10th December | 2019 | Tuesday | 10:59:31 AM

हाइब्रीड बिउ उत्पादन गर्दैछौँ

  POSTED ON : असार १५, २०७६ (३:४० PM)

हाइब्रीड बिउ उत्पादन गर्दैछौँ


कृषिप्रधान मुलुक नेपालले बिउ, मल, यन्त्रदेखि खाद्यन्नसमेत विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । पछिल्लो समय हाडब्रीड बिउको आयात उल्लेख्यरुपमा बढेको छ । सम्बन्धित कम्पनीले बिउमा ग्यारेन्टी नदिने भएकोले बढी उत्पादनको आशामा हाइब्रीड बिउ प्रयोग गर्दा नेपाली किसान र किसान र बिक्रेतासमेतलाई धोका हुने गरेको छ । यस्तो विडम्बनाले बिउ आयातकर्तासमेत चिन्तित छन् । यसैकारणले कतिपय व्यवसायी हाइब्रीड बिउको आयात बन्द गरेर स्वदेशी बिउको कारोबारमा लाग्न थालेका छन् ।

खाद्यान्नदेखि तरकारीसम्मको बिउ आयातका लागि नेपालबाट वार्षिक अर्बौ रुपैयाँ विदेशिने तर आयातीत बिउको भर नहुने भएपछि नाफ सिड्स प्रालिले हाइब्रीडको आयात बन्द गरी स्वदेशी बिउको कारोबार सुरु गरेको छ । मल, बिउ र यान्त्रिकीकरणका विषयमा नाफ सिड्सका प्रबन्ध निर्देशक गौतम मजर्हनसँग लेखनाथ पोखरेलले कुराकानी गरेका छन् : 

 

नाफ सिड्सले के गर्छ ?

नाफ सिड्सले १८ वर्षदेखि कृषि क्षेत्रका लागि आवश्यक सामग्रीको कारोबार गर्दै आएको छ । हामीले एग्रो सिड, ग्रीन हाउस, थोपा सिँचाइदेखि मल तथा कृषि यान्त्रिकीकीकरणको समेत काम गर्दै आएका छौँ ।

यसको बजार चाहिँ कस्तो छ ? 

अहिले बजार निकै प्रतिस्पर्धी रहेकोले मिहिनेत गर्नुपर्ने अवस्था छ । कृषिमा नयाँ नयाँ प्रविधि र यान्त्रिकीकरणलगायतको प्रयोगप्रति अझै पनि आकर्षण देखिएको छैन । प्रयोग गर्नेले पनि चेतना अभावमा सही प्रयोग गरेको पाइँदैन । यसबारेमा गाउँगाउँसम्म चेतना आवश्यक छ । सम्बन्धित निकायले कृषिको नयाँ प्रविधि र यान्त्रिकीकरणका बारेमा किसानलाई तालिम दिएमा यसको माग बढ्नेछ । 

 के कस्ता कृषि वस्तुको बजारीकरणमा समस्या छ ?

ग्रीनहाउस, मल र यान्त्रिकीकरणको तुलनामा बिउको बजारीकरण अलि चुनौतीपूर्ण छ । सही बिउको पहिचान र सही प्रयोग हुन सकेन भने किसानले ठूलो नोक्सानी व्यहोर्नुपर्ने हुन सक्छ । खासगरी हाइब्रीड बिउमा यस्तो समस्या छ । मल अभाव, सिँचाइ अभाव र रोगका कारण उत्पादन भएन भने पनि बिउलाई नै दोष जाने गरेको छ । आयातीत बिउ भएकोले किसानले गुनासो राख्ने ठाउँ पनि हुँदैन । किसानले हामी जस्ता बिक्रेतासँगै गुनासो गर्ने हो ।

 नाफ सिड्सले बिक्री गर्ने बिउमा पनि कुनै समस्या छ ?

विगतमा केही समस्या आउने गरेको थियो तर अहिले छैन । बिउको प्रयोग गर्न नजानेर पनि समस्या आएको होला । अहिले हामीले १४ सयभन्दा किसानलाई तालिम दिएका छौं, तालिम लिएका किसान समस्या लिएर आएका छैनन् । हामीले पछिल्लो समय स्थानीय बिउमात्रै कारोबार गर्दै आएका छौँ । सबैभन्दा बढी कृषि प्रविधितर्फ यान्त्रिकीकरणमा जोड दिएका छौँ । पछिल्लो समय अमेरिकी स्टोरेज व्याग पनि ल्याएका छौँ । उत्पादित वस्तुको सुरक्षित भण्डारणका लागि यो स्टोरेज व्याग निकै उपयोगी देखिएको छ । किरा र मुसा प्रतिरोधी यो व्यागको प्रयोग बढ्दै गएको छ । 

 अहिले कति किसानलाई सेवा दिनुभएको छ ?

