5th June | 2020 | Friday | 6:33:11 AM

नगरवासी शिक्षा स्वास्थ्यभन्दा सडक र पानी खोज्छन् - नगर प्रमुख श्रेष्ठ

  POSTED ON : फाल्गुन २५, २०७६ (३:१९ PM)

नगरवासी शिक्षा स्वास्थ्यभन्दा सडक र पानी खोज्छन् - नगर प्रमुख श्रेष्ठ

विगत लामो समयदेखि जनप्रतिनिविहीन रहेको स्थानीय तह जनप्रतिनिधिको निर्वाचनसँग चलायनमान भएको छ । तथापि वर्षौदेखि थाती रहेका जनताका समस्या भने स्थानीय तहले समाधान गर्न सकेका छैनन् । आवश्यकता धेरै, स्रोतसाधनको कमीका कारण जनअपेक्षाअनुसार काम गर्नसक्ने अवस्था नरहेको जनप्रतिनिधि बताउँछन् । निर्वाचनअघि जनतासँग गरिएका वाचा क्रमिकरूपमा पूरा गर्दै जाने योजनाअनुसार स्थानीय तह अगाडि बढिरहेको जनप्रतिनिधिहरूको भनाइ छ । 

ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले पनि नगरवासीको आवश्यकता धेरै भएका कारण व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको गुनासो गरेका छन् । त्यस्तै विकास निर्माणमा अन्य सरकारी निकायबीच समन्वय हुन नसक्दा नगरपालिकाको सक्रियतामा धक्का लाग्ने गरेको उनको बुझाइ छ । प्रस्तुत छ, यिनै विविध विषयमा नगर प्रमुख श्रेष्ठसँग हिमालय टाइम्सका लेखनाथ पोखरेलले गरेको कुराकानी :

महालक्ष्मी नगरपालिकाका हालसम्मका उपलब्धि के के छन् ?

निर्वाचनअघि जनतासामु जुन प्रतिबद्धता जनाएका थियौं । सोही प्रतिबद्धता पूरा गर्ने क्रमलाई नै मध्यनजर गर्दै हामीले योजनाहरू तर्जुमा ग¥यौं । सोही योजनाअनुसार हामीले नगरपालिकामा पहिलो काम सार्वजनिक यातायाताको पहुँच विस्तार गरेका छौं । महालक्ष्मी नगरपालिकाको सबै क्षेत्रमा सार्वजनिक यातायातको पहुँच पु¥याउने प्रतिबद्धता व्यक्त गरेका थियौं । प्रतिबद्धताअनुसारै साझा यातायातका साथै निजीस्तरबाट समेत सार्वजनिक यातायात सञ्चालन भएको छ । यसलाई अझै व्यवस्थित गर्नुपर्ने जरुरी देखिएको छ । 

हाम्रो नगरपालिकामा शिक्षा क्षेत्रको विकासमा सामुदायिक विद्यालयको स्तरोन्नति गर्छौं भनेका थियौं, सीपमूलक व्यावसायिक क्षेत्रको व्यवस्था गर्छौं भनेका थियौं, सोहीअनुसार हाल नगरपालिकाभित्रका पाँचवटा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ, चालु आवभित्रै थप दुईटा विद्यालयमा सञ्चालन हुनेछन् । त्यस्तै नगरपालिकाभित्र विज्ञान विषय सञ्चालन गर्छौं भनेका थियौं त्यो पनि स्वीकृति भइसकेको छ ।

विगतमा शिक्षक विद्यार्थीको अनुपातमा धेरै अन्तर थियो, विद्यार्थी संख्या कम, शिक्षक संख्या बढी थियो तर अहिले सामुदायिकमा गुणस्तरीय शिक्षाको व्यवस्था गरेपछि विद्यार्थी संख्या अत्यधिकरूपमा बढेर गएको छ, कतिपय विद्यालयमा ३ सय प्रतिशतसम्मले विद्यार्थीको संख्या बढेको छ । विद्यार्र्थी संख्या बढे पनि हामीलाई शिक्षकको कमी भएको छ । 

विगतमा शिक्षकले पनि नियमितरूपमा तलब पाउने अवस्था थिएन तर अहिले सबै सामुदायिक विद्यालयका शिक्षकले नियमितरूपमा तलब पाउने व्यवस्था गरिएकाले पढाइको गुणस्तरमा बढोत्तरी गएको छ । विद्यार्थीको गुणस्तर बढाउन एकतर्फीरूपमा शिक्षा दिएरमात्रै हुँदैन, प्राक्टिकल नलेज पनि हुनुपर्छ भनेर सोहीअनुसार उनीहरूलाई सीपसँग पनि जोड्ने काम भइरहेको छ । 

त्यस्तै स्वस्थ्य सेवालाई पनि प्रभावकारी बनाएका छौं । किष्ट मेडिकल कलेजसँगको सहकार्यमा नगरवासीले किष्टका सेवा सुविधामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरूलाई सुविधासम्पन्न बनाइएको छ । डाक्टर नहुने, औषधि नहुने समस्या छैन । स्वास्थ्य संस्थामा २४सै घण्टा वर्थिङ सेन्टरको व्यवस्था गरिएको छ । त्यस्तै निःशुल्करूपमा वितरण गरिने औषधिको कमी हुन दिइएको छैन । खोप केन्द्र विस्तार गरेका छौं ।


भौतिक पूर्वाधारतर्फ चाहिँ के भइरहेको छ ?

भौतिक पूर्वाधारतर्फ काम भइरहेका छन् । नयाँ सडक विस्तार गर्ने, भएका सडकको स्तरोन्नति गर्ने र क्रमशः कालोपत्रे गर्दै जाने भइरहेको छ भने खानेपानी तथा सरसफाइका लागि ढलको व्यवस्थापनको काम भइरहेको छ । हाम्रो नगरपालिकामा खानेपानीको समस्या थियो तर नगरपालिकाभित्रका सबै घरमा खानेपानी उपलव्ध गराउन विभिन्न ठाउँमा करिब १६ वटा डिप बोरिङ निर्माणको काम भइरहेको छ । करिब सातवटा डिप बोरिङ निर्माणसम्पन्न भई पानी वितरण भएको छ । 

स्वस्थकर पानी वितरणका लागि खानेपानी विकास मन्त्रालय र काठमाडौं उपत्याका खानेपानी लिमिटेडसँगको सहकार्यमा सबै डिप वोरिङमा वाटर ट्रिटमेन्ट प्लान्ट निर्माण प्रक्रियासमेत अघि बढेको छ । त्यस्तै आकाशेपानी संकलन र जमिनमुनिको पानी रिजार्जको आवश्यक व्यवस्था गरिएको छ । पानीको स्रोत दूषित हुनवाट बचाउन र मानव मलमूत्रको व्यवस्थापन गर्न फोहोरमैला व्यवस्थापन प्लान्ट निर्माण प्रक्रिया अघि बढेको छ भने नयाँ बन्ने घरका शौचालयमा वाटर सिल्ड गर्ने व्यवस्था गरिएको छ, जसबाट पानीलाई दूषित हुनबाट जोगाउन सकिन्छ ।


 सडकतर्फ पूर्वाधारको अवस्था कस्तो छ ?

हामी निर्वाचित भएर आएपछि नयाँ सडक पनि धेरै खनिएका छन्, पुराना सडकको स्तरोन्नति गरिएको छ, नयाँ मापदण्डअनुसारै सडक विस्तार र स्तरोन्नति गरिएको छ तर पनि घरघरमा खानेपानी र कालोपत्रे सडक नभएसम्म जनताले विकास भएको महसुस नगर्ने रहेछन् । अन्य शिक्षा, स्वास्थ्य, यातायातमा परिवर्तन देखिए पनि वास्ता नहुने रहेछ । 

निजी विद्यालयमा पढाउने, निजी अस्पतालमा उपचार गराउने प्रवृत्ति रहेकाले यस्तो भएको हो । सामुदायिक विद्यालय हेल्थपोष्ट सुधारले केही परक नपर्ने रहेछ । तर शिक्षा र स्वास्थ्य विकासको पूर्वाधार हो, यो विकासको मुख्य आधारशीला भएकाले पहिलो प्राथमिकता दिएका हौं । यसवर्ष बाटो चौडा गर्ने काम, रिटेनिङ वालको काम भएको छ, अर्को वर्षदेखि सडकको कालोपत्रेको सुरु हुन्छ ।


लुभुको सडक कहिले बन्छ ?

लुभु सडक हाम्रो कारणले रोकिएको होइन, त्यो केन्द्र सरकारको योजना भएकाले हाम्रो खासै भूमिका हुँदैन तर पनि सडकको काम छिटो सम्पन्न गर्न हामीले केन्द्रलाई दबाब दिँदै आएका छौं । बजेट अभावका कारण बाटोमा परेका घरधनीहरूले मुआब्जा पाउन सकेका छैनन्, नौवटा घरको मुआब्जा अझै बाँकी रहेको छ । त्यस्तै विद्युत् पोल र दूरसञ्चारका पोलहरूका कारण अवरोध भइरहेको छ । 

सडक विभाग, प्राधिकरण र दूरसञ्चारलगायत निकायबीच समन्वय हुन नसक्दा यस्तो अवस्था आएको हो, जनताले यसको दोषी चाहिँ स्थानीय निकायलाई देख्ने प्रवृत्ति छ । जनताले खाली नरपालिकाले गरेन, नगरपालिकाले गरेन भन्छन् ।

उद्यमशीलता विकासका लागि चाहिँ के गर्नुभएको छ ?

२० प्रतिशत बजेट उद्यमशीलता विकासका लागि छुट्याएका छौं । नगरपालिकाले नगरवासीमा उद्यशीलता विकासका लागि सीपमूलक तामिल प्रदान गर्दै आएका छौं, हामी नाममात्रको तालिम सञ्चालन गर्दैनौं, विगतमा नाममात्रको तालिम दिने प्रवृत्ति रहेछ, जसका कारण हामीले अहिले गाली खानुपरेको छ । लुभुको कपडा उद्योगको प्रवद्र्धन र साना गाउको सुकुलको पहिचानका लागि पनि नगरपालिकाले आवश्यक सहयोग गरिरहेको छ । सीप छ, पुँजी छैन भने पनि नगरपालिका पुँजीका लागि पनि सहजीकरण गर्ने गरेको छ ।

कृषि क्षेत्रमा चाहिँ के हुँदैछ ?

कृषि क्षेत्रका लागि पनि आवश्यक बजेट छुटयाएका छौं, करिब २० लाख बजेट छुटयाएका छौं । कृषिको व्यवसायिकीकरण र आधुनिकीकरणमा महानगरपालिकाले सहयोग गरिरहेको छ । त्यसो त यहाँका स्थायी बासिन्दाले कृषि पेशा छाडेका छन् । अधिकांश बाहिरबाट आएर जग्गा भाडामा लिएर कृषि व्यवसाय गर्ने रहेका छन्, जहाँबाट आए पनि उनीहरू नेपाली नागरिक नै भएकाले नगरपालिकाले स्रोतसाधनले भ्याएसम्म सहयोग गर्दै आएको छ । कृषिका लागि केन्द्र र प्रदेशले पनि बजेट छुट्याएको हुन्छ ।

 महालक्ष्मी नगरपालिकाभित्र ठूला उद्योगको सम्भावना कतिको छ ?

ठूला उद्योगको खासै सम्भावना देखिएको छैन । ठूला उद्योग आएका पनि छैनन् । उद्योगभन्दा हाम्रो नगरपालिका पर्यटनको राम्रो सम्भावना रहेकाले पर्यटन प्रवद्र्धनमा आवश्यक पूर्वाधार निर्माणमा जोड दिइएको छ । लाकुरी भञ्ज्याङलाई केन्द्रविन्दुमा राखेर काम भइरहेको छ, धार्मिक पर्यटनको विकासका लागि रामायण सर्किटसँग जोड्ने गरी लुभु र सिद्धिपुरका ऐतिहासिक मन्दिर, बोझो पोखरीको मन्दिर, इमाडोलको अशोक स्तुपालगायतको गुरुयोजना बनाउँदैछौं । लुभु र सिद्धिपुरका सम्पदाको संरक्षणमा जोड दिइएको छ । हिजो लोप भएर गएका बाजालाई पुनर्जीवन दिने प्रयास भइरहेको छ । लाँकुरी भञ्ज्याङमा भ्युटावर र पार्क निर्माणका लागि डिपिआर तयार हुँदैछ ।

 सहकारी क्षेत्रको व्यवस्थापनका लागि के गर्नुभएको छ ?

महालक्ष्मी नगरपालिकाभित्र सहकारी संस्था धेरै छन् । भएका सबै सहकारीलाई सहकारी ऐन २०७४ र महालक्ष्मी नगरपालिको सहकारी ऐन २०७५ अनुसार व्यवस्थापन गर्ने काम भइरहेको छ, बढीमा एउटा व्यक्ति २ वर्षसम्म कार्यकालको व्यवस्था गरेको छ । जसले गर्दा सहकारी परिवारवाद र व्यक्तिवादको अन्त्य हुने हाम्रो विश्वास छ ।

व्यवस्थित बस्ती विकास योजना पछि छ कि ?

त्यस्तो योजना छैन, नगरपालिकाभित्र बस्ती विकासका लागि जग्गा पनि छैन । केही कृषियोग्य जमिन छ, जुन कृषिकै लागि उपयोग गरिनेछ ।

 न्यायिक अवस्था कस्तो छ ?

हाम्रो उपमेयरज्यूको नेतृत्वमा रहेको न्यायिक समितिमा धेरै मुद्दा आउने गरेका छन्, जसमध्ये करिब ६० प्रतिशत मुद्दा फरफारक पनि भइसकेका छन् । कतिपय अदालतमा जानुपर्ने मुद्दा समितिमा आउने गरेको र धेरैजसो मेलमिलापमै जाने गरेका छन् । 

नगरपालिकाको भावी योजना ?

एउटा त नगरपालिकामा मानव मलमूत्रको व्यवस्थापन गर्न सकेसम्मम चालु आवभित्रै ठूलो ट्रिटमेन्ट प्लान्ट स्थापना गर्नेगरी प्रक्रिया अघि बढेको छ । अर्को कुरा, शिक्षालाई थप प्रभावकारी बनाउन सामुदायिक विद्यालयका शिक्षकलाई आइतबार एक दिन बिदा दिएर तालिमको व्यवस्था गरिनेछ भने स्थानीय पाठयक्रम तथाा पाठयपुस्तक निर्माणको काम चलिरहेको छ । कक्षा १ देखि कक्षा ८ सम्मको पाठयक्रम र पाठयपुस्तक निर्माण हुनेछ । त्यस्तै महालक्ष्मी नगरपालिकालाई मेलम्ची आयोजनाले समेटेको थिएन तर हाम्रो पहलमा मेलम्चीको पानीलाई महालक्ष्मी नगरपालिकाभित्र ल्याउने प्रक्रिया सुरु भएको छ ।


Views: 448