18th February | 2018 | Sunday | 4:26:32 PM

संसददेखि स्थानीय तहसम्म महिलालाई अवसर छ : राष्ट्रपति भण्डारी

  POSTED ON : Tuesday, 22 August, 2017 (8:10:02 PM)

संसददेखि स्थानीय तहसम्म महिलालाई अवसर छ : राष्ट्रपति भण्डारी

भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्देखि स्थानीय तहसम्म अहिले महिलालाई अवसर आएको बताएकी छिन् । 

आज सूर्य्विनायक नगरपालिका–८ सिपाडोलस्थित केदारनाथको शिर डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिले आयोजना गरेको श्रावणी मेलाको समापन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, “महिलालाई अवसर आएको छ । संसद्देखि स्थानीय तहसम्म जनप्रतिनिधि भएर काम गर्ने अवसर पाउनु नेपाली महिलाका लागि सामाजिक अवसर नै हो ।” 

प्राचीन कालदेखि नै जीवन र जगत् चल्न महिला र पुरुषको समान भूमिका रहेको चर्चा गर्दै उनले भनिन्, “धर्मशास्त्रमा पनि पहिला महिला अर्थात् लक्ष्मीको नाम आउँछ । त्यसैगरी अहिले महिलालाई पनि अवसर आएको छ ।” 

महिलालाई आएको यो अवसरको सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो । सबै मिलेर अगाडि बढे देश विकास टाढा नभएको पनि उनले उल्लेख गरिन । उनले भनिन्, “कहीँ कतै ठाउँ पाइएन भनेर चित्त दुखाउनुपर्ने छ जस्तो लाग्दैन । फराकिलो चित्त पारेर अगाडि बढे समाज अगाडि बढ्छ ।” 

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण गर्दा मौलिक स्वरुपको जगेर्नामा ध्यान दिनुपर्नेमा पनि राष्ट्रपति भण्डारीले सचेत गराइन् । उनले मन्दिरमा प्रवेश गरेर पूजा एवं दर्शन गरेकी थिइन् । 

समितिका अध्यक्ष विदुरमानसिंह बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रपति भण्डारीले मन्दिर पुनःनिर्माणका लागि पाँच करोड आर्थिक सहयोगको प्रतिबद्धता जनाई रु एक करोड ५० लाख सहयोग गर्ने दाता कृष्णगोपाल श्रेष्ठ, मन्दिरका संरक्षक भरतमणि जंगम, इञ्जिनियर कुमार उप्रेती, संस्थापक अध्यक्ष बालहरि चालिसे र एभिन्यूज टेलिभिजनलाई सम्मान गरेका थिए । रासस