देशैभरिका किसानलाई सेवा दिँदै आएका छौँ । कसरी लागत घटाउन र उत्पादन बढाउन सकिन्छ भनेर किसानलाई जानकारी दिने गरेका छौं । यान्त्रिकीकरण, मल, बिउ र विषादीको प्रयोगबारेमा जानकारी दिने गरेका छौँ ।

पहाडी क्षेत्रमा यान्त्रिकीकरण कस्तो छ ?

यान्त्रिकीकरण सुरु भएकै पहाडी क्षेत्रबाट हो । तराईमा ठूलो यन्त्रमात्रै प्रयोग हुँदै आएको थियो । धेरैजसो भाडामा दिने चलन थियो तर पहाडी क्षेत्रमा यान्त्रिकीकरण बढ्न थालेपछि तराईमा पनि साना तथा मझौला खालका यन्त्रको प्रयोग बढ्न थालेको छ । अहिले बाह्रै महिना यन्त्र प्रयोग हुन थालेको छ । यान्त्रिकीकरण भन्नाले कृषि मेसिनरीलाई मात्रै बुझ्नुहुँदैन । थोपा सिँचाइ, ग्रीन हाउस, मल्चिङलगायत सबै यान्त्रिकीकरण हो । 

 सामग्री चाहिँ कहाँबाट ल्याउनुहुन्छ ?

अधिकांश सामान बाहिरैबाट आयात हुने गरेको छ । अमेरिका, बेलायत, कोरिया, चीन, भारतलगायतबाट आयात हुन्छ । केही ग्रीन हाउस र भण्डारण व्याग यही बनाउँछौँ, केही आयात गर्छौं । साना किसानदेखि ठूला व्यावसायिक किसानका लागि समेत ग्रीन हाउस र भण्डारण व्याग बनाउँछौ । अमेरिकी भण्डारण व्यागको हामीले लाइसेन्स नै लिएका छौँ । अमेरिकी भण्डारण व्याग यहीँ बनाएर हामीले दक्षिण एसियाभरि निर्यात गर्दै आएका छौँ । हामीसँग विना इन्धन पानी तान्ने पम्प छ । खोलामा राखेर सोझै पानी तान्ने पम्प नेदरल्याण्डको हो । अर्को पापा पम्प हो, जुन २ इन्चको पानीले प्रेसर दिँदा १५० मिटर टाढासम्म पानी फाल्न सक्छ । यो प्रविधि आजको होइन, २ सय वर्षअघिदेखि प्रचलनमा आएको हो । तत्कालीन समयमा तीन–चार टनको पम्प हुन्थ्यो भने अहिले विकसित हुँदै ३ केजी र ७ केजीको मात्रै हुन्छ ।

बिउ चाँहि कहाँबाट के के ल्याउनुहुन्छ ?

ताइवानको सरकारी कम्पनीबाट आयात गर्ने कुरा भइरहेको छ । हाइब्रीड बिउ यही उत्पादन गर्नेतर्फ सोचेका छौँ । आयातीत बिउबाटै हामीले व्यवसाय सुरु गरेका थियौँ । तत्कालीन सयममा जापान, भियतनाम, थाइल्याण्ड र भारतबाट ल्याउने गरेका थियौँ तर बिउ कम्पनीहरूले ग्यारेन्टी दिन नमान्ने । नेपाल सरकारले पनि हामीलाई ग्यारेन्टी नदिने भएपछि किसान मर्कामा पर्ने, हामी कारवाहीमा पर्ने । सोही कारणले आयातीत बिउभन्दा स्वदेशी बिउलाई नै प्राथमिकता दिन थालेका छौँ । केही बिउ बंगलादेशमा निर्यात गर्न सफल भएका छौँ । 

हाल स्थानीय र आयातीतमध्ये कुन बिउको बढी छ ?

पछिल्लो समय स्थानीय बिउकै प्रयोग बढ्दै गएको छ । नेपालमै पर्याप्त बिउ उत्पादन हुन थालेपछि स्थानीय बिउको प्रयोग बढेको हो । स्वदेशीभन्दा आयातीत सस्तो छ । स्वदेशी बिउको लागत बढी छ । उत्पादन लागत घटाएर बढीभन्दा बढी गुणस्तरीय उत्पादन गर्न सकेमा निर्यातसमेत गर्न सकिने सम्भावना छ ।


गौतम महर्जन

प्रबन्ध निर्देशक, नाफ सिड्स प्रालि

Views: 117