Date:2018/01/16 |Tuesday

सिट बाँडफाँटका आधार खोज्दै वाम गठबन्धन

Posted on: January 13, 2018 | views: 17 |

हिमालय टाइम्स

काठमाडौं । राष्ट्रियसभा र प्रदेश सरकार गठनका लागि गृहकार्य गर्न गठित वाम गठबन्धनको कार्यदलले सिट बाँडफाँटका लागि चार आधार तयार गरेर छलफल थालेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको कार्यदलको शुक्रबार बसेको बैठकले साझा उम्मेदवार बनाउन प्रारम्भिक छलफल थालेको हो ।

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले राष्ट्रियसभाको सिट र प्रदेश सरकारको मुख्यमन्त्री तथा प्रदेश संसद्का सभामुख पद बाँडफाँटका लागि आधार तयार गरेको हो । एमाले नेता सुवास नेम्वाङको अध्यक्षतामा बसेको बैठकले प्रदेशगतरूपमा पार्टीको शक्ति, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि व्यक्तिको योग्यता र सन्तुलनलाई मुख्य आधार बनाएर राष्ट्रियसभा र प्रदेश सरकार गठनमा भागबण्डा मिलाउने खाका तयार गरेको हो ।

‘छलफल सुरुमात्र भएको छ, केही निर्णय भएको छैन,’ नेम्वाङले भने, ‘आइतबार ३ बजे बस्ने बैठकले अब कसरी अघि बढ्ने भन्ने थप टुंगो लगाउने छ ।’

शुक्रबारको बैठकमा सदस्यहरू शंकर पोख्रेल, वर्षमान पुन सहभागी भएनन् । पोख्रेल उपत्यकाबाहिर भएको र पुन बिरामी भएकाले बैठकमा आउन नसकेको नेम्वाङले जनाए । पाण्डे भने बैठक सकिएपछि आएका थिए ।

वाम गठबन्धनको मंगलबारको बैठकले एमालेका तर्फबाट नेम्वाङसहित सुरेन्द्रप्रसाद पाण्डे र शंकर पोख्रेल तथा माओवादी केन्द्रबाट रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र मातृकाप्रसाद यादव रहेको कार्यदल गठन गरेको थियो । कार्यदललाई राष्ट्रियसभा र प्रदेश सरकारको सिट बाँडफाँटको जिम्मेवारी दिइएको छ । कार्यदलले प्रदेश सरकारका मुख्यमन्त्री, सभामुखसहित प्रदेश संरचनाबारे पनि पार्टी एकता संयोजन समितिलाई सुझाव दिने छ ।

एमालेले बनायो मापदण्ड

नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनको लागि उम्मेदवारको मापदण्ड तय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको सचिवालयको बैठकले त्यसका लागि ६ वटा मापदण्ड बनाएको हो ।

एमाले सचिव योगेश भट्टराईले पार्टीको सचिवालयको बैठकले उम्मेदवारसम्बन्धी मापदण्ड बनाएको जनाए । उनका अनुसार प्रदेश कमिटीले यसैका आधारमा नाम सिफारिस गरेर पठाउनुपर्नेछ ।

एमालेले तयार पारेको मापदण्डमा स्थानीय तहको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव हारेका तथा समानुपातिकको बन्दसूचीमा भएकालाई राष्ट्रियसभा सदस्य नबनाउने उल्लेख छ ।

संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका, पार्टीमा लामो योगदान गरेका, पार्टीमा वैचारिक आबद्धता राख्दै समाजसेवा, संस्कृति, कलासाहित्य, विज्ञान, प्रविधि लगायतका सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका, स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समावेशी सूचीमा नाम समावेश नभएकालाई प्रदेशसभाको उम्मेदवार बनाउन सक्ने एमालेले जनाएको छ । पार्टीले उम्मेदवार सिफारिस गर्दा भौगोलिक र सामाजिक सन्तुलन पनि मिलाउन आग्रह गरेको छ ।

एमाले प्रदेश नम्बर १ का सदस्यसमेत रहेका धनकुटाबाट प्रदेशसभामा निर्वाचित सांसद इन्द्रमणि पराजुलीले पार्टीले बनाएको मापदण्डलाई आधार मानेर योग्य व्यक्तिलाई सिफारिस गरिने बताए । समय थोरै भएकाले अब छिट्टै छलफल थालिने उनले बताए ।

एमालेले माघ ५ गतेभित्र उम्मेदवारहरूको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई भनेको छ । राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने निर्वाचनमण्डल सदस्यहरूलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने निर्णय पनि एमालेले गरेको छ । प्रशिक्षणको व्यवस्था भने सम्बन्धित प्रदेश संगठन कमिटीले मिलाउनुपर्ने सचिवालयले जनाएको छ ।

२१ दल दर्ता

काठमाडौं (हिटा) । राष्ट्रियसभा सदस्य निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १५ दिनको समय दिएर आयोगमा दल दर्ता गर्न आहृवान गरेअनुसार शुक्रबार अन्तिम दिनसम्म २१ दलले निवेदन दिएका हुन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निवेदन दिने राजनीतिक दलहरूमा नेपाल संघीय समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी, नेपाल परिवार दल, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल नौलो जनवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), विवेकशील साझा पार्टी छन् ।

त्यस्तै नेकपा एमाले, संघीय समाजवादी फोरम नेपाल, नयाँ शक्ति पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, बहुजन समाज पार्टी नेपाल, गान्धीवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेपाली जनता दल र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले पनि दल दर्ताका लागि निवेदन दिएका छन् ।

आयोगले यसअघि नै राष्ट्रियसभाको निर्वाचन कार्यतालिका सावर्जनिक गरिसकेको छ । कार्यतालिकाअनुसार आयोगले माघ ७ गते मतदाता नामावली प्रकाशन गर्ने, माघ १० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने र माघ १५ गते उम्मेदवारहरूलाई निर्वाचन चिहृन प्रदान गर्नेछ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं