23rd August | 2019 | Friday | 3:03:10 PM

डा. केसीको अनशनः सरकार बल्ल वार्ता गर्न तयार

  POSTED ON : मंसिर १२, २०७३ (७:२५ AM)

डा. केसीको अनशनः सरकार बल्ल वार्ता गर्न तयार

पार्वती थापामगर काठमाडौं । सरकारले अनशनरत डा. केसीसँग वार्ताका लागि शिक्षामन्त्रालय र स्वास्थ्यमन्त्रालयका सचिव रहेको दुई सदस्यीय टोली गठन गरेको छ । शिक्षा सचिव शान्तबहादुर श्रेष्ठलाई संयोजक र स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीलाई सदस्य तोकिएको छ । शिक्षामन्त्रीको धनीराम पौडेलले प्रधानमन्त्रीको निर्देशनमा मन्त्रालयस्तरीय निर्णयद्वारा अनशनको चौधँै दिन शनिबार उक्त वार्ता टोली गठन गरेका हुन् । सरकारी वार्ता टोलीले शनिबार साँझ नै डा. केसीसँग भेट गरी वार्ताका लागि आग्रह गरेको छ । सरकारी टोलीले आइतबार बिहानै वार्ता सुरु गर्ने तयारी गरेको जनाइको छ । डा. केसीका तर्फबाट उनका प्रतिनिधिहरूले वार्ता गर्नेछन् । यता शिक्षण अस्पताल महाराजगन्जका चिकित्सक प्राडा गोविन्द केसीका समर्थकहरूले शनिबार राजधानीका सडकमा प्रदर्शन गरेका छन् । ‘गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवा, हामी सबैको अधिकार’ भन्ने मूल नाराका साथ उनीहरूले प्रदर्शन गरेका हुन् । शनिबार डा केसीको अनशनको १४ दिन पूरा भएको छ । अहिलेसम्म पनि कुनै सकारात्मक कदम नचालेपछि समर्थकहरूले सडकमा प्रदर्शन गरेका हुन् । ‘सोलिडारिटी फर डा गोविन्द केसी एलाइन्स’ले आयोजना गरेको उक्त उक्त विरोध प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएर नयाँबानेश्वर पुगी कोणसभामा परिणत भएको थियो । सबै प्रदर्शनकारीले चर्काे स्वरमा ‘चिकित्सा शिक्षा र स्वास्थ्यमा भएको व्यापारीकरण बन्द गर, सामान्य औलोले कहिलेसम्म मर्ने, हो हामी पागल हौँ’ जस्ता नारा लगाएका थिए । प्रदर्शनकारीले भने हातमा ‘माफिया लुटेरा’ लेखिएका बाक्ला कागजका बक्सा बोकेका थिए । उनीहरूले बक्सामा कार्टुनभित्र प्रधानमन्त्री, शिक्षामन्त्री, अर्थमन्त्री, त्रिवि उपकुलपतिको नाममा सिटामोल दान गरेको दृश्य प्रदर्शन गरेका थिए । उनीहरूको छातीमा ‘प्रधानमन्त्री’, ‘शिक्षामन्त्री’ र ‘त्रिवि उपकुलपति’ लेखिएको काजग टाँसेका थिए । प्रदर्शनकारीहरू निकै आक्रोशित देखिन्थे । उनीहरूले डा केसीको माग चाँडो पूरा नगरे दैनिक यसैगरी सडक अवरुद्ध पारी आन्दोलन गर्नेसमेत चेतावनी दिएका थिए । उनीहरूले डा केसीको जीवनरक्षा गर्न माग गरेका थिए । उनीहरूले मानवअधिकारकर्मीहरू मौन रहेको र कतै हराइरहेको भन्दै आश्चर्य प्रकट गरेका थिए । कुनै निर्दाेषको स्वास्थ्य नाजुक बन्दै जाँदासमेत मानवअधिकारकर्मीहरू चुप लागेर बसेको उनीहरूको आरोप थियो । डा केसी त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का नवनियुक्त डिन डा केशवप्रसाद सिंहलाई बर्खास्त गर्न माग गर्दै आमरण अनशनमा छन् । सिंह बर्खास्त नभएसम्म आफ्नो अनशन कुनैपनि हालतमा नतोड्ने अडानमा डा केसी छन् । त्रिविले गत कात्तिक २८ गते सिंहलाई आइओएमको डिन नियुक्त गरेपछि उनलाई हटाएर वरिष्ठताका आधारमा नियुक्त गर्न माग गर्दै डा केसीले सोही दिन आमरण अनशन सुरु गरेका थिए । यो उनको दशौँ अनशन हो । उनले त्रिवि उपकुलपति डा. तीर्थ खनियाँलाई पनि बर्खास्त गर्न पनि मागेका छन् । डा केसीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग तत्काल पारित गर्नुपर्ने, चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा डिन वरिष्ठताका आधारमा नियुक्त गरिनुपर्ने र आइओएमलाई पूर्ण स्वायत्तता दिइनुपर्ने, चिकित्सा शिक्षा ऐन नबन्दै विस्तारित कार्यक्रम वा अन्य कुनै बहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग गरेका छन् । यसैगरी उनले संसद्बाट चिकित्सा शिक्षा ऐनमा माथेमा प्रतिवेदनको सुझाव र विगतका सम्झौताहरू समावेश गर्नुपर्ने, एमबिबिएस र बिडिएस कार्यक्रमको शुल्क अघिल्लो सालको जस्तै कार्यान्वयन गरिनुपर्ने, सरकारी शिक्षण संस्थाहरूमा शतप्रतिशत सिट निःशुल्क गरिनुपर्ने उनका माग छन् । डा केसीका समर्थकहरू उपकुलपति डा खनियाँको राजीनामा माग्दै कलंकीस्थित उनको निवासअगाडि पनि पुगेका थिए । त्यहाँ प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई तितरबितर बनाएको थियो । प्रहरीले ३१ जनालाई समातेर हिरासतमा राखेको प्रदर्शनकारीहरूले जनाएका छन् । डा केसी केसी सोलिडारिटी एलायन्स र विवेकशील नेपाली दलका सदस्यहरू उपकुलपति खनियाँको निवासअगाडि पुगेका थिए । उनीहरूले शिक्षामन्त्री धनीराम पौडेलको निवासअगाडि समेत प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप गरेको भन्दै विरोध जनाएका छन् । यता डा केसीको अवस्था निकै कमजोर रहेको उनको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका छन् । उनको शरीरमा नुनको मात्रा अत्यन्तै कम रहेको र मुटुमा समेत असर गर्न थालेको जनाइएको छ । उनलाई कुनै पनि बेला आइसियुमा सार्नुपर्ने चिकित्सकहरूको भनाइ छ ।

Views: 64