछ र रिचार्ज पनि हुनेछ । मेलम्ची आएपछि काठमाडांैमा पर्याप्तमात्रामा पानीको आपूर्ति हुने भएकाले ट्युवबेलको प्रयोग घटेर जानेछ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड नै करिब एक सयवटा ट्युवबेलबाट पानी आपूर्ति गर्दै आएको छ तर मेलम्ची आएपछि अधिकांश ट्युवबेल प्रयोगमा आउने छैनन् । 

दोस्रो चरणअन्तर्गतको याङ्ग्री र लार्के कहिले आउँछ ?

याङ्ग्री र लार्केको पनि अध्ययनको काम सकिएको छ । पहिलो र दोस्रो चरण गरी कुल ५१ करोड लिटर पानी काठमाडौंमा भिœयाउने योजना रहेको छ । पहिलो चरणमा मेलम्चीबाट १७ करोड लिटर पानी भित्रिनेछ भने बाँकी याङ्ग्री र लार्के आयोजना पूरा भएपछि आपूर्ति हुनेछ । करिब ४÷५ वर्षभित्रै याङ्ग्री र लार्के पनि सम्पन्न हुने अपेक्षा गरिएको छ ।

फोहोर पानी व्यवस्थापनतर्फ चाहिँ के भइरहेको छ ?

आयोजनाले खानेपानीका साथै फोहोर पानी व्यवस्थापनका लागि पनि काम गर्दै आएको छ । हाल गुहृयेश्वरी, धोवीधाट, बालकुमारी, सल्लाघारीगायत पाँचवटा फोहोर पानी प्रशोधन केन्द्र निर्माण भइरहेका छन् । गुहृयेश्वरीको प्रशोधन केन्द्र अन्तिम चरणमा पुगेको छ, चालु आर्थिक वर्षको असार समान्तसम्म सञ्चालनमा आइसक्नेछ । गुहृयेश्वरीबाट दैनिक ३ करोड २० लाख लिटर फोहोर पानी प्रशोधन हुनेछ भने अन्य केन्द्रहरू पनि आगामी २ वर्षभित्र सम्पन्न हुनेछन् । सबैगरी कुल १३ करोड लिटर पानी प्रशोधन गरेर बागमतीलगायत काठमाडौं उपत्याकाभित्रबाट बहने नदीहरूमा छाडिनेछ । काठमाडौंमा नदीहरूमा सफा पानी देख्न पाइनेछ ।


Views: 423