19th November | 2018 | Monday | 10:22:43 AM

छिन्ताङ घटनामा मारिएकालाई शहीद घोषणा गर्ने निर्णय

  POSTED ON : Friday, 12 January, 2018 (1:57:33 PM)

छिन्ताङ घटनामा मारिएकालाई शहीद घोषणा गर्ने निर्णय

काठमाडौँ । सरकारले खोकु छिन्ताङ घटनामा मारिएका १६ जना व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । 


मन्त्रिपरिषद्को आजको बैठकले २०३६ साल कात्तिक २७ गते भएको उक्त घटनामा मारिएका व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । 


पञ्चायती व्यवस्थाको विपक्षमा तथा प्रजातन्त्रको पक्षमा संलग्न भएको आरोपमा तत्कालीन राज्यसत्ताले दमन गरी होनहार व्यक्तिको ज्यान लिएको घटनालाई छिन्ताङ हत्या काण्ड भनिँदै आएको छ । 


सरकारले न्याय सेवाको विशिष्ट श्रेणी (मुख्य रजिष्टार) मा सोही सेवाका रजिष्टार महेन्द्रनाथ उपाध्यायलाई पदोन्नति गर्ने निर्णय पनि गरेको छ । बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई नियुक्ति गर्ने गरेको छ । 


बैठकले लाइभ स्टक सेन्टर इनोभेसन आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने रु आठ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री बस्नेतले जानकारी दिए । 


सरकारले आगामी वैशाख १ देखि आर्थिक गणना गर्न २०७५ सूचित आदेश जारी गर्ने निर्णय पनि गरेको छ । 


मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी गौरव तण्डुललाई रथी दर्जामा स्थानीय बढुवा गरी युन फोर्स कमाण्डरमा प्रतिस्पर्धा गर्न स्वीकृत दिने निर्णय गरेको छ । 


प्राविधिक महासेनानी गेहेन्द्रराज महर्जनलाई सहायक रथीमा बढुवा गरिएको छ । 


आजको मन्त्रिपरिषद्को बैठकमा प्रदेश प्रमुख र राजधानीका विषयमा सामान्य छलफल भए पनि राजनीतिक दलसँग पुनः छलफल गरेरमात्र अघि बढ्ने कुरा भएको बताइएको छ । 


Views: 47