15th September | 2019 | Sunday | 8:35:59 PM

म नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा छुः प्रधानमन्त्री

  POSTED ON : मंसिर १३, २०७३ (३:५३ PM)

म नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा छुः प्रधानमन्त्री

बनेपा । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू नेपाली राजनीतिको भूकम्पको केन्द्रविन्दुमा भएको बताएका छन् । सोमबार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २२औँ दीक्षान्त समारोहमा प्रधनमन्त्री दाहालले समृद्धिका लागि स्थिर राजनीतिक सरकार आवश्यक भएको बताए । नेपाली समाजमा अहिले पनि शिक्षित, सभ्य र योग्य व्यक्तिको अभाव भएको औँल्याउँदै प्रधानमन्त्री दाहालले समाजको निम्ति उपयोगी काम गर्न महत्वकाङ्क्षी योजना लिएर अघि बढ्न विद्यार्थीलाई आग्रह गरे । उनले भने – “तपाईंहरुले हासिल गरेको सीप र क्षमता दुर्गम क्षेत्रमा पीडामा रहेका जनताप्रति समर्पित गर्नुहोस् ।” प्रधानमन्त्री दाहालले दीक्षितबाट सरकारले ठूलो अपेक्षा गरेको उल्लेख गर्दै विद्यार्थीको जीवनको नयाँ अध्याय सुरु भएको बताए । भारतको सेन्टर फर पोलिसी रिसर्चका प्रेसिडेन्ट तथा प्रमुख कार्यकारी प्रा डा प्रताप भानु मेहताले मौलिक अधिकार उपयोगको चुनौती देखिन लागेको बताए । काठमाडौँ विश्वविद्यालयमा स्कुल अफ साइन्सका २४९ जना, स्कुल अफ इन्जिनियरिङका २८२, स्कुल अफ म्यानेजमेन्टका ४६४, स्कुल अफ एजुकेसनका १०३ र स्कुल अफ आर्टस्का १८७ गरी जम्मा कुल एक हजार २८५ जना स्नातक दीक्षित भएका छन् । उनीहरूमध्ये अमेरिकाका तीन, भुटानका एक, चीनका दुई, भारतका ११, बङ्गलादेशका तीन, पाकिस्तानका तीन र जर्मनीका दुई गरी सात देशका २५ जना रहेका छन् । रासस

Views: 121