Date:2017/11/23 |Thursday

मंगलबारदेखि देउवाको पश्चिम दौडाहा

Posted on: November 14, 2017 | views: 22 |

हिमालय टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव प्रचारका लागि मंगलबारदेखि पश्चिम नेपाल घुम्ने भएका छन् । कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा केन्द्रीय सदस्य बालकृष्ण खाँणले सोमबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा देउवाको कार्यक्रमबारे जानकारी गराएका हुन् । 

देउवा मंगलबार, कात्तिक २८ गते, नेपालगन्ज पुग्नेछन् । त्यहाँ उनले सुरक्षा र प्रशासनिक निकायका प्रमुखसँग छलफल गर्ने छन् । मंगलबारै उनले लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसहित स्थानीय नेता र कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ । 

देउवा २९ गते धनगढी पुग्नेछन् । त्यहाँ उनले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्तासँग भेटघाट गर्नेछन् । धनगढीमा देउवाले अन्य दलबाट नेपाली कांग्रेसमा प्रवेश गर्ने राजनीतिकर्मीलाई स्वागत गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री देउवाले नेपालगन्ज र धनगढीमा अन्य पार्टीका नेता, कार्यकर्तासँग पनि संवाद गर्ने कार्यक्रम रहेको जनाइएको छ । 

धनगढीमा प्रधानमन्त्री देउवाले सुदूर पश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग शान्तिसुरक्षाका बारेमा छलफल गर्नेछन् । देउवा ३० गते गृहजिल्ला डडेल्धुरा पुग्नेछन् । प्रधानमन्त्री देउवा गृहजिल्लालाई मुकाम बनाएर सुदूर पश्चिमाञ्चलका विभिन्न जिल्लामा निर्वाचन अभियानमा सहभागी हुनेछन् । उनले आमसभालाई सम्बोधन गर्नेछन् ।  

देउवाले मंसिर १ गते दार्चुला र बैतडीका चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । मंसिर २ बझाङ र बाजुरामा आमसभालाई सम्बोधन गर्नेछन् । देउवाले जिल्लाको शान्ति सुरक्षाबारे स्थानीय प्रशासक र सुरक्षाकर्मीसँग जानकारी लिनेछन् । देउवाले रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावीसभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेको जनाइएको छ । 

८० सिट जित्ने दाबी 

संयोजक खाँणले निर्वाचनको प्रचार अभियान प्रारम्भ भएपछि विपक्षी दलको तुलनामा कांग्रेसको स्थिति सुदृढ हुँदै गएको बताएका छन् । उनले पहिले ८० सिट जित्ने अनुमान गरिएकोमा केही थपिने बताए । उनले पार्टी सभापतिले देउवाले २५ गते ताप्लेजुङबाट सुरु गरेको चुनावी अभियानको निकै राम्रो प्रभाव परेको बताए । उनले भने, ‘चुनाव परिचालन र सभापतिको भ्रमणपछि जनताको समर्थन बढेर आएको छ ।’  

खाँणले संविधान र नागरिक अधिकारको रक्षा, स्थानीय विकास, कृषि प्रविधि र आधुनिकीकरण, धार्मिक स्वतन्त्रता, पर्यटन विकासका बारेमा नेपाली कांग्रेसको धारणा स्पष्ट पार्न ती सभा अत्यन्तै फलदायी भएको जिकिर गरे । उनले स्थानीय र  रणनीतिक सडकको स्तरोन्नति, पर्यटकीय र धार्मिकस्थलको संरक्षणलाई कांग्रेसले गम्भीरतापूर्वक अघि बढाउने प्रतिबद्धता जनाएको पनि बताए । 

एकताबद्ध भएर मैदानमा

संयोजक खाँणले पार्टी अहिले एकताबद्ध भएर चुनावमा होमिएको बताए । उनले केन्द्रमा निर्वाचन परिचालन समिति र त्यसअन्तर्गत प्रचारप्रसार समन्वय उपसमिति, शान्तिसुरक्षा उपसमिति, आर्थिक समृद्धि तथा विकास उपसमिति, मतदाता शिक्षा उपसमिति, राष्ट्र सेवक समन्वय उपसमिति, जनसम्पर्क समन्वय उपसमिति, कलाकर्मी र खेलाडी परिचालन उपसमिति, आचारसंहिता अनुगमन उपसमिति लगायत विभिन्न राजनीतिक र प्राविधिक उपसमिति बनाइएको पनि बताए । 

खाँणले पहिलो चरणको निर्वाचन हुने ३२ वटा जिल्लामा परिचालन समितिका सदस्यलाई केन्द्रीय प्रतिनिधिको रूपमा खटाइएको पनि बताए । कांग्रेसले पहिलो चरणका ३२ जिल्लामा प्रतिनिधिसभाका ३७ सिटमध्ये ३५ मा आफ्ना उम्मेदवार उठाएको छ । प्रदेशसभाका ७४ सिटमध्ये ८ वटा गठबन्धनका अन्य दललाई दिएर ६६ सिटमा आफ्ना उम्मेदवार उठाएको छ । दोस्रो चरणमा  निर्वाचन हुने ४५ जिल्लाका १२८ सिटमा १० सिट अरूलाई समर्थन गर्दै कांग्रेसले ११८ मा उम्मेदवारी दिएको छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं