Date:2017/12/14 |Thursday

मन्त्रीपरिषद् पुनर्गठन नहुने

Posted on: October 13, 2017 | views: 65 | श्यामसुन्दर पुडासैनी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आउँदो प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नसर्ने स्पष्ट पारेका छन् । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन घोषित मितिमै सम्पन्न हुनेमा आश्वस्त पारेका हुन् । 

सरकार निर्वाचन सार्ने तयारीमा रहेको चर्चा चलिरहँदा सिंहदरबारस्थित आफ्नोे कार्यालयमा बिहीबार मुख्य तीन दलको बैठक बोलाएर प्रधानमन्त्री देउवाले समयमै निर्वाचन सम्पन्न गर्न आफू प्रतिबद्ध रहेको बताए । बैठकमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताले प्रधानमन्त्री देउवालाई चुनावबाट भाग्ने बहाना नखोज्न सचेत गराएका थिए । कांग्रेसले चुनावबाट भाग्ने बहाना खोजिरहेको आशंका गर्दै उनीहरूले प्रधानमन्त्रीलाई त्यसबाट हुनसक्ने संवैधानिक र राजनीतिक संकटबारे सचेत गराए । 

जवाफमा प्रधानमन्त्री देउवाले चुनाव सार्ने कुनै तयारी नभएकोबारे आफूहरूलाई विश्वस्त गराएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए । उनले हिमालय टाइम्ससँग भने, ‘मंसिर १० र २१ गतेको चुनाव सार्ने योजना छैन, निर्धारित मितिमै चुनाव गर्न सरकार प्रतिबद्ध छ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’

बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले निर्वाचन मिति कुनै हालतमा तलमाथि नहुने बताउँदै शंका निवारण गर्न आग्रह गरेको बताए । प्रधानमन्त्रीले चुनाव सार्नेमा शंका नगर्न आग्रह गर्दै निर्धारित मितिमै निर्वाचन हुने आश्वासन दिएको नेता श्रेष्ठको भनाइ थियो । उनले प्रधानमन्त्रीको प्रतिबद्धतापछि निर्वाचन सारिने हो कि भन्ने शंका निवारण भएको पनि बताए । 

यसअघि एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपाल पार्टीबीच चुनावी तालमेल र एकताको निर्णयपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले निर्वाचन सार्न सक्ने अनुमान गरिएको थियो । मंसिर १० र २१ गते दुई चरणमा हुने निर्वाचन सरकारले २१ गते एकै चरणमा गर्ने तयारी गरेको भन्ने चर्चापछि निर्वाचन आयोगले सबै तयारी पूरा भइसकेको जनाउँदै घोषित निर्वाचनमा  असर पर्ने कुनै निर्णय नगर्न सरकारलाई आग्रह गरेको थियो ।

मन्त्रिपरिषद् पुनर्गठन नहुने

बैठकमा एमाले र माओवादीका नेताहरूले आफूहरूले मन्त्रिपरिषद् हेरफेर गर्न लागेको जानकारी पाएको भन्दै त्यसो नगर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । नेताहरूले सम्बन्धित दलको सिफारिसबिना मन्त्री हटाउन नपाउने संवैधानिक व्यवस्थाप्रति प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन नहुने प्रस्ट पारेका थिए । प्रधानमन्त्रीले निर्वाचन आचार संहिताविपरीत आफूले कुनै गतिविधि नगर्ने प्रतिबद्धता जनाएको बैठकमा सहभागी एमाले नेता नेम्वाङले जानकारी दिए ।

सत्तामा रहेको माओवादी केन्द्रले विपक्षी एमालेसँग गठबन्धन गर्ने निर्णय गरे पनि सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । संविधानले तोकेबमोजिम नै निर्वाचन हुनुपर्छ भन्ने धारणाकै कारण माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएको बताउँदै आएको छ । तर सरकारमा समस्या आएको भन्ने बहानामा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरिरहेको भन्दै एमाले र माओवादीले विरोध जनाउँदै आएका थिए ।

विधेयकमा सहमति जुटाउने 

बैठकमा राष्ट्रिय सभा निर्वाचनसम्बन्धी ऐनबारे छलफल भए पनि कुनै सहमति हुन नसकेको नेताहरूले जानकारी दिए । यस सम्बन्धमा सहमति जुटाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतृत्वलाई दिइएको छ । राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणको आधारमा तय गर्नुपर्ने सरकारको प्रस्तावमा एमाले र माओवादीले असहमति जनाएका छन् । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक कानुन निर्माण गरे पनि राष्ट्रिय सभा निर्वाचनसम्बन्धी कानुन बनाउने विषयमा भने दलीय सहमति नजुट््दा विधेयक संसद्मा अलपत्र छ ।

बैठकले यस विषयमा सहमति जुटाउने जिम्मा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई दिने निर्णय गरेको एमाले संसदीय दलका उपनेता नेम्वाङले बताए । राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी विधेयक दशैंअघि देखि नै संसद्मा विचाराधीन छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं