Date:2017/08/18 |Friday

नयाँ शक्तिले सोध्यो देवेन्द्र पौडेलसहित १५ जनालाई स्पष्टिकरण

Posted on: August 11, 2017 | views: 48 |

हिमालय टाइम्स काठमाडौं । नयाँ शक्ति पार्टीले संघीय परिषद् सदस्य देवेन्द्र पौडेलसहित अन्य १५ जनालाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

साउन २६ गते काठमाडौंको एउटा होटेलमा पार्टी संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनाले पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्य्दिशाका बारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको समाचार प्राप्त भएको उल्लेख गर्दै नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको पूर्णपाठ

१. नयाँ शक्ति पार्टी, नेपाल, देशमा एक वैकल्पिक वैचारिक, राजनीतिक कार्यक्रमसहित स्थापित अग्रगामी पार्टी हो । वाम–लोकतान्त्रिक मार्गबाट ‘समुन्नत समाजवाद’ हासिल गर्ने यसको प्रष्ट राजनीतिक उद्देश्य छ । ‘५ स’ का रुपमा यसले आफ्नो सिद्धान्त र नीति तथा कार्यक्रमलाई स्पष्ट गरेकै छ । पार्टी स्थापनाको एक वर्ष पूरा भएको सन्दर्भमा पार्टीको महाधिवेशनपछिको सर्वोच्च निकाय संघीय परिषदको तेस्रो बैठक (श्रावण ११–१३) सम्पन्न गरी यसले आफ्ना समसामयिक विचार, प्रस्ताव, कार्यनीति र कार्य्दिशा प्रष्ट गरेकै हो । यी सबै विषयमा व्यापक लोकतान्त्रिक छलफल र बहस पनि भएकै हो ।

२. तर मिति २०७४-४-२६ गते काठमाडौंको एउटा होटेलमा पार्टी संघीय परिषद सदस्य देवेन्द्र पौडेलसहित १५ जनाले पत्रकार सम्मेलन गरी पार्टीको विचार, नेतृत्व र कार्य्दिशाका बारेमा विभिन्न भ्रामक धारणा सार्वजनिक गरेको समाचार प्राप्त भएको छ । उहाँहरुले भरखरै सम्पन्न पार्टीको संघीय परिषद बैठकमा कुनै फरक धारणा दर्ज गराउनुभएको थिएन । बरु पार्टी संयोजकका तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनप्रति पूर्ण सहमति जनाउनुभएको कुरा बैठकमा उपस्थित सबै सहभागीहरुलाई विदितै भएको विषय हो । तेस्रो संघीय परिषद बैठकको भावना र निर्णयको प्रकाशमा प्रतिवेदनलाई परिमार्जन गर्ने, पार्टी कार्यनीति र कार्य्दिशालाई अझ प्रष्ट गर्ने, पार्टीको संगठनात्मक पुनर्गठन गर्ने आन्तरिक गृहकार्य भइरहेका वेला किन र कुन उद्देश्यले त्यस्तो पत्रकार सम्मेलन गर्नु परेको हो ? पार्टी्भित्रै आफ्ना कुरा भन्ने पूर्ण लोकतान्त्रिक अधिकार हुँदाहुँदै किन त्यस्तो गर्नु र्पयो ? गम्भीर प्रश्न उठेको छ ।

३. भरखरै सम्पन्न स्थानीय निर्वाचनमा पार्टीले राम्रो परिणाम ल्याउन नसकेको कुरा सही हो । त्यसो हुनुका खास कारणहरु थिए । देशका पुराना पार्टीहरुले निर्वाचन चिन्ह नदिनेदेखि लिएर अनेक प्रकारले षड्यन्त्र र घेरावन्दी गरेका थिए । त्यसका बाबजुद पार्टीले सम्पन्न दुबै चरणको निर्वाचनमा सहभागिता जनाई लोकतन्त्र र आवधिक निर्वाचनप्रतिको आफ्नो प्रतिबद्धता पुष्टि गरेको छ । राजनीति भनेको एक माघले जाडो जाने विषय हैन । एउटा चुनावले मात्र राजनीतिका सबै जटिलताहरुको उत्तर दिँदैन । विषम परिस्थितिमा सामना गर्नु परेको एउटा चुनावले मात्र पार्टीको भविष्य निर्धारण पनि गर्दैन । यो कुरा प्रष्ट हुँदा हुँदै अप्ठ्यारो परिस्थितिमा सत्तीसालझैं झनै दृढ भएर उभिनुपर्ने अवस्थामा पार्टी पंक्ति र जनसमुदायमा भ्रम पर्ने गरी उहाँहरुबाट भएका क्रियाकलापबाट पार्टी अत्यन्त गम्भीर बनेको छ । उहाँहरुका यस्ता अवाञ्छित क्रियाकलापबाट प्रभावित नहुन र अविचलित रही पार्टी उद्देश्य, कार्यक्रम र भावनाको रक्षा गर्न सम्पूर्ण पार्टी पंक्तिमा आव्हान गरिन्छ ।

४. पार्टी संस्थागत रुपमा नै अहिले पनि निरन्तर ध्रुवीकरणका पक्षमा छ । विभिन्न व्यक्तिरव्यक्तित्व, समूह र पार्टीहरुसँग नियमित संवाद तथा ध्रुवीकरणको प्रयास भइरहेकै छ । आगामी निर्वाचनको सामना कसरी गर्ने, कस्तो प्रकारको निर्वाचन समीकरण वा मोर्चाबन्दी गर्ने वा नगर्ने ? यसमा पनि पार्टीव्यापी रुपमा छलफल चलिरहेकै छ । यी सबै विषयमा गम्भीर छलफल गर्न र उपयुक्त निर्णयमा पुग्न पार्टी पंक्ति र नेतृत्व तयार छ । यी विषयलाई अतिरञ्जित गरी कसैले कुनै अतिरिक्त चिन्ता लिइरहनु पर्ने अवस्था छैन । तर कसैसँग पार्टी एकता र ध्रुवीकरणका नाममा पार्टीले आफ्नो स्थापनाकालीन लक्ष्य र उद्देश्य, आफ्ना घोषित विचार, नीति, सिद्धान्त र कार्यक्रमहरु परित्याग गर्न सक्दैन । त्यो गर्नु वाञ्छित पनि हुँदैन ।

५. उपरोक्त कारणले गर्दा उहाँहरुको राजनीतिक उद्देश्य र नियतप्रति पार्टीलाई गम्भीर आशंका उत्पन्न भएको छ । उहाँहरुले चाहेको के हो २४ घण्टाभित्र प्रष्ट गर्न स्पष्टीकरणपत्र समेत पठाइएको छ । पार्टी र उहाँहरुको बुझाइबीच कुनै जोडकोणको भिन्नता रहेछ भने छलफल गर्न सकिन्छ । अन्यथा पार्टीको वैकल्पिक राजनीतिक चरित्र र पार्टी्हित विपरित हुने कुनै क्यारियरिष्ट तथा अवसरवादी सोंचलाई पार्टीले सहन गर्न सक्ने छैन । सबैखाले व्यवधान र षड्यन्त्रपूर्ण हर्कतलाई परास्त गर्दै नयाँ शक्ति पार्टी आफ्नो घोषित उद्देश्यमा अविचलित रुपमा अघि बढिरहनेछ ।

 

–––––––––––––––––––––––

(डा. बाबुराम भट्टराई)

संयोजक

नयाँ शक्ति पार्टी, नेपाल


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं