20th December | 2018 | Thursday | 12:01:47 AM

‘भूकम्पमा मल्हमपट्टी’ : पीडाको दस्तावेज

  POSTED ON : Saturday, 11 November, 2017 (12:35:15 PM)

‘भूकम्पमा मल्हमपट्टी’ : पीडाको दस्तावेज



सोमराज पोखरेल

विक्रम सम्वत् २०७२ सालको गोरखा भूकम्पले नेपालीको जनजीवन तहसनहस पा¥यो । अहिलेसम्म कतिपय पीडितको घरको छानो केबल आकाश मात्र बनेको छ । के गर्मियाम र के जाडोयाम । भूकम्पदेखि चारवटा सरकार फेरिए । तर पीडितका पीडा कम भएनन् । भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणमा सीइओ पनि चारपटक नै फेरिए । 

आशा र भरोसामा बसेका पीडित थाङ्नामा सुतिरहेका छन् । जाँगर भएका र आफ्नो पौरख छउञ्जेल खाफंै केही गर्छु भन्नेहरू तत्काल जागे । भूकम्पलाई परास्त गरे । सहयोगी हात पनि टन्नै भए । तर कोही स्वार्थी भए । कोही निःस्वार्थी भए । इमानदारले जुनसुकै क्षेत्रबाट सहयोग गरे । 

तिनै निःस्वार्थी मन लिएर भूकम्पपीडितको उपचारका लागि खटिए चिकित्सक रवीन्द्र समीर । भूकम्पपछि उनले भूकम्प प्रभावित १० जिल्लाका ५४ गाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरे । हजारौंको उपचार गरे । त्यस क्रममा उनले विचित्र पीडा देखे । 

भूकम्पपछिका पराकम्पनले नेपालीलाई यसै पनि आक्रान्त पारिरहेको थियो । मर्ने मरेर गइहाले । घाइते छट्पटाउने भैहाले । मृतकका आफन्तको पीडा आफ्नै ठाउँमा थियो । क्षति नै नभएको पनि पराकम्पनले चैनसँग बस्न सकिरहेका थिएनन् । पराकम्पनले सबैको दैनिकी बिग्रिएको थियो । 

यो भूकम्पमा बाँचेपछि डा. रवीन्द्रले आफूलाई नाफाको जिन्दगी सम्झे । त्यही नाफाको जिन्दगीलाई कसरी सदुपयोग गर्न सकिन्छ भनी मरिमेटेर लागे भीरपाखा र चर्किएका क्षेत्रमा पीडितलाई सेवा गर्न । उनले गरेको दुस्साहसलाई भने मान्नै पर्छ । किनकि आफूलाई सुरक्षित राखेर मात्र अर्काको सेवा गर्नुपर्ने बेलामा उनी आफंै भूकम्पसँग पौठेजोरी खेलिरहेका थिए । 

उनले भूकम्पमा गरेको कामको फेहरिस्त समेटेर ‘भूकम्पमा मल्हमपट्टी’ पुस्तक नै लेखेका छन् । यो पुस्तकमा ‘गोरखा भूकम्प’ को रूप पाउन सकिन्छ । भूकम्पपछि कहाँ के भयो भनी टिपोट पाउन सकिन्छ । केही सहयोग गर्न चाहनेका लागि उत्प्रेरणा पाउन सकिन्छ । 

भूकम्पको भविष्यवाणी अहिलेसम्म विज्ञानले गर्न सकेको छैन । तर यहाँ भूकम्प गइसकेपछि त्यसको भविष्यवाणी गरेर जनजीवन आक्रान्त पार्ने धेरै भए । तीमध्ये कतिपयलाई लेखक स्वयंले पनि भेटे । त्यस्तालाई पनि सम्झाउँदै हिँडे । 

उपचारका क्रममा जीवनभर चिकित्सकको अनुहार नदेखेका पीडित नेपाली बिरामीसम्म पनि डा. रवीन्द्र समीर पुगे । उनीहरूको पनि उपचार गरे । एकै दिन सयौं बिरामीलाई उपचार गर्नुपर्ने अवस्थामा उनले पूर्ण समय दिन सकेनन् । तर पनि आफैंले सहयोगबाट तथा ऋणै खोजेर रकमको जोहो गरेर औषधि पनि साथै लगेर बिरामीलाई दिए । 

बिरामी जाँच गर्नु मात्र ठूलो कुरा होइन रहेछ । असहज परिस्थितिमा त ओखती पनि साथमा हुनुपर्ने रहेछ । एन्टिबायोटिकको कोर्स पूरा गर्नुपर्ने भएकाले उनले महँगा महँगा औषधि पनि किनेर बिरामीको हातमा थमाए । उनको खर्चको हिसाबकिताब उनले गरेका छैनन् । 

सहयोग गर्ने हातको उनले खुलेरै प्रशंसा गरेका छन् । उनी कुनै ब्राण्डबिना गएकाले न बिरामीको नाम लेख्ने झन्झट ठाने न त आफ्नो नाम ठेगाना नै दिने कष्ट गरे । सम्भवतः उनले आफ्नो व्यापार फस्टाउन गएका भए भिजिटिङ्ग कार्ड लैजान्थे होला । 

भगवानको रूप बन्दै बिरामीको उपचार गर्नु, मानसिक रोगीलाई परामर्श दिनु, खानपान र स्वास्थ्य समस्याबाट बच्चे उपाय बताए । पुस्तकमा उनले त्यही लेखेका छन् जे देखे, जे भोगे र जे सुने । जुन ठाउँमा गए त्यहीँको विवरण लेखे । यो पुस्तकले थप अध्ययन र अनुसन्धान गर्न चाहनेका लागि सन्दर्भ सामग्रीको काम गर्नेछ । 

यो पुस्तकले गोरखा भूकम्पको दस्तावेजको काम गरेको छ । समाचारमा भनिएका र तत् अवस्थामा भए गरेका कुरा सबै समेटेर लेखक रवीन्द्रले गुन मात्र लगाएका छैनन् भविष्यमा आउन सक्ने विपत्तिबाट कसरी बच्न सकिन्छ भनी थुप्रै ‘टिप्स’ समेत दिएका छन् । 

यो पुस्तक पढ्ने जस्तोसुकै कठोर व्यक्तिका पनि आँखा रसाउँछन् । किनकि यसमा नेपालीको पीडा लुकेको छ । त्यसैले त लेखक रवीन्द्रले यस्तो पुस्तक कहिल्यै लेख्न नपरोस् भनेका छन् । अर्थात् यस्तो दुःख फेरि कसैलाई नपरोस् भन्दै रवीन्द्रले एक सचेत लेखकले जसरी नै पीडितका पीडालाई ओकलेका छन् । 

एकातिर चिकित्सकीय धर्म अनि अर्कातिर एक सचेत नागरिक भएका हिसाबले उनले आफ्नो कर्तव्य पूरा गरेका छन् । आठवटा लघुकथा सङ्ग्रह, मुक्तक सङ्ग्रहसँगै नियात्रा सङ्ग्रहको समेत पुस्तक निकालिसकेका रवीन्द्र समीरको ‘भूकम्पमा मल्हमपट्टी’ फाइनप्रिन्टले प्रकाशन गरेको हो । उनले यस पुस्तकबाट आउने रोयल्टी सबै भूकम्प पीडितकै सेवामा खर्च गर्ने जनाइसकेका छन् । 


Views: 73