19th October | 2018 | Friday | 9:53:58 AM

काठमाडौंमा सयौं शौचालयको व्यवस्था होस्

  POSTED ON : Monday, 20 November, 2017 (9:52:20 AM)

काठमाडौंमा सयौं शौचालयको व्यवस्था होस्

अचेल हरेक दिन कुनै न कुनै दिवस राष्ट्रिय वा अन्तर्राष्ट्रियरूपमा मनाइँदै आइएको छ । कहिले सरसफाइ दिवस त कहिले हात धुने दिवस, कहिले कुन दिवस त कहिले कुन, त्यस्तै आइतबार विश्व शौचालय दिवस मनाइरहेको छ । यसरी कुनै दिवस मनाइँदा लामा लामा नारा पनि लेख्ने गरिन्छ । अर्थात यसरी कुनै दिवस मनाइरहँदा त्यो दिवस सार्थक गर्नलाई कडा नारा बनाइन्छ । र जसै दिवस सिद्धिन्छ, त्यसपछि दिवसको औचित्य पनि सिद्धिन्छ । दिवसले भनेका काम वा नारा त्यत्तिकै हराएर जान्छ । काठमाडौंमा पनि विश्व शौचालय दिवस मनाइएको छ । यसरी दिवस मनाइरहँदा भने काठमाडौंमा शौचालयको अभावमा आम नागरिकले नपाउने सास्ती पाउँदै आएका छन् । यो विडम्बना नेपालीको हो । यदि काठमाडौंमा बाटो हिँड्दा कसैलाई पिसाब लाग्यो भने उसले सुलभरूपमा सार्वजनिक शौचालय भेट्दैन । किनभने काठमाडौंमा मानिस धेरै छन् तर शौचालय कम छ । यदि नयाँसडकबाट नयाँबानेश्वरतिर हिँड्नु प¥यो भने त्यो रुटमा पैदल हिँड्ने मानिसले शौचालय पाउनै सक्दैन । टुँडिखेलमा रहेका शौचालयहरु यति फोहोर छ कि कसैलाई दुःख दिने हो भने त्यो शौचालयमा आधा घण्टा थुनिदिए पुग्छ । नयाँ सडक भूगोल पार्क छेउमा रहेको शौचालय पनि त्यस्तै फोहोर छ । जहाँ मानिस छिर्न चाहँदैनन् । अप्ठेरो परेको बेलामा काठमाडौंमा बस्नेहरुले सार्वजनिक शौचालय नभेट्दा कुनै रेस्टुरेन्ट वा होटलमा छिर्नुपर्ने हुन्छ । काठमाडौंवासीहरुको बाध्यता नै भइसकेको छ त्यो । त्यसैले दिसापिसाब लाग्दा एक कप चिया कफी पिउने निहुँ पारेरै पनि होटलमा छिर्नुपर्ने अवस्था छ । तर के सबैसँग हरहमेसा चिया पिउने पैसा खल्तीमा हुन्छ ? नरहन पनि सक्छ । दुई चार रुपैयाँ भएको अवस्थामा के गर्ने ? यस्तो अवस्थामा एउटा पीडित व्यक्तिले के गर्ने ? यो प्रश्नको जवाफ सरोकारवाला निकाय वा सरकारले दिन सक्छ कि सक्दैन ? सजिलो छैन यसको जवाफ दिनु । शौचालय दिवस मनाउनु वा शौचालय विषयलाई लिएर गोष्ठी गर्नु सेमिनार गर्नु र चर्का चर्का भाषण गर्नु सजिलो छ । तर तिनै गोष्ठी र भाषण गर्नेले अप्ठेरो परेको बेला रत्नपार्कस्थित शौचालयमा एक मिनेटको समय बिताउन सक्दैनन् । गाह्रो सबैलाई हुन्छ । त्यसैले सरोकारवाला निकाय र सरकारले हरेक पन्ध्र मिनेटको पैदल दूरीमा शौचालयको व्यवस्था गर्नु आजको आवश्यकता भइसकेको छ । बरु त्यसका लागि दुई चार रुपैयाँ शुल्क लिने व्यवस्था गर्ने, कसैसँग नभए निःशुल्क शौचालय प्रयोग गर्न दिने व्यवस्था मिलाउनु जरुरी छ । यतिबेला महानगर पालिकामा नयाँ मेयर छन् । तिनले ठूलाठूला नारा उचालेका छन् । तर तिनले काठमाडौंमा दुई चार सय शौचालय बनाइदिने हो भने धेरैले तिनको गुनगान गाउने थिए । तर ती मेयर पनि त राजनीति गर्ने नै त हुन् । तिनले किन शौचालयको काम गर्थे र ? वास्तवमा विश्व शौचालय दिवस मनाउने आजको दिनमा काठमाडौंमा दुई चार दर्जन शौचालयहरुको उद्घाटन भएको भए दिवस सार्थक भएको अनुभव गर्न सकिन्थ्यो । 

आर्यन उपाध्याय

काठमाडौं 


Views: 39