19th October | 2019 | Saturday | 7:25:40 AM

संविधान संशोधनका लागि सहमतिको प्रयास जारीः प्रधानमन्त्री

  POSTED ON : मंसिर ७, २०७३ (६:५१ PM)

संविधान संशोधनका लागि सहमतिको प्रयास जारीः प्रधानमन्त्री

हिमालय टाइम्स ताप्लेजुङ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान निर्माणका सहयात्री दलहरुबीचको सहमतिमा संविधान संशोधनका लागि सरकारले प्रयास गरिरहेको बताएका छन् । कञ्चनजंगा हिमाल आरोहणको ६० वर्ष पुरा भएको अवसरमा ताप्लेजुङको सुकेटारमा आयोजित कञ्चनजंगा हिरक महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्रीले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने सरकारको प्रयास जारी रहेको बताए । प्रधानमन्त्रीले भने, ‘हिजो भूकम्पपछि सत्तापक्ष प्रतिपक्ष नभनी हामीले राष्ट्रिय सहमति कायम गरेर उद्दार र राहतको काम सम्पन्न गर्यौं । राजनीतिक सहमतिकै आधारमा चुनौतिपूर्ण ठानिएको संविधान निर्माणको कार्यभार पुरा गर्यौं । संविधान त बनेको छ । तर, यसको स्वीकार्यता फराकिलो पारेर सिंगो राष्ट्रले स्वामित्व लिने कार्यभार अझै बाँकी छ । तसर्थ, संविधान संशोधन गरी मुलूकलाई निर्वाचनको दिशामा लैजान सरकारले राजनीतिक सहमतिको प्रयास गरिरहेको छ ।’ प्रधानमन्त्रीले कञ्चनजंगा क्षेत्र विकासका असीमित सम्भावनाहरुले भरिपूर्ण रहेको भन्दै आरोहण पर्यटनका लागि सरकारको तर्फबाट आवश्यक सहयोग हुने विश्वास दिलाए। महोत्सवमा मन्त्री सूर्यमान गुरुङ, व्यवस्थापिका—संसद विकास समितिका सभापति रबिन्द्र अधिकारी लगायतका वक्ताहरुले पूर्वाञ्चलको विकासका सम्भावना र हिरक महोत्सवको महत्वबारे चर्चा गरेका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Views: 74