Date:2017/11/23 |Thursday

सबैभन्दा ठूलो मन्त्रिमण्डल

Posted on: September 11, 2017 | views: 68 | हीरालाल विश्वकर्मा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौँपटक विस्तार गरेर आफ्नो सरकार इतिहासकै सबैभन्दा ठूलो बनाएका छन् । उनले राप्रपा (प्रजातान्त्रिक)का तीन जनालाई समेटेर मन्त्रिपरिषद् विस्तारको निर्णय गरेसँगै उनको जम्बो मन्त्रीमण्डलको पुरानो रेकर्ड आफैले तोडेका छन् । 

राप्रपा (प्रजातान्त्रिक)बाट दीपक बोहोरा विज्ञान तथा प्रविधि, विक्रम पाण्डे वन मन्त्रालय र सुनिल थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

योसँगै विस्तारित मन्त्रिमण्डल ५३ सदस्यीय भएकोछ । प्रधानमन्त्री र तीन उपप्रधानमन्त्रीहित ३० मन्त्री र राज्यमन्त्री २३ जना भएका छन् ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका प्रधानमन्त्री देउवाले जेठ २४ गते आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । गत जेठ २८, असार २, साउन ११ र भदौ ४ गते गरी मन्त्रिमण्डल चारपटक विस्तार भइसकेको छ । देउवाले दलीय भागबण्डा गर्दै पाँचौपटक मन्त्रिमण्डल विस्तारको निर्णय गरेका हुन् । 

यसअघि आइतबारै बसेको राप्रपा (प्रजातान्त्रिक) संसदीय दलको बैठकले दलको नेतामा दीपक बोहरा र उपनेतामा विक्रम पाण्डेलाई सर्वसम्मतिबाट चयन गरेको थियो । संसद्मा उक्त पार्टीका १८ सांसद छन् । मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सहयोग गर्ने र आसन्न तेस्रो चरणको स्थानीय तह, प्रादेशिक र केन्द्रीय निर्वाचनको कार्यक्रम पूरा गर्ने उद्देश्यले पार्टी सरकारमा सहभागी हुन लागेको पार्टी अध्यक्ष पशुपतिशम्शेर जबराले जानकारी गराएका थिए । 

राप्रपाबाट वैचारिक असहमति राख्दै गत साउन २२ गते निर्वाचन आयोगमा दल दर्ता गरेको उक्त पार्टीले करिब दुई साता अगाडि दलको मान्यता पाएको थियो । यसअघि चार मन्त्रालय आफूसँगै राखेका प्रधानमन्त्री देउवासँग अझैपनि शान्ति तथा पुनर्निर्माण मन्त्रालय रहेको छ ।

सरकारमा अहिले प्रधानमन्त्रीसम्बद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल लोकतान्त्रिक फोरमसहितका दल सहभागी छन् । 

देउवाले २०५२ मा २०५ जना सांसद हुँदा ४८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर ठूलो मन्त्रिपरिषद् बनाएका थिए । उक्त रेकर्ड तोड्दै डा. बाबुराम भट्टराईले गणतन्त्रपछि ४९ सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए । नयाँ संविधानले अबको संसदीय चुनावपछि बन्ने केन्द्रीय सरकार २५ सदस्यीय भन्दा ठूलो बनाउन नपाइने व्यवस्था गरेको छ ।  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं