19th October | 2018 | Friday | 9:53:57 AM

कविता शीर्षक : विछिप्त मन

शुभाष ढुंगेल   POSTED ON : Monday, 26 June, 2017 (5:48:00 PM)

कविता शीर्षक : विछिप्त मन

नाम मात्रको राजधानी यो काठमाडौं सँग,

सुनाउन लायकको यहाँ, केही छैन ।

यो खाली र खोक्ला छ । 

अविकसित र जर्जर छ ।

राजनीतिलाई अपुताली र

पारिवारिक बनाएर घिच्न,

समानुपातिक व्यवस्था छ ।

अभाव,असुरक्षा,अव्यवस्था छ ।

अत्याचार र अलमल छ । 

ढाँट,छलछाम र ढिलासुस्ती छ । 

सबै क्षेत्रमा,

भ्रष्टाचार संस्थागत छ ।

बेरोजगार,रोग र भोक छ । 

देश सधैंलाई भुलेर,

बिदेश भासिन खातिर 

उडेर जान,एउटा अव्यवस्थित 

र दुर्गन्धित एयरपोर्ट छ । 

धुलो छ, धुवा छ । 

पत्रू–ठालुहरुलाई

निवर्तमान बनाएर पनि पाल्न र

बिदेश लगेर उपचार गराउन,

जनताको रगत,पसिना र कर बाट

संचित सरकारी कोष छ । 

अनियंत्रित भिड छ ।

दल,माफिया र दलालको,

बिगबिगी छ ।

राजनीति र कमिसन,

पर्याय छ ।

निरञ्जन निराकार छ ।

पानीको हाहाकार छ ।

भविष्य अंधकार छ ।

सम्पुर्ण बेथितिको जगमा उभिएको,

सरकार छ ।

रसायनयुक्त आम छ ।

बाटो जाम छ ।

कालोबजार छ ।

कमसल,मिसावटयुक्त सरसामानहरुको,

खरिदबिक्री खुलेआम छ ।

जात भात र आरक्षण छ ।

अशिष्टता,अहंकार मौलाएको छ । 

युवाहरुको सपना हराएको छ ।

एउटा बच्चा बुढो नहुन्जेल सम्म फगत अधिकार डकार्न,

संसारको उत्कृष्ट भनाउँदो,

कहिल्यै कार्यान्वयन हुन नसक्ने,

पुगुँ न पुच्छरको संविधान छ । 

राजदूतले हकार्दा,

सीमा सुबेदीले डकार्दा, 

र सि के राउतले खकार्दा,

८ रेक्टर स्केलको कम्पन आउने

बलियो राष्ट्रियता छ । 

ओकल्न र सुन्नलाई बासी बिचार र भाषण छ ।

यहाँ के छैन सब थोक छ ।


Views: 183