Date:2017/12/17 |Sunday

कार्यस्थलमा मानसिक स्वास्थ्य र हाम्रो दायित्व

Posted on: October 11, 2017 | views: 54 | गोपाल ढकाल

मानसिक स्वास्थ्यका विषयमा जनचेतना फैलाउने, यस क्षेत्रमा भएका समस्या, चुनौती एवं उपलब्धिका विषयमा छलफल तथा पैरवी गर्नेजस्ता विविध उद्देश्यका साथ प्रत्येक वर्षको अक्टोबर १० तारिखका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदै आइरहेको छ । विश्व मानसिक स्वास्थ्य संघको अगुवाइमा सन् १९९२ देखि विश्वभरि नै यो दिवस मनाउन थालिएको हो । यो वर्षको विश्व मानसिक दिवसको नारा ‘कार्यस्थलमा मानसिक स्वास्थ्य’ भनी तय गरिएको थियो । यसरी यो वर्ष पनि विश्व मानसिक दिवस मनाइएको छ ।

हामी सबैले दैनिक ८–१० घण्टा तथा आफ्नो जीवनको ठूलो हिस्सा कृषि, उद्योग, वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य संस्था, प्रहरी प्रशासन, सुरक्षा निकाय, कलकारखाना, सरकारी तथा गैर सरकारी संघ संस्था आदि जस्ता कार्यस्थलमा काम गरेर बिताउने गर्दछौं । कार्यस्थलको वातावरणले त्यहाँ काम गर्ने व्यक्तिको शारीरिक एवं मानसिक स्वास्थ्यमा असर पारिरहेको हुन्छ । तर पनि यस विषयमा त्यति ध्यान दिइएको पाइँदैन । त्यसो त अझै पनि हाम्रो समाजमा मानसिक स्वास्थ्यप्रति व्यक्तिको बुझाइ, धारणा, सोच अझै सकारात्मक हुन सकेको छैन । मानसिक स्वास्थ्यलाई कलंकको रूपमा हेरिन्छ । मानसिक स्वास्थ्य समस्यालाई लुकाउने, भन्न नखोज्ने, उपचारको खोजी गर्न डराउने, अप्ठारो मान्ने गरेको पाइन्छ । आफ्नो समस्या भनिदिँदा सहयोग पाउनुको सट्टा साथीभाइ, सहकर्मीबाट अपमानित भएको, आफ्नो कामबाट हात धुनु परेका उदाहरण पनि प्रशस्तै भेटिन्छन् । 

कामदार, कर्मचारी, मजदुरको मानसिक स्वास्थ्य सबल नहुँदा उनीहरूको काम गर्ने क्षमतामा कमी आउने, काम गर्न मन नलाग्ने, बिदामा मात्र बस्न खोज्ने वा जागिर छोड्ने, अनुपस्थित रहने, दुर्घटनामा पर्ने, जाँड रक्सीको कुलतमा फस्ने, रिसाउने, झगडालु हुने, सेवाग्राहीसँग राम्रो व्यवहार नगर्ने, झर्कने जस्ता लक्षण देखाउने गर्दछन् ।

हाम्रो समाजमा कतिपय कामलाई त्यति धेरै सम्मान गरेको पाइँदैन । उसले गर्ने काम र उसको तहका आधारमा व्यक्तिलाई हेर्ने दृष्टिकोण फरकफरक हुन्छ । सानो जात ठूलो जात भनेर उसले गर्ने कामकै आधारमा जातको समेत वर्गीकरण गरिएको छ । लुगा सिउने, जुत्ता सिउने, फलामको काम गर्नेजस्ता व्यक्तिहरूलाई अछूतको व्यवहार गरिन्छ । यस्तो व्यवहारले पक्कै पनि उनीहरूको आत्मसम्मानमा चोट पुग्छ । काममा तनाव र निराशा बढाउँछ । यसले गर्दा उनीहरूको मानसिक स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गर्छ । 


कार्यस्थलमा मानसिक समस्या 

विश्व मानिसक स्वास्थ्य संघका अनुसार कलकारखाना तथा विभिन्न कार्यालयहरूमा काम गर्ने व्यक्तिहरूमा पाँचजनामध्ये एक जनालाई कुनै न कुनै मानसिक समस्या हुने गरेको पाइएको छ । रोजगारीमा रहेका धेरै व्यक्तिलाई हुने मानसिक स्वास्थ्य समस्या भनेको तनाव, एन्जाइटी र उदासिनता नै हो । तर पनि कामदारमा देखिएको मानसिक समस्याको उपचार ५० प्रतिशत मात्र पाउने गरेको देखिन्छ । 

कार्यस्थलमा मानसिक तनाव बढ्नु तथा मानसिक स्वास्थ्य समस्या देखा पर्नुका पछाडि धेरै कारक तŒवहरू हुन सक्छन् । कार्यस्थलमा हुने बुलिङ र हेरेस्मेन्ट, हाकिम तथा व्यवस्थापनले गर्ने व्यवहार, कामको प्रकृति, महिला र पुरुषबीच एउटै कामको ज्यालामा गरिने असमानता, कार्य सम्पादनमा मात्र जोड दिनु, महिला कर्मचारीप्रति गरिने यौन शोषण, आर्थिक शोषण, सेवा सुविधामा कमी, कामप्रतिको उत्प्रेरणा नहुनु, नयाँ प्रविधिको प्रयोग नहुनु, तलबले आफ्नो आधारभूत आवश्यकता पूरा नहुनु, मनोरञ्जनको अभाव, कामको अनुभव नहुनु, कामबाट कहिले निकाल्ने हो सोको ग्यारेन्टी नहुनु, आफ्नो रुचिभन्दा बाहिरको काम गर्न बाध्य हुनु, व्यक्तित्व विकासको अवसर नपाउनु, बिदा नपाउनु, आप्mनो क्षमताभन्दा बढी र कठिन काम गर्न बाध्य हुनु, काम गर्ने कार्यस्थल सफा, स्वस्थ नभई धुवाँ, धुलो र कोलाहलपूर्ण हुनु, ठूलो पद, सानो पद भनेर भेदभाव गर्नु, निरुत्साहित बनाउनु, प्रमोसन नहुनु, चाकडी तथा चाप्लुसी प्रथा, नातावाद कृपावाद आदि जस्ता कारणले व्यक्तिको मानसिक स्वास्थ्यमा असर पु¥याउने गर्छ । 

नेपालको परिप्रेक्ष्यमा पनि कार्यस्थलमा हुने यस्ता बाधा, अवरोध र कठिनाइले धेरै व्यक्तिको मानसिक स्वास्थ्यमा असर र प्रभाव पारेको अनुमान गर्न सकिन्छ । एउटा भनाइ नै छ ः “सरकारी काम कहिले जाला घाम” । यस भनाइले सरकारी कर्मचारीहरूमा काम गर्ने जोश, जाँगर र उत्प्रेरणा कम भएको देखाउँछ । सरकारी कर्मचारीले तुरुन्त काम नगरिदिएको, राम्रोसँग नबोलेको, रुखो व्यवहार गरेको, पैसा खान खोजेको जस्ता आरोप उनीहरूमाथि नलाग्ने गरेको पनि होइन । हामी धेरैले गरेको तितो अनुभव हो यो । 

मिडिया हाउसहरूले श्रमजीवी पत्रकारलाई न्यूनतम परिश्रमिक नदिएको, हस्पिटल÷स्वास्थ्य संस्थाहरूले नर्सहरूलाई पारिश्रमिक नदिई काममा लगाएको, सलुट नहान्दा हाकिमले सिपाहीलाई निर्घात कुटपिट गरेको, सिपाहीलाई हाकिमले जुत्ताको तुना बाँध्न लागाएको, घरेलु बालश्रमिक तथा घरेलु महिला कामदरमाथि यौन तथा शारीरिक हिंसा, विभिन्न संस्थाहरूभित्र हुने यौन शोषण, जागिर लगाइदिने भन्दै गरेको यौन शोषण आदिजस्ता समाचार बारम्बार सुन्नमा आइएको छ । यस कुराले कार्यस्थलहरूमा हुने मानसिक समस्यालाई सहजै अनुभव गर्न सकिन्छ । 

वैदेशिक रोजगारीमा गएका नेपालीहरू मानसिक समस्याबाट झनै बढी प्रभावित हुने गरेका छन् । कामको प्रकृति, साहुको दुव्र्यवहार, मानसिक टर्चर, शारीरिक एवं यौन शोषण, कार्यस्थलको वातावरण जस्ता कारणबाट कामदारहरू मानसिक समस्यामा पर्ने, आत्महत्या गर्ने, दुर्घटनामा पर्ने देखिएको छ । यसै कारण पनि केही समयपछाडि नै उनीहरू नेपाल फर्कन बाध्य हुने गरेको पनि पाइएको छ । वैदेशिक रोजगारीमा गएर नेपाल फर्केका महिलामा गरिएको एक अध्ययनअनुसार झण्डै ६८ प्रतिशत महिलामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या भएको पाइएको छ । 

कुनै पनि संस्था वा उद्योगमा कार्यरत कर्मचारी र कामदार मजदुरहरूको मानसिक स्वास्थ्य स्थिति स्वस्थ, सबल र मजबुत भए मात्र उनीहरूले राम्रोसँग काम गर्न सक्छन् । यसले कामको उत्पादकत्वमा समेत वृद्धि गर्छ । तर उनीहरू मानसिकरूपमा स्वस्थ्य नहुँदा उनीहरूको कार्य क्षमतामा कमी आउँछ । जसले गर्दा उत्पादन लागतसमेत बढ्न जान्छ । 

डिप्रेसन, तनावलगायतका मानसिक समस्याका कारण मजदुर, कर्मचारीको कार्यक्षमतामा कमी आई प्रत्येक वर्ष एक मिलियन अमेरिकी डलरबराबरको उत्पादनमा ह्रास आउने गरेको एक अध्ययनले देखाएको छ । यसैगरी मानसिक स्वास्थ्यमा एक अमेरिकी डलरबराबरको लगानीले चार अमेरिकी डलरबराबरको प्रतिफल दिन सक्ने पनि अर्को एक अध्ययनले देखाएको छ । यस कारण मानसिक स्वास्थ्यमा लगानी गर्नु, आफ्नो कर्मचारी, कामदारको मानसिक स्वास्थ्य अवस्थाको ख्याल गर्नु, मानसिक स्वास्थ्य समस्या देखिएमा बेलैमा उपचारको पहल गर्नु, उपचारको खोजी गर्न, उत्प्रेरित गर्नु यसलाई सबैको चासो र सरोकारको विषय बनाउनु आवश्यक छ । 

मजदुर÷कर्मचारीहरू खुसी, सन्तुष्ट र मानसिकरूपमा स्वस्थ भए मात्र राम्रोसँग काम गर्न सक्छन् र काममा (उत्पादनमा) पनि राम्रो परिणाम आउँछ । कुनै पनि कम्पनी वा कार्यालयहरूले आफूले गरेको प्रगतिको पछाडि आफ्ना कामदार र कर्मचारीहरूको ठूलो हात हुन्छ भन्ने कुरालाई बिर्सनु हुँदैछ । 

कार्यस्थलको मानसिक स्वास्थ्यमा सुधार ल्याउनका लागि व्यवस्थापक, हाकिम तथा साहु, मानसिक स्वास्थ्यकर्मी, पैरवीकर्ता, स्वयं कामदार, सरोकारवाला, समाज र राष्ट्र सबैको त्यति नै ठूलो भूमिका हुन्छ । कर्मचारी÷कामदार र व्यवस्थापकबीचको सम्बन्धलाई सुमधुर बनाएर पारिवारिक वातावरण सृजना गर्ने, निर्णय प्रक्रियामा कर्मचारी, मजदुरहरूलाई समेत सहभागी गराउने, सबैको कामलाई उत्तिकै महŒव र सम्मान गर्ने, स्वास्थ्य बिमाको व्यवस्था गर्ने, बेलाबेलामा कर्मचारीहरूलाई सम्मान र पुरस्कृत गर्ने, प्रमोसन गर्ने, उनीहरूको व्यक्तित्व विकासका तालिमहरू सञ्चालन गर्ने, भ्रमण तथा पिकनिक लैजाने, तनाव व्यवस्थापनको तालिम दिने, आवश्यकता अनुसार सेवा सुविधा बढाउने, प्रविधिको प्रयोग गरेर कामको बोझलाई घटाउने आदि कार्य गरेर मजदुर, कर्मचारीको तनाव घटाउन सकिन्छ । यसरी नै उनीहरूको मानसिक स्वास्थ्य अवस्थामा सुधार ल्याउन सकिन्छ । 

(लेखक मनोविद् हुन् ।)


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं