राजनीति अस्थिरताको चपेटामा मुलुकको अर्थतन्त्र

डा. डीआर उपाध्याय
Read Time = 12 mins

मुलुकको शासन व्यवस्थामात्र होइन, राजनीतिक दलका नेता राम्रा, इमानदार र योग्य भए भनेमात्र देशको भविष्य उज्ज्वल हुन्छ । देशको व्यवस्था राम्रो भए पनि जनताको अवस्था फेरिएन भने त्यसको कुनै मतलब हुँदैन । देश र जनताको भाग्य र भविष्य निर्माणका लागि राजनीतिक दलहरू र तिनका शीर्ष नेता दूरदर्शी र इमानदार अनिवार्य हुनुपर्छ । पुरानो सोच र चिन्तनले अब मुलुक बन्दैन । समय धेरै अघि बढिसकेको अवस्था छ । प्रविधि र सञ्चारको विकास भइरहेको यो अवस्थामा हाम्रो देश बन्न नसक्नु गलत राजनीति र नेताहरूको अदूरदर्शिताले नै हो । जबसम्म नेताहरूमा सुधार आउँदैन तबसम्म देशले दुःख खेपिरहने हो ।

आज देश गलत राजनीतिक बाटोतर्फ अग्रसर छ । सत्ता टिकाउन दलहरू जस्तोसुकै धन्दा गर्न पनि तयार छन् । यो हाम्रो देशका लागि दुर्भाग्य हो । सत्ताका लागि दल फेर्न पनि नेताहरू तयार छन् र दलबदल गरिरहेका छन् । तर, देश र जनताको पक्षमा काम गर्न कुनै नेता तयार छैनन् । सबै आफ्नै स्वार्थमा लिप्त छन् । नेताका गतिविधिलाई आमजनताले मन पराइरहेका छैनन् । जनताले नेताहरू स्वार्थी र लोभीपापी भएको आरोप लगाइरहेका छन् ।

दलहरूमा सम्झौता उल्लंघन गर्ने प्रवृत्ति मौलाएको छ । यसले गर्दा पनि राजनीतिक दल र तिनका नेताहरू देश र जनताप्रति इमानदार छैनन् भन्ने पुष्टि हुन्छ । निर्वाचनको समयमा भोट माग्दाखेरी गरेको वाचा र प्रतिबद्धता नेताले किन बिर्सन्छन् ?

पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको ‘हनिमुन पिरियड’ अर्थात् सय दिन हुन लाग्दा पनि जनतालाई आभास हुने गरी ठोस काम केही गर्न सकेका छैनन् । मन्त्रिपरिषद्को विस्तारमा नै उनका सय दिन ग्रुजिन लागेका छन् । बल्ल–बल्ल शुक्रबार मन्त्रिपरिषद्को विस्तार त भयो, त्यसमा पूर्णता भने हुन सकेन । जहिले पनि खिचातानी र कुुर्सीको रस्साकसीमा नेपाली राजनीति रुमलिएपछि कसरी विकास हुन्छ देशको ? आजको यो टड्कारो र आमजनमानसको प्रश्न हो । प्रधानमन्त्री प्रचण्डले लामो समयसम्म स्वास्थ्य मन्त्रालयसहित १६ वटा मन्त्रालयको भार सम्हाल्दै आउनुभयो । गठबन्धन सरकारका लागि यो लाजमर्दो कुरा हो ।

नेपाली राजनीतिमा यस खालको परिदृश्यले हामीले आमजनमानसलाई कसरी ‘डेलिभरी’ दिन सक्छौँ ? नेपालको राजनीति गतिशील हुन सकेन । जसले आमजनतामा एक खालको निराशा बढेर गएको छ । बजेट बनाउने समयमा लामो समय मन्त्रालय मन्त्रीविहीन हुनु कति जायज हो ? जनताले त प्रश्न गरेका छन् नि । मन्त्रालयको काम प्रभावित भइरहे यसबीचमा । दुई पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले लामो समयसम्म १६ वटा मन्त्रालयको भार काँधमा बोकिरहे । समयमा मन्त्रिमण्डल गठन गर्न नसक्नु जनताप्रति बेइमान गर्नु हो ।

निर्वाचनअघि सबै राजनीतिक दलले आ-आफ्ना घोषणापत्र सार्वजनिक गरेका थिए । तर, घोषणापत्रअनुसार काम गर्न सकेका छैनन् । त्यो चुनावी घोषणापत्र जनतासँग गरिएको एक खालको सम्झौता थियो । दलहरूमा सम्झौता उल्लंघन गर्ने प्रवृत्ति मौलाएको छ । यसले गर्दा पनि राजनीतिक दल र तिनका नेताहरू देश र जनताप्रति इमानदार छैनन् भन्ने पुष्टि हुन्छ । निर्वाचनको समयमा भोट माग्दाखेरी गरेको वाचा र प्रतिबद्धता नेताले किन बिर्सन्छन् ?

सत्ताको केन्द्रबिन्दुमा पुग्ने र आफूसहित आफ्ना आसेपासेलाई पोस्ने कामबाहेक आजसम्म अरू केही देखिएन । सत्तास्वार्थको राजनीतिले मुलुक संकटमा छ । प्रधानमन्त्री वा मन्त्री बन्ने होडबाजीबाहेक अरू केही देखिएको छैन । शक्तिको आडमा आफ्ना नातेदार र गुटलाई पोस्ने काम धेरै पहिलेदेखि हुँदै आएको छ र त्यसले निरन्तरता पाइरहेको छ ।

गाउँमा खेतबारी बाँझै छ । पहाडमा मलामी पाउन मुस्किल भइसक्यो । हाम्रो देशमा यस खालको अवस्था सिर्जना भएको छ । यसो हुनुमा राजनीति गलत बाटोतर्फ गएको हुनाले हो । राजनीतिक नीतिमा कहीँ न कहीँ गम्भीर त्रुटि छ । यो कुरा सबैलाई थाहा भइसक्यो । व्यवस्था परिवर्तन हुने तर जनताको अवस्था उस्तै रहनु के राम्रो हो ? सत्ता गठबन्धन दलहरू अब सत्ताको भागबण्डामा मात्र सीमित नभई मुलुकप्रति गम्भीर बन्नुपर्ने आवश्यकता छ । सत्तारूढ दलहरूले के काम गर्ने त्यसको न्यूनतम साझा कार्यक्रम बनाउनुपर्छ । सरकार आफ्नो दायित्व र विपक्षी दलको आफ्नो भूमिकाप्रति प्रष्ट हुनु आवश्यक छ । आज देशमा विदेशी शक्तिले चलखेल गरिरहेका छन् । यसबारेमा दलहरूलाई थाहा भए पनि चुप छन् । आज देश अस्थिरतातर्फ गइरहेको छ ।

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफ्नो पार्टीको बहुमत हुँदाहुँदै २०५१ सालमा संसद् विघटन गरेर मध्यावधि निर्वाचन गरेका थिए । त्यो नै देशका लागि दुर्भाग्य बन्यो । त्यहीँबाट अस्थिरताको सुरुवात भएको हो । त्यो बेला पार्टीभित्र घात-अन्तर्घातको शृंखला चल्न थाल्यो । नेताहरूमा महत्वाकांक्षा पलाउन थाल्यो । देश र जनताभन्दा सत्ताका लागि जे पनि गर्ने परिपाटी बस्यो । यसले गर्दा मुलुक बर्बाद हुँदै गएको हो ।

आमनागरिकले राजनीतिक स्थिरता खोजेका छन् । राजनीतिक स्थिरता भएमात्र देशको विकास हुन्छ । अहिलेको निर्वाचन परिणाम देशमा अस्थिरता सिर्जना गराउने खालको आयो । कुनै दलले स्पष्ट बहुमत ल्याउन नसकेर यो अवस्था आएको हो । निर्वाचनले थप नयाँ शक्तिको निर्माण भने गरेको छ तर यिनै नयाँ शक्तिको आडमा अस्थिरता निम्तिने खतरा छ । आज मंसिर ४ को निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र आमजनता पार्टी सरकारमा सामेल भइरहेका छन् । सबैलाई सरकार चाहिएको छ । आज राजनीतिमा जुन खालको अस्थिरता आएको छ, त्यसको कारक नयाँ राजनीतिक शक्तिहरू पनि हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सामु चुनौतीका पहाड धेरै छन् । उनका सामु देखिएको सबैभन्दा ठूलो चुनौती भनेको देशको अर्थतन्त्र बचाउनु हो । देशमा सुशासन कायम हुन सकेको छैन । देशको अर्थतन्त्र उँभो नलागेसम्म उनको यात्रा त्यति सहज हुने छैन ।

राजनीति अस्थिरताको चपेटामा मुलुकको अर्थतन्त्र डामाडोल हुँदैछ । कोरोना महामारीसँगै समस्यामा पुगेको अर्थतन्त्र अझै चलायमान हुन सकेको छैन । आज मुलुकको अर्थतन्त्र संकटमा परिरहँदा सरकारको उपस्थिति भने निकै कमजोर छ । समस्यामा पुगेको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने नेतृत्व नै छैन । लामो समयसम्म नेतृत्वविहीन बनेको अर्थमन्त्रालयले शुक्रबारमात्र नेतृत्व पाएको छ । देश आर्थिक संकटको डिलमा रहँदा लामो समयसम्म अर्थमन्त्री नै नहुनुलाई के भन्ने ?

प्रधानमन्त्री पुष्पकमल दाहालका सामु धेरै चुनौतीका पहाड छन् । उनका सामु देखिएको सबैभन्दा ठूलो चुनौती भनेको देशको अर्थतन्त्र बचाउनु हो । देशमा सुशासन कायम हुन सकेको छैन । सबैतिर समस्यै समस्या छन् । देशको अर्थतन्त्र उँभो नलागेसम्म उनको यात्रा त्यति सहज हुने छैन । अहिलेसम्म उनी सरकारको जोड, घटाउमै व्यस्त छन् । दाहाल सत्ताका लागि मरिमेटेका छन् । १० दलीय गठबन्धनमा अझै भागबण्डा मिलेको छैन । दलहरू सत्तामा जान जोसँग पनि गठबन्धन गर्न तयार छन् र, तोड्न पनि । जुन प्रवृत्ति देखिएको छ, त्यो सबैभन्दा खराब चिज हो ।

देशलाई कसरी अगाडि बढाउने र सुशासन र समृद्धि कसरी दिने भन्ने चिन्ता दलहरूमा पटक्कै छैन । १० दलीय गठबन्धनको ध्यान जनता नभई सत्ता नै प्रमुख बिषय बनेको छ । गठबन्धनको यो अकर्मण्यताको हिसाबकिताब जनताले राखिरहेका छन् । यी सबै सत्ताका लागि जे पनि जायज भन्ने राजनीतिक गठबन्धनको दोहोरो चरित्र जनताले सूक्ष्म ढंगले हेरिरहेका छन् । जनतालाई वेवकुफ बनाउने काम दलहरू र तिनका नेताहरूले नगरून् भन्ने मेरो भनाइ हो । लामो समयदेखि जनता भ्रममा परिरहेका छन् ।

अब जनता धेरै सचेत छन्, जनतालाई भ्रममा राखेर राजनीति गर्ने दिन अब गए । आज सत्ताका लागि जुन मञ्चन भइरहेको छ, त्यो सबै देश र जनताको पक्षमा नभएर नेताकै स्वार्थमा छ । यसमा हामीले धेरै टाउको दुखाउनुपर्ने कुनै आवश्यकता देखिन्न । मुलुकको भविष्यका बारेमा कुनै नेता गम्भीर नभएको देख्दा चिन्ता लाग्छ । यस्तो भएपछि हाम्रो भविष्य के हुन्छ ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?