15th September | 2019 | Sunday | 8:13:26 PM

डा. केसीसँगको दोस्रो वार्ता पनि असफल

  POSTED ON : मंसिर १३, २०७३ (१०:५९ PM)

डा. केसीसँगको दोस्रो वार्ता पनि असफल

हिमालय टाइम्स काठमाडौं । सरकारी टोली र आमरण अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीच सोमबार दोस्रो पटक भएको वार्ता पनि कुनै निष्कर्षबिनै टुंगिएको छ । केसीले राखेको १० मध्ये दुई मुख्य माग त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा. तीर्थराज खनिया र चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन डा. केशवप्रसाद सिंहलाई बर्खास्त गर्नुपर्ने मागमा सहमति नजुटेपछि वार्ता निष्कर्षविहीन भएको हो । डा. केसी उक्त दुई पदाधिकारीलाई बर्खास्त गर्नुपर्ने अडानबाट पछि नहट्ने र सरकारी टोलीले त्यस्तो निर्णय गर्न नसक्ने भएपछि वार्ता नै अनिीश्चत भएको छ । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगले १६ दिनदेखि अनशनरत डा. केसीको जीवन रक्षाका लागि सार्थक वार्ताबाट समस्याको समाधान गर्न सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले सोमबार प्रेस विज्ञप्ति जारी गरेर विरोधको स्वरूप जस्तोसुकै भए पनि डा केसीको स्वास्थ्योपचार जीवनको अधिकारसँग जोडिएकाले निजको जीवन रक्षाप्रति संवेदनशील हुन सरकारको ध्यानाकर्षण गराएकी हुन् । विज्ञप्तिमा डा केसीसँग वार्ता र संवादबाटै समस्याको समाधान खोज्न र यसप्रकारको घटना पुनरावृत्ति हुन नदिन सरकारलाई आग्रह गरिएको छ । पटक–पटकको अनशनका कारण केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको, मुटुको चाल घटबढ भएको, रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै गएको आयोगको अनुगमनका क्रममा बुझिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा सरकारी अस्पतालका भवन तथा उपचारका उपकरण जीर्ण बन्दै गएको, पिउने पानीको अभाव, फोहरको सही व्यवस्थापन नहँुदा अस्पताल क्षेत्रमा दुर्गन्ध फैलिने लगायतका समस्या देखिएको पनि उल्ल्ेख गरिएको छ । यसैगरी अस्पतालमा स्वच्छ पिउने पानी, खाना, शौचालय लगायतका भौतिक सामग्रीको उपलब्धता र गुणस्तरीय स्वास्थ्य सेवाको व्यवस्था गर्नसमेत आयोगले सरकारलाई आग्रह गरेको छ ।

Views: 107