Date:2018/01/16 |Tuesday

अघि बढ्यो एकता प्रक्रिया

Posted on: January 09, 2018 | views: 72 |


हिमालय टाइम्स

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकताका लागि ‘पार्टी एकता संयोजन समिति’ को बैठक मंगलबार बस्ने भएको छ । पार्टी एकताको निर्णय भएको तीन महिनापछि एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरू सम्मिलित संयोजन समितिको बैठक बस्न लागेको हो । 

बालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा अपराहृन ३ बजे बैठक बोलाइएको छ । दुवै पार्टीले गत असोज १७ गते एकता संयोजन समिति बनाएका थिए ।

बैठकका लागि एमाले र माओवादी केन्द्रका शीर्ष नेतालाई ३ बजे बालकोटस्थित ओली निवासमा बोलाइएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए । एकता संयोजन समितिमा एमालेका ४ र माओवादी केन्द्रका ३ गरी ७ जना नेता छन् ।

एमालेबाट अध्यक्ष ओली, पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल तथा महासचिव ईश्वर पोखरेल छन् भने माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहेका छन् । एकता संयोजन समितिको बैठकको अघिल्लो दिन एमालेको स्थायी समिति बैठक र माओवादी केन्द्रको हेडक्वार्टर बैठक बसेको थियो । 

सम्मानजनक एकता ः माओवादी


नेकपा एमालेसँगको पार्टी एकताका लागि नेकपा माओवादी केन्द्रले सम्मानजनक उपस्थिति हुनुपर्ने निष्कर्ष निकालेको छ । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग माओवादी केन्द्रका अध्यक्ष दाहालको भेटपछि सोमबार बसेको पार्टी हेडक्वार्टर बैठकले सम्मानजनक उपस्थिति हुने गरी पार्टी एकता प्रक्रियामा अघि बढ्नुपर्ने निष्कर्ष निकालेको हो । 

बैठकमा नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए । बैठकको सुरुमै पार्टी अध्यक्ष दाहालले एमाले अध्यक्ष ओलीसँग आइतबार भएको भेटका बारेमा जानकारी गराएका थिए । त्यसपछि अन्य नेताहरूले सम्मानजनक उपस्थिति सुनिश्चित गर्न दाहाललाई सुझाव दिएका थिए ।

एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठकको अघिल्लो दिन दाहालले पार्टीका नेताहरूसँग छलफल गरेका हुन् । छलफलमा नेताहरूले दुवै पार्टीका अध्यक्षले कार्यकारी भूमिका पाउने गरी एकताको मोडल तयार पार्न सुझाव दिएको नेता श्रेष्ठले बताए । ‘पार्टी एकताका लागि सम्मानजनक मोडल तयार पार्ने विषयमा छलफल भएको हो,’ उनले भने, ‘अध्यक्षले पार्टीका केही नेताहरूसँग त्यसबारेमा कसरी गृहकार्य अघि बढाउने भन्नेमा छलफल गर्नुभयो ।’

उनकाअनुसार दुवै पार्टीको वैचारिक र राजनीतिक तथा दुई कम्युनिस्ट धारको एकतापछि दुई अध्यक्षसहितका नेताहरूको व्यवस्थापनको कुरा भएकाले समग्र विषयमा सम्मानजनक अवस्था सृजना हुने गरी एकता गर्नेमा छलफल केन्द्रित थियो । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं