18th November | 2018 | Sunday | 6:04:18 PM

अनसन तोड्न डा.केसीलाई नेपाल बारको आग्रह

  POSTED ON : Friday, 12 January, 2018 (5:11:59 PM)

अनसन तोड्न डा.केसीलाई नेपाल बारको आग्रह

हिमालय टाइम्स काठमाडौं । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश गोपाल पराजुलीको बचाऊ गरेको छ । 

बार एसोसिएसनले प्रधानन्यायाधीश पराजुलीलाई व्यक्तिगत रुपमा लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्ने र आफ्नो अनुकूल फैसला नआएसम्म प्रधानन्यायाधीशको राजीनामा माग गर्ने अनसनरत डा गोविन्द केसीका गतिविधिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

साथै बारले अनसन बसेर न्यायालयमाथि दबाव नदिन डा. केसीलाई आग्रह समेत गरेको छ ।

डा. केसीको अनसन, अदालतको अवहेलना मुद्दा र सर्वोच्चको आदेशबारे आज आफ्नो धारणा सार्वजनिक गर्दै बार एशोसिएसनले पराजुलीको बचाउ गरेको हो । अदालतको आदेशलाई सबैले पालना गर्नु पर्ने भन्दै बारले अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी गर्न र व्यक्तिगत आरोप प्रत्यारोपमा उत्रन नमिल्ने ध्यानाकर्षन गराएको छ ।

महासचिव खम्मबहादुर खातीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारको दबाव र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा यस प्रकारका कार्य नगर्न अपील गर्दछ ।’

न्यायाधीश विरुद्ध उजुरी गर्ने थलो न्याय परिषद् भएको र परिषद्ले अध्ययन गर्न सक्ने भएको तर उक्त प्रक्रियामा नगई अनसनको गलत प्रवृत्ति डा केसीले सुरु गरेको बारको विज्ञप्तिमा उल्लेख  गरिएको छ ।


Views: 69