Date:2017/12/14 |Thursday

किन हुन पुग्यो तालमेलमा अलमल ?

Posted on: October 13, 2017 | views: 73 | हीरालाल विश्वकर्मा

काठमाडौं । संघ र प्रदेशको निर्वाचनका लागि गठन भएका लोकतान्त्रिक र वाम गठबन्धन आपसमा सिटको भागबण्डा गर्न नसकेर सकसमा परेका छन् । गठबन्धन बनाएर राजनीतिक ध्रुवीकरणको दिशामा लागेका गठबन्धनमा आआफ्ना पार्टीभित्र उम्मेदवार तय गर्नुपर्ने व्यस्तताका कारण गठवन्धनमा भागबण्डा मिलाउन सकस परेको हो । 

दुवै गठबन्धनले बनाएका कार्यदलमा घोषणाताका जसरी छलफल र बैठक भएका थिए, त्यसरी पछिल्लो समय हुन सकेको छैन । कार्यदलस्तरमा भएका छलफलमा खासै सहमति जुट्न नसक्दा शीर्ष तहमा सहमति खोज्ने भन्दै पछिल्ला दिनमा दुवै गठबन्धनको कार्यदलस्तरमा बैठक बस्न सकेको छैन । 

असोज २९ गते समानुपातिक उम्मेदवारको टुंगो लगाउनुपर्ने बाध्यात्मक अवस्था भए पनि गठबन्धनमा छलफल हुन सकेको छैन । तीनदलीय वाम गठबन्धन बनाएका एमाले, नेकपा माओवादी केन्द्र र नयाँशक्ति पार्टीबीच चुनावी तालमेलका लागि बनेको कार्यदलको बैठक पछिल्लो समय बस्न सकेको छैन । सत्ता नेतृत्वकर्ता दल नेपाली कांग्रेससँग सत्ता साझेदारी गरिरहेको माओवादी केन्द्रलाई पार्टी एकतासम्म गर्ने गरी असोज १७ गते घोषित वाम गठबन्धनमा पछिल्लो समय संकट उत्पन्न भएको छ । 

गत असोज १९ गते बसेको वाम गठबन्धनमा आबद्ध शीर्ष नेताको बैठकले कार्यदललाई ७ दिनभित्र काम सक्न निर्देशन दिएको थियो । पार्टी एकता संयोजन समितिको बैठकले एमाले महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गठन गरेको कार्यदललाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गर्ने कार्यादेश दिइएको थियो भने वामदेव गौतम नेतृत्वको कार्यदल गठन गरी चुनावी घोषणापत्र मस्यौदा बनाउने जिम्मेवारी दिइएको थियो ।

एमाले र माओवादी केन्द्रले आपसमा सिट बाँडफाँट गर्न सकेका छैनन् । दुवै दलले ६० र ४० प्रतिशतका आधारमा सिट मिलाउने समझदारी गरे पनि नयाँशक्तिले आफूलाई १५ प्रतिशत सिट दाबी गरेको छ ।

नयाँशक्तिका संयोजक डा बाबुराम भट्टराईले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्दै तालमेलको कुरा छिट्टै टुंग्याउन आग्रह गरेका थिए । तर, ओलीले तालमेलका लागि केही अप्ठ्यारो अवस्था सिर्जना भएको भनाइ राखेपछि भट्टराई छलफल छाडेर फर्किएका थिए । उनले सम्मानजनक तालमेल हुन नसके गठबन्धन नै छाड्ने संकेत गरेका छन् । कार्यदलका सदस्य माओवादी केन्द्रका नेता देव गुरुङले कार्यदलस्तरमा काम भइरहेको र छिट्टै यी विषयलाई टुंगोमा पु¥याउने बताए । ‘आवश्यकताअनुसार शीर्ष नेताहरूसँग पनि छलफल गर्दै जानेछौँ,’ उनले हिमालय टाइम्ससँग भने, ‘सबै विषयमा सहमतिमा पुग्न अझै हप्ता दश दिन लाग्न सक्छ ।’

उनकाअनुसार अहिले पार्टीभित्र समानुपातिक उम्मेदवारको टुंगो लगाउनुपर्ने भएकाले गठबन्धनको कार्यदलले सहमति जुटाउन केही ढिलाइ भएको हो । शीर्ष नेताहरूबीच पहिले सहमति गरेपछि कार्यदलले काम टुंग्याउने भनिए पनि हालसम्म शीर्ष नेतामै तालमेलको सहमति हुन सकेको छैन । सिट र क्षेत्र बाँड्न कार्यदल बनाएर अघि बढेका दलहरूमा कार्यदलस्तरमा सहमति नजुटेपछि शीर्ष नेतालाई नै त्यसको जिम्मेवारी दिइएको हो । वाम र लोकतान्त्रिक गरी दुई खेमामा बाँडिएका दलभित्र आपसमा सिट संख्याबारे कुरो नमिलेपछि उनीहरूलाई समयावधिभित्रै काम सक्न मुस्किल पर्ने देखिएको हो । 

लोकतान्त्रिक गठबन्धनले बनाएको कार्यदल बैठकमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय फोरम नेपालले ५५ सिट दाबी गरेपछि शीर्ष तहमा टुंग्याउने भनिएको थियो । विमलेन्द्र निधि संयोजकत्वको कार्यदलले तराईमा साझा उम्मेदवार उठाउने अलग्गै सहमति गरेका राजपा र संघीय फोरमले ५५ सिट मागेपछि सहमतिका लागि शीर्ष नेतालाई जिम्मेवारी सुम्पेको थियो । दुई दलले प्रदेश २ मा रहेका ३२ मध्ये २४ सिट आफूहरूले पाउनुपर्ने दाबी गरेका थिए । गठबन्धनको अर्को दल राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरबाट १५ सिट आफूलाई छाड्नुपर्ने दाबी गरेको थियो । 

कार्यदलले एक किसिमको छलफल गरेर अगाडि बढेको र सहमतिको प्रयास भइरहेको लोकतान्त्रिक गठबन्धनको कार्यदल सदस्य डा. मिनेन्द्र रिजालले जानकारी दिए । ‘केही विषयमा शीर्ष नेताले नै निर्णय लिनुपर्ने भएकाले सहमतिका लागि केही विलम्ब भएको छ,’ उनले हिमालय टाइम्ससँग भने, ‘पार्टीभित्रैको समानुपातिक सूची तयार पार्नुपर्ने भएकाले त्यताको छलफल केही ढिला भएको छ ।’ गठबन्धनमा सहमतिका लागि गठित कार्यदलस्तरमा तत्काल सहमतिको संकेत नदेखिएपछि गठबन्धन बनाएका मुख्य तीन दल निष्कर्षमा पुग्न सकेका छैनन् । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं