Date:2017/08/18 |Friday

राजपासँगको सहमतिले मेरो मिसन सफल भएको छः प्रचण्ड

Posted on: August 13, 2017 | views: 19 |

हिमालय टाइम्स
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनता पार्टीसँग भएको सहमतिले आफ्नो मिसन र मेहेनत सफल भएको बताएका छन् ।
माओवादीका दिवङ्गत नेता रामवृक्ष यादवको स्मृतिमा आयोजित कार्यक्रममा प्रचण्डले मधेसी दलहरुलाई चुनावमा ल्याउने आफ्नो मिसन सफल भएको बताएका हुन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, ‘एकथरि मान्छे र शक्तिहरु मधेस र पहाडका बीच द्वन्द्व बढाउने, भीडन्त गराउने र त्यसको राजनीतिक फाइदा लिने षड्यन्त्रमा थिए । मधेसी दललाई चुनावभन्दा बाहिरै राखेर परिस्थितिलाई भड्काउने उनीहरुको षड्यन्त्र असफल भएको छ । हिमाल, पहाड र तराई–मधेशलाई जोड्न, मधेस केन्द्रीत दललाई संविधानको दायरामा ल्याउन र चुनावमा लैजान मैले निरन्तर कोशिस गरें । हिजो मात्रै बालुवाटारमा नयाँ सहमति भएको छ, यसबाट मेरो मिसन र मेहेनत सफल भएको छ ।’
अध्यक्ष प्रचण्डले माओवादी प्रगतिशील राष्ट्रवाद र राष्ट्रिय एकताको पक्षमा रहेको बताए । उनले भने, ‘देशमा दुईखाले अतिवाद छन् । एउटा अतिवादले पहाडको मात्र कुरा गर्छ र मधेशमाथि अत्याचार गर्छ । अर्को अतिवादले मधेशलाई छुट्टै देश ठान्छ र पहाडलाई बदलाको भावनाले हेर्छ । यी दुवै घातक नश्लीय चिन्तन हुन् । यसले अन्ततः निरङ्कुशता हुँदै फासीवादमा लैजान्छ । हामी यी दुवै अतिवादबाट सतर्क हुनुपर्छ ।’
आफूले राष्ट्रिय एकता र सबैको समान अधिकारको कुरा गर्दा लम्पसारवादको आरोप खेप्नुपरेको प्रचण्डले बताए। उनले भने ‘सामन्तहरुले मधेस होस् वा पहाड, उत्पीडित र गरीबहरुमाथि अत्याचार गर्दै आएका छन् । हामी सबै खाले उत्पीडन, अहङ्कारको विरुद्ध र न्यायको पक्षमा छौं । देशका गरीब, किसान, मजदुर, जनजाति, महिला, मुस्लिम, दलित, मधेशीलाई हेप्ने, बिखण्डन गर्न खोज्नेहरु राष्ट्रवादी हुने अनि हिमाल, पहाड र तराई–मधेश जोड्ने र राष्ट्रिय एकता चाहने र त्यसका लागि लड्ने हामी चाहिँ लम्पसारवादी ? यो अतिवादको भण्डाफोर जरुरी छ।’


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं