Date:2017/10/20 |Friday

डा केसीको अनशन–दुवै पक्षबाट वार्ताटोली गठन

Posted on: October 12, 2017 | views: 40 |

हिमालय टाइम्स

काठमाडौं । अनशनरत प्राडा गोविन्द केसीसँग वार्ताका लागि सरकारले टोली गठन गरेको छ । चिकित्सा क्षेत्र सुधारको माग राख्दै १३ औँपटक अनशनमा रहेका केसीको माग सम्बोधन गर्नका लागि बुधबार प्रधानमन्त्री कार्यालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायको संयोजकत्वमा निमित्त शिक्षा सचिव डिल्ली रिमाल र स्वास्थ्यसचिव डा. किरण रेग्मी सम्मिलित वार्ता टोली गठन गरिएको हो । 

मागबारे सरकार गम्भीर नभएको आरोप लगाउँदै आएको केसी पक्षले पनि बुधबारै वार्ता समिति गठन गरेको छ । प्राडा वाइपी सिंहको संयोजकत्वमा गठित वार्ताटोलीमा डा जीवन क्षेत्री र अभिषेक सिंह छन् । गत बिहीबारदेखि १३औँ पटक अनशन बसेका डा केसीको अनशन सातौँ दिन पुगेपछि सरकारले वार्ता समिति गठन गरेको हो । 

माग सम्बोधनका लागि दुवै पक्षबीच अनौपचारिक छलफल गरिरहेको र चाँडै नै औपचारिक वार्तामा बस्ने तयारी भएको केसीका वार्ताटोली सदस्य डा जीवन क्षेत्रीले जानकारी दिए । ‘मागबारे हामी अनौपचारिक वार्तामै छौँ,’ उनले हिमालय टाइम्ससँग भने, ‘आन्तरिक तयारीपछि चाँडै औपचारिक वार्ता हुन्छ ।’

माथेमा आयोगको प्रतिवेदनअनुसार चिकित्सा शिक्षा ऐन बन्नुपर्ने, काठमाडौं विश्वविद्यालयले आफूखुशी तोकेको शुल्क सीमा फिर्ता हुनुपर्नेलगायत माग राख्दै डा केसी १३ औँ पटक अनशन बसेका हुन् । मंगलबार डा केसी पक्ष, कानुन मन्त्रालयका प्रतिनिधि र शिक्षामन्त्रीबीच चिकित्सा शिक्षा विधेयकबारे भएको छलफलमा केही परिमार्जनसहित उक्त विधेयक संसद्बाट पारित गर्ने अनौपचारिक सहमति भएको जनाइएको छ । 

पूर्व स्वास्थ्यमन्त्री र शिक्षामन्त्रीसँग भएको अनौपचारिक छलफलमा सरकार चिकित्सा शिक्षा विधेयकका केही बुँदामा परिमार्जन गर्न सकारात्मक देखिएपछि वार्ताटोली गठन भएको जनाइएको छ । सहमतिअनुसार संसद् सचिवालयमा विचाराधीन विधेयकमा परिमार्जनको प्रस्ताव दर्ता गरिएको छ । सरकारको सो प्रस्तावमा नेकपा एमालेले विरोध जनाएको छ । 

डा केसीको अनशन सातौं दिन पुग्दा उनको स्वास्थ्य अवस्था भने कमजोर बन्दै गएको छ । चौबीसै घण्टा मनिटर जडान गरी केसीलाई अनुगमनमा राखिएको डा क्षेत्रीले बताए । उनकाअनुसार डा केसीको रगतमा सेतो रक्त कोसिकाको मात्रा कम हुँदै गएको, छातीको दुखाइ बढेको र ढाडमा समस्या देखिएको छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं