19th September | 2019 | Thursday | 1:57:31 PM

खाद्यान्नमा परनिर्भर मुलुकको राष्ट्रियता कमजोर हुन्छ

  POSTED ON : असार १५, २०७६ (३:४६ PM)

खाद्यान्नमा परनिर्भर मुलुकको राष्ट्रियता कमजोर हुन्छ

खाद्यान्न उत्पादन राष्ट्रिय स्वाभिमानसँग जोडिएको हुन्छ । खाद्य सम्प्रभुता र खाद्य सुरक्षाविना मुलुको समृद्धि सम्भव छैन । खाद्य सम्प्रभुता र खाद्य सुरक्षाको पहिलो शर्त सिँचाइ र बिउ हो । नेपालको सिँचाइ आयोजना कछुवा गतिमा  छन् । बिउमा पनि परनिर्भरता छ । बढी उत्पादनको लोभमा आयातीत हाइब्रीड बिउ प्रयोगले रैथाने जातहरू हराउँदै गएका छन् । रैथाने जात समयमै सरक्षरण र प्रवद्र्धन नगर्ने हो भने भविष्यमा नेपालको कृषि क्षेत्र संकटमा पर्नेछ । नेपाल कम्युनिष्ट पाटी (नेकपा) का नेता तथा पूर्वमन्त्री गणेश शाह यसै भन्छन् । शाहसँग लेखनाथ पोखरेलले धान दिवसका अवसरमा कुराकानी गरेका छन् ।  

मुलुकमा खाद्यान्नमा आत्मनिर्भरको कुरा हुन्छ तर परिणाम देखिँदैन नि ?

नेपालले खाद्य सम्प्रभुताका लागि जुन नीति लिएको छ, त्यो पुनरावलोकन गर्नुपर्छ । कुरा हुन्छ, योजना हुन्छ तर लक्ष्यअनुसारको उपलव्धि हासिल हुँदैन । यहाँ दुर्भाग्य के छ भने हाम्रा मन्त्रीहरूमा तथ्यांक नै नहेरी, पूर्वतयारीविना नै योजना, कार्यक्रम बनाउने प्रवृत्ति छ । खाद्यान्न, खाद्य सम्प्रभुता, खाद्य सुरक्षा जे भने पनि भूमिसँग जोडिएको छ । हाम्रो कृषिभूमि दिनप्रति दिन घट्दो क्रममा छ । कृषिमा काम गर्ने जनशक्तिले कृषि पेशा छोड्ने क्रम बढेको छ । उनीहरूले कृषिमा आफ्नो भविष्य वा उत्पादनशीलता देख्न छाडेका छन् । 

पहिलो, कृषि उपजको न्यूनतम मूल्य सरकारले निर्धारण गरिदिनुपर्छ । दोस्रो, जलवायु परिवर्तन या बाढीपहिरो वा जुनसुकै कारणले कृषि उपजमा हुने क्षतिमा विमाको व्यवस्था हुनुपर्छ । तेस्रो, किसानलाई सहज र सरलरूपमा ऋण र अनुदानको पहुँच हुनुपर्छ । चौथो, कृषिलाई सम्मानित पेशाका रूपमा हेर्नुपर्छ । पाँचौँ, कृषिका विचौलियालाई नियन्त्रण गर्नुपर्छ । जबसम्म यति काम हुँदैन तबसम्म हामीले खाद्यान्न बाहिरबाटै ल्याउनु पर्छ । 

जुन देशले कृषिमा लगानी गर्दैन, खाद्यान्न उत्पादन गर्दैन, त्यो देशको सार्वभौमिकता र स्वाभिमान पनि कमजोर हुँदै जान्छ । खाद्यान्नमा परनिर्भरता सबैभन्दा डरलाग्दो र लाजमर्दो अवस्था हो । हामीसँग रेल नहोला तर खाद्यान्न उत्पादन गर्न सकिन्छ । अहिले हरेक मुलुकले खाद्यान्नमान आत्मनिर्भरता र खाद्य सम्प्रुभताका लागि प्रयास जारी राखेका छन् । 

दिनप्रति दिन कृषिभूमि खण्डीकरण भइरहेको छ, क्षयीकरण भइरहेको छ र बाँझै छोड्ने प्रवृत्ति बढ्दै गएको छ । जनताले नै सरकारको घोषणा पत्याउँदैनन्, कार्यान्वयनका लागि नभई देखाउन मात्रै गरेको भन्ने बुझेका छन् । सरकारले कृषिमा यान्त्रिकीकरण, व्यवसायिकीकरणमा जोड दिएको छ तर कृषिको पहिलो शर्त सिँचाइ हो । सिँचाइविना कसरी यान्त्रिकीकरण हुनसक्छ र ¤ 

सरकारले सिँचाइलाई खासै प्राथामिकता दिएको देखिएन नि ?

हामीले लामो समयसम्म मलखाद र बिउको ग¥यौँ तर कृषि उत्पादनका लागि पानी, कृषकका लागि पानीको उपलव्धता र पानीको अधिकतम प्रयोगमा ध्यान दिएनौँ । थोपा सिँचाइमा कुन बेला, कति पानी, के गर्ने भन्ने हुन्छ । पानीको उचित उपयोग गर्ने प्रविधि र ज्ञानको पनि हामीमा अभाव छ । कृषिमा बढीभन्दा बढी ऊर्जा खपत हुनुपर्ने हो । कृषि उत्पादन भनेको भूमि, पानी र ऊर्जाको सम्मिश्रण हो । अहिले माटोविना पानीमै उत्पादन गर्ने हाइड्रोपोनिक प्रविधि पनि विकास भएको छ, जसलाई विद्युत आवश्यक पर्छ । अहिले नेपालको कृषि उत्पादनमा ऊर्जा खपत एक प्रतिशतमात्रै छ । अन्य मुलुकमा यसको मात्र ३ देखि ५ प्रतिशतसम्म छ । यान्त्रिकीकरणका लागि पनि ऊर्जा चाहियो, प्रशोधन र उत्पादन भण्डारमा पनि ऊर्जा चाहियो । कृषिको लागि पानी, ऊर्जा र प्रविधि यी तीनवटै कुरामा सरकारले ध्यान दिएको देखिँदैन । 

अर्को कुरा, जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा ३ प्रतिशतले ह्रास आएको छ । भारतबाट आउने वायु प्रदूषणको असर नेपालको कृषि क्षेत्रमा परेको छ । हामीले जलवायु अनुकूलन र उपयुक्त प्रविधिका लागि काम गर्न सकेका छैनौँ । संसारभर कृषिमा सूचना प्रविधिको प्रयोगले व्यापकता पाएको छ । नेपालमा पनि यसको प्रयोग व्यापक बनाउनु पर्छ । अहिलेसम्म हामी आकासे खेतीमा निर्भर छौँ । किसानलाई मौसमको पूर्वजानकारी दिनुपर्छ । उत्पादनका लागि सूचना प्रविधि चाहियो, उत्पादनको संरक्षणका लागि चाहियो र उत्पादन बजारमा लैजान पनि चाहियो । विगतमा अशिक्षितले खेती किसानी गर्ने भनिन्थ्यो, अब शिक्षित व्यक्ति कृषिमा आउनुपर्छ । सरकारले लगानी बढाउनुपर्छ ।

शिक्षित व्यक्तिलाई पनि कृषि लागि त सिँचाइ चाहियो नि ?

सिँचाइ त चाहियोे । हामी ठूला सिँचाइको मात्रै कुरा गर्छौं । वर्षाको पानी संकलन गरेर पनि सिँचाइ गर्न सकिन्छ । हाम्रा बुबाहरूले बाढी आउँदा सबैभन्दा पहिले पोखरी भर्नुहुन्थ्यो । अहिले हामी पोखरी पुरेर क्लब बनाउँछौ, खेलमैदान बनाउँछौ, कमलपोखरीमा पुलिस बसेको छ । पहिलो कुरा वर्षात्को पानी संकलन गर्ने प्रविधि प्रवद्र्धन गर्नुपर्छ । रिभर बेसिन म्यानेजमेन्ट अर्थात ठूला सिँचाइ आयोजना खासै उपलव्धिमूलक देखिएका छैनन् । नहरनजिक सडक बन्छ, सडक नजिक बस्ती बस्छ अनि खेत घडरीमा परिणत हुन्छ । 

भूउपयोग नीति बनाएर खेतीयोग्य भूमिमा बस्ती विस्तारमा रोक लगाउनुप¥यो, अन्यथा ठूला सिँचाइ आयोजनामा लगानी खेर जान्छ । सिँचाइ आयोजनामा किसानको सहभागिता हुनुपर्ने, हाम्रोमा ठेक्का प्रथा छ । किसानकै सहभागिता छैन । हाम्रो सिँचाइ आयोजनाको व्यवस्थापकीय क्षमता नै भएन । कृषि विकासका लागि भूमि र पानीको व्यवस्थापन, ऊर्जाको र सूचना प्रविधिमा जोड दिनुपर्छ ।

अहिले कृषि स्थानीय सरकारमा गएको छ । स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्नुप¥यो । वैज्ञानिक र प्राविधिकको व्यवस्था गर्नुप¥यो । कृषिमा लगानी बढाउनुप¥यो । हामी वैदेशिक लगानीको कुरा गर्छौं तर बैंकहरू कृषिमा लगानी गर्न चाहँदैनन् । बैंक तथा वित्तीय संस्थाहरू जरिवाना तिर्न तयार हुन्छन् तर कृषिमा लगानी गर्न चाहँदैनन् । कृषिक्षेत्रको विकासका लागि विद्यालयस्तरदेखि नै कृषि जनशक्ति उत्पादनमा जोड दिनुप¥यो । अहिलेको हाम्रो शिक्षा कृषक बनाउने होइन, सर्भेन्ट बनाउने भयो ।

हाम्रा सिँचाइ आयोजना वर्षौंसम्म सम्पन्न नहुँनुको कारण के होला ?

हाम्रा योजनाको डिजाइन र प्लानिङ नै त्रुटीपूर्ण छ । म जनकपुरको मान्छे, हामी स्कुल कलेज पढ्दा कमला सिँचाइ आयोजनाको कुरा सुनेको थिएँ । म इन्जिनियर भएर आएपछि कन्काइ सिँचाइ आयोजनाको कुरा सुनेँ । पछि बागमती सिँचाइ आयोजना, भैलुभुजको भूमिगत सिँचाइ आयोजना, महाकाली सिँचाइ आयोजना, चितवनको लिफ्ट सिँचाइ, ट्टार लिफ्ट सिँचाइ– यी सबैको असफलताको मूल कारण अनुपयुक्त डिजाइन र प्लानिङ नै हो । 

अधिकांश सिँचाइ आयोजनाको लगानी नै प्रत्युत्पादक भयो । हामीले जलस्रोतको धनी भन्यौँ तर जलस्रोत व्यवस्थापनमा असफल भयौँ । नेतृत्वमा क्षमतावान व्यक्ति छनौट भएनन् ।  दण्ड र पुस्कारको व्यवस्था छैन । बरु जिम्मेवारी पूरा नगर्ने कर्मचारी पुरस्कृत हुन्छ । 

सफलताका लागि के गर्ने त ?

पानी विज्ञान, पानीको प्रविधि, पानीमा नवप्रवद्र्धन गर्नुपर्छ । पानीको समग्र व्यवस्थापनका लागि सरकारले जल तथा ऊर्जा आयोगलाई थिंक ट्याङ्कका रूपमा स्थापना गरेको थियो तर त्यो आयोग अहिले मान्छे थन्क्याउने ठाउँ भएको छ । सम्पूर्ण सरचना परिवर्तन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ ।


सरकारले हरेक वर्ष मनाउने धान दिवस मनाउने गरेको छ, कस्तो देख्नु हुन्छ ? 

धान दिवस मनाउनुपर्छ, धान दिवसलाई सरकारले निरन्तरता दिँदै आएको छ, यसलाई सकारात्मकरूपमा लिनुपर्छ तर यतिले मात्रै पुग्दैन । हरेक वर्ष धान दिवसमा नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउँछौँ, खाद्यान्न आयात गर्दैनौँ भन्ने प्रतिबद्धता गर्नुपर्छ र हालसम्मका कमी कमजोरीको पुनरावलोकन गर्दै सुधारतर्फ केन्द्रित हुनुपर्छ । ग्ल्यामरका रूपमा मात्र दिवस मनाउनुको अर्थ छैन ।   


गणेश शाह

नेता, नेकपा तथा पूर्वमन्त्री


Views: 346