18th June | 2018 | Monday | 5:20:48 PM

राष्ट्रिय एकता दिवस–बाह्र वर्षमा फक्र्यो खोलो

  POSTED ON : Friday, 12 January, 2018 (3:33:34 PM)

राष्ट्रिय एकता दिवस–बाह्र वर्षमा फक्र्यो खोलो

हीरालाल विश्वकर्मा

काठमाडौं । नेपाली समाजमा ‘बाह्र वर्षमा खोलो फर्किन्छ’ भन्ने उखान प्रचलित छ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको सम्मानमा मनाइने ‘राष्ट्रिय एकता दिवस’मा यही उखान चरितार्थ भएको छ । 

बाह्र वर्षमा पुनः ‘राष्ट्रिय एकता दिवस’ मनाउँदै पृथ्वीनारायण शाहको योगदानको स्मरण गरिएको छ । राजतन्त्र अन्त्यसँगै राष्ट्रियस्तरमा पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन छाडिएको थियो । २०६२÷६३ को जनआन्दोलनपछि नयाँ राजनीतिक अध्यायको थालनीसँगै सरकारले पुस २७ मा दिइँदैं आएको सार्वजनिक बिदा खारेज गरेको थियो ।

गणतन्त्र स्थापनाको १२ वर्षपछि सरकारले शाहको जन्मदिन पारेर बिहीबार सार्वजनिक बिदा दिएको हो । गणतन्त्रमा पहिलोपटक नेपाल एकीकरणमा योगदान गरेका पृथ्वीनारायण शाहको सम्मानमा राष्ट्रियस्तरमा कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइएको हो ।

गणतन्त्रपछि मनाउन छाडिएको राष्ट्रिय एकता दिवस यस वर्षबाट पुनः मनाउने निर्णय वर्तमान सरकारले गत मंसिर १४ को मन्त्रिपरिषद् बैठकमार्फत गरेको थियो । सो निर्णयलगत्तै उपप्रधानमन्त्री कमल थापाले सार्वजनिक सञ्जाल ट्विटरमार्फत पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका थिए । उनले ट्विट गर्दै भनेका थिए, ‘मन्त्रिपरिषद् बैठकले राष्ट्रनिर्माताप्रति सम्मान गर्दै पृथ्वीजयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाप्रति हार्दिक आभार ।’

गणतन्त्र स्थापनापछि सरकारले पृथ्वीजयन्तीको बिदा कटौती गर्दै सरकारीस्तरमा दिवस नै मनाउन छाडे पनि जनस्तरमा भने यो दिवस मनाउने क्रम कायमै थियो । जनआन्दोलनपछिको सरकार प्रमुख रहेका नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले बिदा कटौती गर्ने निर्णय गरेको थियो । संयोगले अहिले सार्वजनिक बिदाको निर्णय पनि कांग्रेस नेतृत्वकै सरकारले गरेको छ । 

गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनका लागि सबैको सहमति खोजे पनि अन्ततः निर्णय गर्न सकेका थिएनन् । 

उनले प्रधानमन्त्री भएकै बेला गत वर्षको पुस २६ गते भनेका थिए, ‘नेपाल एकीकरणको श्रेय पृथ्वीनारायण शाहलाई नै जान्छ, उहाँको भूमिकालाई सकारात्मकरूपमा लिएका छौं । पृथ्वीजयन्तीमा बिदा दिनेबारे दुईपटक मन्त्रिपरिषद्मा पनि कुरा भएको छ । सबैसँग छलफल गरी सर्वमान्य बनाई घोषणा गर्नेछौं, एक्लै यो निर्णय गर्न मिल्दैन ।’

यसपटक पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने निर्णयलाई राजनीतिकरूपमा विरोधको विषय बनाइएको छैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता दिवका अवसरमा विज्ञप्ति जारी गर्दै पृथ्वीनारायण शाहको नेतृत्वमा भएको एकीकरणका कारण आज नेपाली भनेर गर्व गर्न पाइएको बताएका छन् । ‘नेपाललाई विभिन्न तŒवहरूले विखण्डन गर्न खोजे पनि यस्ता प्रयासहरू सजिलै परास्त भएका छन्,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न टुक्रामा विभाजित यस भूगोललाई एकीकरण गरेर नेपालको स्वरूपमा बदल्ने योगदान तत्कालीन राजा पृथ्वीनारायण शाहको नेतृत्वमा हाम्रा पितापुर्खाहरूले गरेका हुन् । जसका कारण आज हामीले नेपाली भनेर गर्व गर्न पाएका छौं ।’

गत वर्ष पनि ओलीले पृथ्वीनारायण शाह राष्ट्रनायक भएको बताउँदै आफू प्रधानमन्त्री हुँदा पृथ्वीजयन्तीमा बिदा दिन चाहे पनि माओवादीका कारण सम्भव नभएको बताएका थिए । पृथ्वीजयन्तीको अवसरमा गत वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको चियापान कार्यक्रममा उनले पृथ्वीनारायणको अभियानलाई अघि बढाउनुपर्ने बताएका थिए । 

दोस्रो जनआन्दोलनपछि पहिलोपटक पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाले महŒवकासाथ राष्ट्रिय एकता दिवस मनाइएको छ । बिहीबार पृथ्वीनारायण शाहको सम्मानमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो । उनीहरूले दिवसका अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पणसमेत गरे ।

गणतन्त्र नेपालका राष्ट्रपतिले समेत राजतन्त्रका संस्थापकको शालिकमा माल्यार्पण गरेको पनि यो पहिलोपटक हो । नेपाल एकीकरणका सूत्रधार मानिने शाहको जन्म गोरखाका राजा नरभूपाल शाह तथा रानी कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते भएको थियो । उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान तथा मिहिनेती थिए । सुरुदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो । धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि उनी निपूण थिए । 

ससाना राज्य रजौटामा बाँडिएको बाइसे तथा चौबीसे राज्यहरूलाई एकत्रित गरी एउटै देशको सिर्जना गर्दै उनी आधुनिक नेपालको राष्ट्र निर्माताका रूपमा चिनिन्छन् । शाहले ससाना क्षेत्रमा राज्य गरिरहेको शाह वंशलाई पूरै नेपालको राजवंशमा रूपान्तरण गरी आधुनिक नेपालको जग बसालेका थिए । शाहले विसं १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरेका थिए । विसं १८३१ मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका शाह नुवाकोट दरबारमा बिमारी परेपछि उनकै इच्छाअनुसार त्यहाँको देवीघाट लगिएको थियो । नौ दिनसम्म घाटमै रहेका बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरू दिएका थिए । जसलाई ‘दिव्य उपदेश’ समेत भनिन्छ ।