21st May | 2018 | Monday | 9:56:15 AM

विधेयक संसदमा निर्णयार्थ पेश भएपनि पारित हुन सक्दैन : सचिव ज्ञवाली

  POSTED ON : Friday, 11 August, 2017 (5:36:06 PM)

विधेयक संसदमा निर्णयार्थ पेश भएपनि पारित हुन सक्दैन : सचिव ज्ञवाली

हिमालय टाइम्स काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले संविधान संशोधन विधेयक पारित नहुने दावी गरेका छन् । 

शुक्रबार सरकार र राष्ट्रिय जनता पार्टी, नेपालबीच संसदमा विचाराधिन संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने सहमति भएको विषयमा बोल्दै सचिव ज्ञवालीले भने ‘विधेयक संसदमा निर्णयार्थ पेश भएपनि पारित नहुने दावी हुन सक्दैन । ’

आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले संविधान संशोधन विधेयक निर्णयार्थ पेस गरे सत्तापक्ष र प्रतिपक्षबीचको दुरी झनै बढेर जाने चेतावनी समेत दिएका छन् ।

उनले भने,‘एमालेसँग परामर्श बिना सरकारले दाउपेचको विषय बनाएर बढ्नुले नयाँ संकट बढाउँदैछ ।’ एमालेले चासो राखेको गम्भीर विषयलाई समेत बेवास्ता गरेर विधयेक संसदमा प्रस्तुत गरिएको बताए । विधयेक पास भए जस लिने र फेल भए एमालेलाई दोष देखाउने रणनीति बनाइएको उनको भनाई थियो ।

एक अर्को प्रसंगमा सचिव ज्ञवालीले चिकित्सा क्षेत्रको विकृतिविरूद्ध डा.गोविन्द केसीले गरिरहेको अनशनको मनशाय गलत नभएको बताएका थिए । समस्याको तत्काल समाधान खोजिनुपर्ने तर चिकित्सा क्षेत्रमा लगानी गरेकाहरूलाई समेत अन्यायमा पार्न नहुने उनको भनाई थियो ।  उचित प्रकारको मध्यमार्गी बाटोबाट समाधान निकाल्नुपर्नेमा उनको जोड रहेको थियो ।