Date:2017/10/20 |Friday

तीन दिनभित्र हत्यारा पत्ता लगाउँछौं : प्रधानमन्त्री

Posted on: October 11, 2017 | views: 22 |

हिमालय टाइम्स

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्नलाई दुई/तीन दिनभित्रै कानुनी दायरामा ल्याउने बताएका छन् । महासंघका महासचिव रामशरण देउजाको नेतृत्वमा मंगलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेको प्रतिनिधिमण्डलसँग उनले हत्यारा पत्ता लगाइछाड्ने प्रतिबद्धतासमेत जनाए । 

‘प्रधानमन्त्रीले दोषीलाई छिट्टै कानुनी दायरामा ल्याउने बताउनुभएको छ,’ देउजाले प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘निर्माण व्यवसायीको सुरक्षा दिन सरकार तयार रहेकाले हतोत्साहित नहुन पनि व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह थियो ।’ महासंघ पदाधिकारीहरूले प्रधानमन्त्री देउवासमक्ष हत्यारा पत्ता लगाउन सरकारले गरिरहेको काम कारबाहीका बारेमा चासो राखेका थिए । जवाफमा प्रधानमन्त्री देउवाले गौचन हत्यापछिको घटनालाई आफूले नजिकैबाट अवलोकन गरिरहेको र दोषी पक्राउ गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको बताए । 

अन्य व्यवसायीहरूलाई पनि धम्की आइरहेको सन्दर्भमा प्रधानमन्त्री देउवाले व्यवसायीहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए । देउजाले पटक पटक अज्ञात नम्बरबाट फोन गरेर व्यवसायीलाई धम्क्याउने काम अहिले पनि भइरहेको जानकारी गराएपछि प्रधानमन्त्रीले सुरक्षा निकायलाई व्यवसायीको सुरक्षाका लागि निर्देशन दिने जनाएका थिए । 

प्रतिनिधिमण्डलले गौचनलाई शहीद घोषणा गर्न, हत्यारालाई तत्काल खोजी कारबाही गर्न र निर्माण व्यवसायीको सुरक्षाको प्रत्याभूति दिन माग गरेका थिए । अध्यक्ष गौचनको हत्याका साथै अन्य पदाधिकारीलाई विभिन्न फोन नम्बरबाट धम्की दिने प्रवृत्तिले असुरक्षा भएको भन्दै प्रधानमन्त्रीसमक्ष सुरक्षा प्रबन्ध मिलाउन महासंघको अनुरोध थियो । 

यसअघि गौचन हत्याको विषयमा मंगलबार नै गृहमन्त्रीलाई भेटी हत्यारा पक्राउ गर्न आग्रह गरिएको जानकारी देउजाले दिए । तर सरकारले भने अहिलेसम्म हत्याराको सुइँकोसम्म पाउन सकेको छैन । देउजाले विभिन्न जिल्लाका साना व्यवसायीको सुरक्षा खतरा पनि बढेको बताएका छन् ।

महासंघका मानार्थ सदस्यका हैसियतले वनमन्त्री विक्रम पाण्डेले पनि हत्यारा पक्राउ गर्न सरकार सक्रिय रहेको बताएका छन् । उनी अनामनगरस्थित केन्द्रीय कार्यालय पुगेर व्यवसायीलाई राजधानीका विभिन्न ठाउँबाट शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानलाई तीव्र पारिएको बताएका थिए । 

यसअघि महासंघ मुख्यालयबाट कालोपट्टी लगाएर जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मालाई भेटी ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा गौचनहत्यामा संलग्नलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न, गौचनलाई शहीद घोषणा गर्न, व्यवसायीहरूलाई सुरक्षाको पूर्ण प्रत्याभूति दिन माग गरिएको छ । जवाफमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले गौचनको हत्यामा संलग्नलाई पक्राउ गर्न प्रशासन गम्भीर भएर लागिरहेको बताए । 

महासंघले आफ्नो विरोध कार्यक्रमलाई बुधबार पनि निरन्तरता दिने भएको छ । विरोधका कार्यक्रमअन्तर्गत बुधबार बिहान ९ देखि १० बजेसम्म माइतीघर मण्डलामा महासंघले धर्ना दिने भएको छ । महासंघले बिहीबार राजधानीको माइतीघर मण्डला, थापाथली पुल, कोटेश्वर चोकमा एक घण्टा धर्ना दिने भएको छ । 

तीनदिन निर्माण काम बन्द 

गृहमन्त्रालयद्वारा ठोस कदम नचालिएसम्म गौचनको शव नबुझ्ने अडान निर्माण व्यवसायीले लिएका छन् । यसका साथै बुधबारदेखि ३ दिनसम्म देशका सम्पूर्ण निर्माणका काम बन्द गर्ने कार्यक्रम निर्माण व्यवसायी महासंघले सार्वजनिक गरेको छ । एक दिन शोकका लागि र बाँकी दुई दिन विरोधस्वरूप निर्माणसँग सम्बन्धित कुनै पनि प्रक्रिया अगाडि नबढाइने महासचिव देउजाले बताए । गौचनको शवलाई पोस्टमार्टमका लागि राखिएको शिक्षण अस्पताल महाराजगन्ज परिसरमा पनि मंगलबार विरोध प्रदर्शन गरिएको थियो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं