Date:2017/10/20 |Friday

भागबण्डाका लागि विधान मिचियो

Posted on: October 12, 2017 | views: 28 | हीरालाल विश्वकर्मा

काठमाडौं । महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्रै गठन हुनुपर्ने नेपाली कांग्रेसको संसदीय बोर्ड (समिति)ले करिब १९ महिनाछि पूर्णता पाएको छ । पार्टीभित्रको गुटबन्दीका कारण लामो छलफलपछि अन्ततः बुधबार कांग्रेसले संसदीय बोर्ड गठन गरेको हो । आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छान्न बोर्ड गठन गरिएको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले विधानलाई मिच्दै १७ सदस्यीय समिति गठन गरेको हो । पार्टी विधानको धारा ३१ (१)मा ६ जना पदाधिकारी पदेन सदस्य रहने सो बोर्डमा सभापतिले बढीमा ८ जना केन्द्रीय सदस्यलाई मनोनीत गरी संसदीय दलका नेतासहित १५ सदस्यीय बोर्ड गठन गर्ने व्यवस्था छ । सोही धाराको उपधारा ४ अनुसार बढीमा ८ जना सदस्य कार्यसमितिले चयन गर्ने उल्लेख छ भने संसदीय दलको नेता पदेन सदस्य रहने व्यवस्था छ । 

संसदीय दलको नेता नै पार्टी सभापति भएकाले १४ सदस्यीय बोर्ड गठन हुनुपर्ने हो । पार्टीभित्रको भागबण्डा मिलाउन विधानको व्यवस्थाभन्दा ३ सदस्य थप गर्दै सभापति शेरबहादुर देउवाले १७ सदस्यीय संसदीय बोर्ड गठन गरेको देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । विधानले महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र पदाधिकारी, केन्द्रीय समितिसहित सबै विभागलाई पूर्णता दिनुपर्ने उल्लेख छ ।

तर सभापति देउवाले महाधिवेशन भएको झण्डै दुई वर्षपछि संसदीय बोर्डलाई पूर्णता दिएका छन् । बोर्डले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरूको नाम टुंगो लगाउने भएकाले सबैभन्दा शक्तिशाली संरचना मानिन्छ । बोर्डलाई निर्वाचनका लागि उम्मेदवार छान्नेदेखि सरकारमा जाने मन्त्रीको नामसमेत तय गर्ने अधिकार छ । 

पार्टीको विधानको धारा ३२ मा संसदीय बोर्डको काम, कर्तव्य र अधिकारबारे गरिएको व्यवस्था अनुसार बोर्डले पार्टीका तर्फबाट संसद्का लागि हुने निर्वाचनमा केन्द्रीय समितिद्वारा निर्धारित कार्यविधि अनुसार उम्मेदवार चयन गर्ने र कार्यसमितिमा पेस गर्ने छ । त्यस्तै बोर्डले जिल्ला समन्वय समितिका सभापति, उपसभापति, सदस्यहरू र नगरपालिकाका प्रमुख र उपप्रमुखको निर्वाचनमा उम्मेदवार चयन गर्ने सम्बन्धमा जिल्ला कार्यसमितिलाई निर्देशन दिने व्यवस्था छ । केन्द्रीय समितिले गरेका नीतिगत निर्णय र मापदण्डअनुसार पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरूको नाम तय गर्ने अधिकार पनि विधानले बोर्डलाई दिएको छ ।

पार्टी सभापति र महामन्त्री समितिको पदेन सभापति र महामन्त्री हुने विधानको धारा ३१ (२)को व्यवस्थाअनुसार देउवा र महामन्त्री शशांक कोइराला समितिमा स्वतः पर्ने छन् । बुधबार गठन भएको बोर्डमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवासहित रामचन्द्र पौडेल, डा शशांक कोइराला, सीतादेवी यादव, खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, प्रकाशमान सिंह रहेका छन् । त्यस्तै कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, डा. रामशरण महत, महेश आचार्य, डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, बालकृष्ण खाँण र चित्रलेखा यादव पनि बोर्डमा छन् । 

आइतबार साँझ बोर्ड गठनका विषयमा बालुवाटारमा वरिष्ठनेता पौडेललगायत शीर्ष नेताहरूसँग प्रधानमन्त्री देउवाले छलफल गरेका थिए । छलफलमा सबै पक्षलाई समेटेर समिति गठन गर्ने सहमति भएको थियो । सहमतिअनुसार सभापति देउवा पक्षबाट ८, पौडेल पक्षबाट ५ र खुमबहादुर खड्का र कृष्णप्रसाद सिटौला पक्षबाट १÷१ जना सदस्य समितिमा राखिएको हो । अन्य नेतालाई पनि समेट्नुपर्ने भएकाले ३ जना थप्न देउवा–पौडेल सहमत भएका थिए । 

बोर्ड गठनलगत्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छान्न संसदीय बोर्डको बुधबारै बैठक बसेको छ । बैठकले पार्टीको तर्फबाट प्रदेशसभा र प्रतिनिधिसभाको उम्मेदवार टुंगो लगाउने गरी प्रारम्भिक छलफल चलाएको बोर्ड सदस्य अर्जुननरसिंह केसीले जानकारी दिए । ‘सबै जिल्लाबाट सिफारिस भई आएका उम्मेदवारको प्रारम्भिक छलफल बैठकमा भएको छ,’ उनले हिमालय टाइम्ससँग भने, ‘जातीय, भौगोलिकलगायतका विषयमा सन्तुलन मिलाएर निर्णय लिनुपर्ने भएकाले बिहीबार पुनः बोर्ड बैठक बस्ने छ ।’

उनकाअनुसार बैठकले असोज २७÷२८ गतेभित्रै उम्मेदवारको नामावलीलाई अन्तिम रूप दिने छ । यसअघिको केन्द्रीय समिति बैठकले असोज २७ गतेभित्रै प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तथा समानुपातिकतर्फका सबै उम्मेदवारको टुंगो लगाइसक्ने निर्णय गरेको थियो । पार्टीमा अहिलेसम्म ६८ जिल्लाबाट उम्मेदवारको सिफारिस भई आएको जनाइएको छ । निर्वाचन आयोगले समानुपातिकतर्फको उम्मेवारको नामावली असोज २९ गतेभित्रै बुझाइसक्न दलहरूलाई निर्देशन दिइसकेको छ ।  


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं