Date:2017/11/23 |Thursday

कोसी उच्चबाँध निर्माणमा देउवाको अभिव्यक्ति प्रति प्रचण्डको असहमति

Posted on: September 13, 2017 | views: 87 |

हिमालय टाइम्स । कोसी उच्चबाँध निर्माण गर्ने भारतसँग सहमति भएको भन्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइप्रति सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन् । 

दुई नम्बर प्रदेश अन्तर्गत हुन गइरहेको निर्वाचनलाई अक्ष्यक्ष प्रचण्डले बुधबार सप्तरीको सदरमुकाम राजविराजमा पत्रकारहरुसँग कुरा गर्दै कोसी उच्चबाँधको विषय बिनाअध्ययन सहमति जनाउन उचित नहुने बताए । उनले भने, ‘कोसी हाइड्याम नेपालीको हितमा छ, छैन, त्यसबारे विस्तृत अध्ययनपछि मात्रै सरकारले कदम अगाडि बढाउँदा उचित हुन्छ ।’

सप्तरी जिल्लाको विकासका लागि एउटा राम्रो प्याकेज बनाइरहेको समेत उनले बताए । राजविराजमा आफ्नो पार्टी जिते पुरै तागत लगाएर विकसित र राम्रो शहर बनाउने बताउँदै उनले भने, ‘प्लानिङ गरेर बनाइएको राजविराज शहर अहिले धेरै नै पछि परेको छ । यसलाई सुन्दर र नमूना बनाउन सकिन्छ ।’

बाढी आएपछि आफू नै पहिलो पटक सप्तरी आएको बताउँदै उनले राहत वितरण गरेर मात्र सरकारले आराम गर्न नपाउने बताए । ‘पुनःस्थापनाको प्याकेज जरुरी छ,’ उनले भने ।  यसबारेमा प्रधानमन्त्रीसँग कुरा गरिसकेको उनले बताए । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं