21st October | 2018 | Sunday | 6:52:54 AM

जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्नु गलत : डा.महत

  POSTED ON : Friday, 12 January, 2018 (4:57:13 PM)

जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्नु गलत : डा.महत

हिमालय टाइम्स काठमाडौं । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले जुलुश निकालेर र अनशन बसेर न्यायालयलाई प्रभावित पार्ने काम नगर्न डाक्टर गोविन्द केसीलाई चेतावनी दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अदालत भनेको स्वतन्त्र न्यायापालिका हो, यही मान्यता अनुसार स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ, कुनै दबाब वा हस्तक्षेप गर्नुहुँदैन ।’ अदालतको विषयमा पार्टीको अडान हुन नहुने उनको भनाई थियो ।

उनले भने,‘दलहरुले अदालतलाई प्रभाव पाने कुरा गर्नुहुँदैन, यो गलत हुन्छ ।’ महतले गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको राजिनामा माँगेको विषयप्रति टिप्पणी गर्दै भने,‘जहाँसम्म केसीको माँग छ, राजिनामा दिने वा नदिने भन्ने कुरा प्रधानन्यायाधीशको आफ्नो कुरा हो, तर आरोपका आधारहरु प्रमाािणत गर्नुपर्छ, सत्यता हो कि होईन भन्ने कुरा आउनुपर्छ।’ आरोपका सत्यताहरु बाहिर आउनुपर्नेमा महतले जोड दिए ।

उनले भने,‘केसीले उठाएका मेडिकल एडुकेशनसम्बन्धीका माँगमा राम्रा कुराहरु छन्, तीनलाई सम्बोधन गर्न मैलेपनि पहल गरेकै हो ।’ नेता महतले प्रधानन्यायाधीश वा न्यायाधीशहरुको बारेमा कुनै विवाद भए छानबिन गर्न न्याय परिषद र संवैधानिक परिषद भएकोले यस विषयमा यी दुई निकायले निक्र्यौल गर्ने विषय भएको पनि स्पष्ट पारे ।

उनले भने,‘प्रधानन्यायाधीशको उमेर खासगरी नागरिकता र शैक्षिक प्रमाणपत्रको विवादबारे छानबिन भएर चाँडो बाहिर आउनुपर्छ, कानूनलाई आधार मानेर निर्णय हुनुपर्छ, तर कानूनलाई मिचेर निर्णय लिनुहुँदैन्।’ अदालत न्यायको मन्दिर भएकोले यसलाई निश्पक्ष ढंगले काम गर्न दिनुपर्ने उनको भनाई छ ।


Views: 63