Date:2017/10/23 |Monday

राप्रपा सर्वोच्च गुहार्ने तयारीमा

Posted on: August 12, 2017 | views: 53 | गंगा बराल

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी विभाजनपछि देखिएको विवादमा निर्वाचन आयोगको भूमिकामा प्रश्न उब्जिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । राप्रपाका प्रवक्ता भुवन पाठकले निर्वाचन आयोगको भूमिकाबारे प्रश्न उब्जिएकोले अदालत जाने तयारी भएको बताए । 

‘(निर्वाचन) आयोग पनि पशुपतिशमशेर राणाको प्रभावमा परेको छ, ऐन–नियम र कानुनविपरीत जाने छुट कसैलाई पनि छैन’, पाठकले भने, ‘अझै पनि आयोगबाट नाम थप्ने र हस्ताक्षर गराउने काम भइरहेको छ, यो प्रक्रिया गलत छ, त्यसकै विरोधस्वरूप अदालत जाने हो ।’

विभाजनको दाबीसहित दल दर्ता गर्ने भनिएको राप्रपा (प्रजातान्त्रिक) मा ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर नपुग्ने पाठकको दाबी छ । ‘उहाँहरूसँग ६४ जनाको नाम भए पनि तीमध्ये ७ जना केन्द्रीय सदस्य नै छैनन्, अरू केहीको हस्ताक्षर कीर्ते हो’, पाठकले भने, ‘संख्या त पुग्ने सम्भावना नै छैन, केही नेताहरू फेरि राप्रपामै फर्किसकेका छन् ।’

राप्रपा प्रजातान्त्रिकका नेता किरण गिरीले पार्टी दर्ता हुने बताए । ‘सबै प्रक्रिया भइसकेको छ, केही दिनमै मान्यता पाउला’, गिरीले भने, ‘४० प्रतिशतको लागि ६३ जना चाहिने हो, ६५ जनाको हस्ताक्षर सनाखत भइसकेको छ ।’

गिरीले १५ दिनसम्म नाम थप्न सकिने सुविधा भएको बताए । उनले आफूहरूको पक्षमा पार्टीका २० जना सांसदको हस्ताक्षर भएको दाबीसमेत गरे । दल विभाजनका लागि ४० प्रतिशत सांसद हुनुपर्ने संसदीय नियमअनुसार राप्रपाका १५ सांसद भए अर्को पक्षले मान्यता पाउँछ । पार्टी एकीकरणपछि राप्रपामा ३७ सांसद रहेकोमा पार्टी विभाजन गराएको समूहसँग ४० प्रतिशतभन्दा बढी रहेको दाबी गरिएको छ । विभाजनका लागि केन्द्रीय समतिको पनि ४० प्रतिशत पुग्नुपर्छ । 

गिरीले राणालाई निर्वाचन आयोगले आइतबार (साउन २९ गते) सम्म आवश्यक परामर्श, छलफल वा सनाखत गर्न सक्ने बताए । 

राप्रपा प्रवक्ता पाठकले निर्वाचन आयोगले नियमविपरीत निर्णय गरेको आरोप लगाए । 

नयाँ दल राप्रपा प्रजातान्त्रिकका नेता रेशम लामाले पार्टी दर्ताको प्रक्रिया अघि बढिरहेको बताए । ‘पार्टी दर्ता हुन्छ, त्यसमा समस्या छैन’, लामाले भने ‘अरू कसले के भन्छ भन्नेसँग सम्बन्ध भएन, अब कोही पनि फर्केर फेरि पुरानो पार्टीमा जाने सम्भावना छैन ।’

राप्रपा अध्यक्ष कमल थापाले त पार्टी फुटाउन देशी विदेशी सबै शक्ति लागेको भनेर केन्द्रीय समिति बैठकबाटै निर्णय गराइसकेका छन् । उनले पार्टी फुटाउन र राप्रपा प्रजातान्त्रिकलाई मान्यता दिलाउन सत्तारुढ दलका शीर्ष नेता नै लागिपरेको आरोपसमेत लगाएका छन् । को को लागेका छन् भनेर उनले किटान भने गरेका छैनन् । 

थापाले पार्टी विभाजनको दिन नै हस्ताक्षर नक्कली भएको भन्ने प्रतिक्रिया सामाजिक सञ्जालमा जनाइसकेका छन् । 

राणा समूहले गत आइतबार १९ सांसदसहित ७२ जना केन्द्रीय सदस्यको नाम र हस्ताक्षर बुझाएर राप्रपा प्रजातान्त्रिक नामको छुट्टै पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दर्ता गराएको थियो । राप्रपामा हाल १ सय ५६ केन्द्रीय सदस्य छन् । कुल १ सय ६५ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ । तीमध्ये ७ जना विभिन्न कारणबस सो पदमा नरहेको पार्टी प्रवक्ता पाठकले जनाए । 

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३३ को उपदफा (२) अनुसार नयाँ दलले मान्यता पाउन निर्वाचन आयोगमा ४० प्रतिशत केन्द्रीय सदस्य र ४० प्रतिशत नै संसदीय दलका सदस्य आवश्यक पर्छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं