25th August | 2019 | Sunday | 5:49:53 PM

व्यङ्ग्यको परिधि साँघुरो लागेर बसाइँ सरेको होइन

मुरारी ढुंगेल   POSTED ON : श्रावण ११, २०७६ (१०:५६ AM)

व्यङ्ग्यको परिधि साँघुरो लागेर बसाइँ सरेको होइन

व्यङ्ग्य लेखकका रूपमा परिचित महेश थापाको पछिल्लो कृति कथासङ्ग्रह ‘मरीचिका’ यस वर्षको मदन पुरस्कारको निम्ति छनौट भएका उत्कृष्ट सात पुस्तकको सूचीभित्र परेको छ । विगत १६ वर्षदेखि ‘मोटर न्युरोन डिजिज’ नामक गम्भीर रोगबाट पीडित उनी न प्रष्टसँग बोल्न सक्छन् न त हिँड्डुल गर्न । पूर्ण अशक्त÷अपाङ्गताको स्थितिमा रहेका उनी अरूको सहारामा निर्भर छन् । आंशिक रूपमा चल्ने दाहिने हातका माझी र साँइली औँलाले माउस क्लिक गर्दै कम्प्युटरको अनस्क्रिन किबोर्डको सहायतामा लेख्ने महेशका आत्मकथा ‘अल्पविराम’ (२०७०) र हास्यव्यङ्ग्य संग्रह ‘नमोनमः’ (२०७४) समेत गरी हालसम्म तीन कृति प्रकाशित छन् ।

हरिवन–९, सर्लाहीमा जन्मेका ४१ वर्षीय महेश हाल सपरिवार सानोठिमी भक्तपुरमा बसोबास गर्छन् । उनी पत्रकारिता पृष्ठभूमिबाट साहित्यिक लेखनमा आएका हुन् । बुद्धिचालका अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । उनै महेश थापासँग उनको लेखन तथा स्वास्थ्यस्थितिमा केन्द्रित भई हिमालय टाइम्सका मुरारी ढुंगेलले कुराकानी गरेका छन् । 

व्यङ्ग्यकारका रूपमा स्थापित तपाईंको पहिलो कथासङ्ग्रह नै यस वर्षको मदन पुरस्कारका निम्ति छनौट गरिएका उत्कृष्ट ७ वटा पुस्तकभित्र पर्न सफल भयो । कस्तो लागेको छ ?

मेरा व्यङ्ग्यहरूलाई पाठकले रुचाइदिनुभएको थियो । प्रबुद्ध पाठकहरूबाट सधैँ सकारात्मक प्रतिक्रिया र हौसला मिल्यो । कथामा चाहिँ म नयाँ थिएँ । ‘मरीचिका’ का रूपमा एकैपल्ट कथासङ्ग्रह नै बजारमा आएपछि कतिपय परिचितहरूले विस्मित् हुँदै भन्नुभयो कथा पनि लेख्नुहुन्थ्यो र तपाईं ! कतै प्रकाशित नभएकाले मेरा कथाहरूप्रति पाठकहरूको प्रतिक्रिया कस्तो होला भन्ने आशङ्का, कुतूहल र द्विविधा मभित्र थियो । प्रकाशित भएको चार महिना नपुग्दै दोस्रो संस्करण आयो र कृति मदन पुरस्कारको मनोनयनमा प¥यो । व्यङ्ग्य र निबन्धहरू झैँ मेरा कथालाई पनि पाठकले स्वीकार्नुभएको रूपमा मैले यसलाई लिएको छु । फरक विधाका मेरा रचनाहरूलाई पाठकले उत्तिकै रुचाइदिनु मेरो निम्ति सन्तुष्टिको विषय हो ।

जहाँसम्म मदन पुरस्कारमा ‘सर्टलिस्टेड’ भएको कुरा छ, नेपाली लेखन जगत्मा सर्वाधिक महŒव दिइने पुरस्कार भएकाले अपवादबाहेक हरेक लेखकमा यो पाउने चाहना हुन्छ नै । फेरि, ‘मेरो कृति मदन पुरस्कारको निम्ति योग्य छ’ भनेर मैले नै गुठीमा दर्ता गराएकोले ‘मरीचिका’ उत्कृष्ट सातको सूचीभित्र पर्दा मलाई प्रसन्नता मिल्नु स्वाभाविक हो ।

तपाईं व्यङ्ग्य लेखनमा जमिरहेको मान्छे, चटक्क छाडेर हराउनुभयो र एकाएक कथासङ्ग्रह बोकेर आउनुभयो । के व्यङ्ग्य लेखनबाट बिरक्तिनुभएको हो ?

बिरक्तिएको भन्ने सत्य होइन । आफूले लेख्दै आएको विधाबाट कुनै पनि स्रष्टा बिरक्तिन सक्छ जस्तो लाग्दैन । किनकि, कला एवं साहित्यको क्षेत्रमा नवीनता र सुधारको सम्भावना अनन्त रहन्छ । आफ्नो कौशललाई माझ्दै परिष्कृत गर्ने कुरा हो । मेरो हातमा समस्या आएर लेख्न गाह्रो भएको बेला मैले लेख्दै आएको व्यङ्ग्य स्तम्भ एकाएक स्थगन गर्नुपर्ने अवस्था आयो । हातको समस्या सामान्य भएपछि मैले त्यसलाई अलिक फरक ढङ्गले सुरु गर्ने सोच बनाएको थिएँ । थाल्ने भन्दा भन्दै यत्तिकै भयो । र फेरि, लेख्नुपर्ने थुप्रै विषयहरू दिमागमा मडारिइरहेका थिए । म तिनैमा भुलिएँ ।

के व्यङ्ग्यको परिधि साँघुरो हुन्छ ? कथामार्फत् उठाउन खोजेको विषय व्यङ्ग्यको माध्यमबाट उठाउन सकिँदैन जस्तो लागेर पो यता आउनुभएको हो कि ?

कुनै पनि साहित्यिक विधाको परिधि साँघुरो वा फराकिलो हुँदैन । विधा साँघुरो वा फराकिलो भन्ने कुराचाहिँ स्रष्टाको सीप र क्षमतामा निर्भर गर्छ । कुनै एउटा विधाभित्रबाट जुनसुकै विषय र भावलाई उत्तिकै प्रभावशाली रूपमा सम्प्रेषण गर्न सकिन्छ । जसरी एउटा व्यक्तिको क्षमताको सीमा हुन्छ, ठीक त्यसै गरी कुनै एउटा लेखकको अभिव्यक्ति क्षमता वा कौशलको पनि निश्चित सीमा हुन्छ । 

कुनै लेखकले एउटा विधाको अधिकतम दोहन गर्ने ल्याकत नराख्ने हुँदा आफूलाई अभिव्यक्त गर्न ऊ फरक विधाहरूमा बाँडिन्छ । कुनै एउटा लेखकको हकमा कहिले काहीँ विषय स्वयंले विधाको माग गरिदिन्छ । मेरो मस्तिष्कमा पनि लामो समयदेखि केही विषय उम्लिरहेका थिए । म तिनलाई अभिव्यक्त गर्न चाहन्थेँ । आफूले लेख्दै आएको व्यङ्ग्य वा निबन्धबाट भन्दा कथामार्फत् तिनलाई राम्रोसँग अभिव्यक्त गर्न सकिएला जस्तो लागेर मैले कथा लेखेँ । अहिले एउटा व्यङ्ग्य उपन्यासमा काम गरिरहेको छु र थाँती रहेका केही कथा पूरा गर्ने कोशिसमा छु । तसर्थ, व्यङ्ग्यको परिधि साँघुरो लागेर बसाइँ सरेको होइन ।

अचेल नेपालमा कथा उतिसारो पढिँदैन÷बिक्दैन भन्छन् । बिक्रीमा लोभिएर कविहरू समेत उपन्यास लेखनतिर आकर्षित भएका देखिन्छन् । विधा परिवर्तन गरेर नयाँमा जाँदा पनि उपन्यास छाडेर तपाईंले कथा नै रोज्नुभयो । अहिले हेर्दा तपाईंको त्यो निर्णय सही सावित भयो । के कारणले तपाईंलाई कथा नै राम्रोसँग लेख्न सक्छु भन्ने लाग्यो ?

साहित्यको कुनै विधा बिकाउ हुन्छ जस्तो मलाई लाग्दैन । राम्रो लेख्नसक्दा जुनसुकै विधाका पुस्तक बिक्री हुन्छन् । नेपालमा वर्षेनी कति उपन्यास लेखिन्छन् ? तीमध्ये कतिको नाम हामीलाई याद हुन्छ ? मुश्किलले पाँचवटा । प्रकाशित भएको चार महिना नपुग्दै मरीचिकाको दोस्रो संस्करण बजारमा आयो । तर, नेपालमा एउटा हल्ला जोडदार ढङ्गले चलाइएको छ– ‘कथा बिक्दैन !’ मैले कथा सङ्ग्रह लेख्दै गरेको बताएपछि एकजना प्रकाशक मित्रले मलाई कथाको सट्टा उपन्यास लेख्ने सदाशयतायुक्त सुझाव दिनुभएको थियो । 

योजनाबद्ध ढङ्गले लेखनमा नआएको हुँदा साहित्य लेखौंला भनेर मैले कल्पेको थिइनँ । जब लेखनमा आएँ, जहिले पनि लागिरहृयो कि म कथा नै राम्रोसँग भन्न सक्छु । त्यसको कारण चाहिँ मेरो बाल्यकालसँग जोडिएको छ । म आफ्नो समाजको थोरै भाग्यमानी केटाकेटीमा पर्थें, जसले फिल्म हेरिरहने मौका पाउँथ्यो । मामाघर गएको बखत म गोठालो जाने गर्थें । अनि गोठाला साथीहरूलाई जङ्गलमा बसेर दिनभरि फिल्मका कथा सुनाउथेँ । एकेक वर्णन गर्दै तीन घन्टे फिल्मको कथा चारपाँच घन्टासम्म सुनाइदिन सक्थेँ । उनीहरू चाख मान्दै सुन्थे । मैले सुनाएको कथाबाट प्रभावित भएर एक दिन एउटा साथी जसोतसो पैसा जोरजाम गरी फिल्म हेर्न गएछ । फर्केर आएपछि उसले खिन्न हुँदै भन्यो, ‘तैंले सुनाउँदाको जति फिल्म हेर्दा मजा आएन !’ त्यसैले मलाई लाग्दथ्यो कि म कथा भन्न सक्छु ।

यसपालि मदन पुरस्कारको लागि छनौट भएका उत्कृष्ट सात पुस्तक मध्ये तीनवटा कथासङ्ग्रह परेका छन् । नेपालमा कथा पठन तथा लेखन बढ्न थालेको सङ्केत मान्न सकिन्छ यसलाई ? नेपाली कथाको गुणस्तर बढेर पो यस्तो हुन गएको हो कि ¤ वा, यो केवल एउटा संयोग मात्र हो ?

मदन पुरस्कारको निम्ति छनौट भएका उत्कृष्ट सात कृतिमध्ये कथासङ्ग्रह नै तीन वटा पर्नु कथा लेखक एवं पाठकका लागि खुसीको कुरा हो । तर, एउटा पुरस्कारको निम्ति कथाका केही थान कृति छनौट भए वा नभएकै आधारमा नेपाली कथाको दशा र दिशाबारे अवधारणा बनाउनु तर्कसङ्गत हुँदैन । यति मात्र भन्न सकिन्छ कि यो नेपाली कथाको हकमा सकारात्मक हो ।

कस्ता प्रकृतिका कथा लेख्न सकियो भने नेपाली कथाको पाठक बढ्न सक्ला जस्तो लाग्छ ?

यो साह्रै जटिल कुरा भयो । कला र साहित्य भनेको फर्मामा ढालेर निश्चित आकृतिको सामान उत्पादन गरेजस्तो हुन्न । कुनै रचना राम्रो हो वा होइन भन्ने कुरा पाठकमाझ गएपछि मात्र परीक्षित हुन्छ । कालान्तरमा विश्वप्रसिद्ध हुन पुगेका कृतिहरूका पाण्डुलिपिलाई व्यावसायिक र उत्कृष्ट कहलिएका प्रकाशन गृहहरूले रद्दीको टोकरीमा मिल्काइदिएका अनेकन् दृष्टान्त छन् । सृजना चिन्न नसकेर त्यस्तो हुन गएको हो । हरेक पाठकको आफ्नै खालको बुझाइ, भोगाइ र दृष्टि हुन्छ । ठ्याक्कै उसलाई के मन पर्छ भन्ने अनुमान कठिन छ । पाठकको मन छुने, मस्तिष्कलाई झङ्कृत पार्न सक्ने शिल्प, शैलीको प्रयोग अनि विषय एवं प्रस्तुतिमा केही न केही नवीनता भएको सृजनाले नै पाठक पाउने हो ।

तपाईं बुद्धिचालको अन्तर्राष्ट्रिय खेलाडी पनि, राष्ट्रियस्तरका प्रतियोगिताहरूमा राम्रै सफलता आर्जन गर्नुभयो अनि एउटा कथाकार, व्यङ्ग्यकार र लेखकका रूपमा पनि सफलता पाउनुभएको छ । यसरी हेर्दा तपाईंमा बहुमुखी प्रतिभा देखिन्छ तर कुनै एउटा मात्र क्षेत्रमा केन्द्रित हुन सकेको भए अझ सफल हुन्थेँ होला जस्तो लाग्दैन ?

सफलता केलाई मान्ने भन्ने प्रश्न आउँछ । यो भयानक रोगसँग जुध्दै गरेको सुरुवाती चरणमा चेस मेरालागि बाँच्ने आधार बन्यो । त्यस कोणबाट हेर्दा चेस मेरो जीवनको सफलतम् पाटोमध्ये एक हो । अहिले पनि चेस मेरालागि सहयोगी नै छ । लेखन÷पठनबाट थाकेको बेला, दिक्क लाग्दा, केही नसुझेको बेला अनलाइनमा चेस खेल्ने गर्छु । चेसमा एकोहोरिएपछि सबै कुरा बिर्सेर मलाई ताजगी मिल्छ । अनायास दुष्कर बन्न पुगेको परिस्थितिसँग तालमेल गर्दै जे जे गर्न सक्थेँ, मैले त्यही गर्दै गएँ । यसो गर्न पाएको भए हुन्थ्यो कि भनेर हिसाब गर्न थालेँ भने मेरो वासलात ऋणात्मक नै देखिन्छ । त्यसैले भरसक म फर्केर हेर्दिनँ ।

तपाईंको रोगको विषयमा आफ्ना पाठकलाई केही बताइदिनुस् न । स्वास्थ्य अवस्था कस्तो छ अहिले ।

‘मोटर न्युरोन डिजिज’ भनिन्छ यसलाई । मस्तिष्कको मोटर भन्ने भागको सेल तथा नसाहरूमा क्षति पुगेपछि दिमागले कुनै काम गर्न दिएको आदेश नसासम्म प्रवाहित हुन अवरोध पुगी मांसपेशी कमजोर हुन थाल्छ । जसले गर्दा हिँड्ने, बोल्ने, समाउने, खाने, सास फेर्ने आदि कुरामा समस्या पैदा हुनुका साथै शारीरिक नियन्त्रण कमजोर हुँदै गई शरीर पक्षघातग्रस्त बन्छ । यो रोगको पहिलो लक्षण देखापरेको तीनदेखि पाँच वर्षभित्र अधिकांश बिरामीको मृत्यु भइसक्छ । डाक्टरहरूले मलाई पनि तीनचार वर्षभन्दा बढी बाँच्दैन नै भनेका थिए । सोह्र वर्षदेखि यसलाई झेलिरहेको छु । यो रोगसँग सम्बन्धित बाहेक स्वास्थ्य ठीकै छ । लेख्न÷पढ्न सकिरहेकै छु ।

आफ्नो उपचारको लागि प्रधानमन्त्रीसँग भेटेर सहयोग मागेको केही अघि सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो । के भइरहेको छ अहिले ?

सोह्र वर्षअघि मलाई यो रोग लाग्दा यसको कुनै उपचार थिएन । अहिले इजरायलको एउटा कम्पनीले विकसित गरेको उपचार यो रोगमा निकै प्रभावकारी देखिएको छ । एफडीएबाट अनुमति लिने क्रममा रहेकोले सोझै त्यो उपचार पाउन सकिने अवस्था छैन । फेरि, मेरो क्षमताले भ्याउने भन्दा धेरै नै महँगो पनि छ । प्रधानमन्त्रीज्यूसँग भेटेर त्यही विषयमा मैले कुरा राखेको थिएँ । उहाँले सक्दो सहयोग गर्ने वचन दिनुभएको छ । कुराकानी भइरहेको होला तर नतिजा आइसकेको छैन ।


Views: 1371