22nd September | 2018 | Saturday | 5:03:43 PM

राजनीतिक भ्रष्टाचारको अन्त्य नभएसम्म समृद्धि असम्भव : भुसाल

  POSTED ON : Saturday, 13 January, 2018 (5:56:58 PM)

राजनीतिक भ्रष्टाचारको अन्त्य नभएसम्म समृद्धि असम्भव : भुसाल

चन्द्रकान्त खनाल-

रुपन्देही । नेकपा एमालेका उपमहासचिव तथा रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य घनश्याम भुसालले राजनीतिमा रहेको भ्रष्टाचारको अन्त्य नहुंँदा सम्म मुलुकले समृद्धिको बाटो समात्न नसक्ने वताएका छन ।

 रुपन्देही उद्योग संघको ३९ औ साधारणसभाको तथा २० औं अधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै उपमहासचिव भुसालले राजनीतिमा भ्रष्टाचार मौलाएका कारण मुलुकले गति लिन नसकेको वताए । उनले भ्रष्टाचारको अन्त्य, स्थिर सरकार र आर्थिक समृद्धिका लागि बाम गठबन्धन तयार भएको दाबी गरे । समृद्धिको एउटा मात्र बाटो उद्योग भएको भन्दै भुसालले बाम गठबन्धनले समृद्धिका लागि उद्योग राजनीति गर्नुपर्ने वताए । राजनीतिमा रहेको भ्रष्टाचारको अन्त्य नभएसम्म कर्मचारीतन्त्रभित्रको भ्रष्ट्राचारको अन्त्य नहुने भन्दै भुसालले दलका नेताहरुले आफूबाटै यसको सुरुवात गर्नुपर्ने वताए । अख्तियार, न्यायालय जस्ता निकायमा समेत दलीय आधारमा नियुक्ती हुँदा राजनीतिक भ्रष्ट्राचारको अन्त्य हुन नसकेको र त्यसरी गरिएका नियुक्तीहरुमा राजनीतिक सौदाबाजी हुने गरेको भुसालको भनाई छ  ।

 नेता भुसालले बाम गठबन्धनको साझा एजेण्डा स्थिर सरकार, समृद्धि र सुशासन भएको र यसलाई पूरा गर्न नसक्ने हो भने मुलुक नै असफलतातर्फ जाने भएकाले अव आफूहरुसँग आर्थिक एजेण्डालाई सम्वोधन गर्नुको विकल्प नभएको उनकोे भनाई छ ।

 कार्यक्रममा बोल्दै प्रदेशसभाका सदस्यहरु भोजप्रसाद श्रेष्ठ, दधिराम न्यौपाने, डा. कृष्ण न्यौपाने र तुलसी चौधरीले बाम गठबन्धनको साझा घोषणापत्रले समेटेका मुद्दालाई कार्यान्वयन गर्न सके मात्रै मुलुक समृद्धिको युगमा प्रवेश गर्ने उल्लेख गर्दै अव बन्ने प्रदेश सरकारले समेत आर्थिक विकासलाई प्राथमिकता दिने धारणा व्यक्त गरे ।

 कार्यक्रममा नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले उद्योगमैत्री नीतिको अभावमा मुलुकका उद्योगधन्धाहरु संकटमा परेको र उत्पादन बढाउन नसकेको उल्लेख गर्दै उद्योगधन्धाहरुलाई राज्यको संरक्षण हुनुपर्नेमा जोड दिए । राज्यको संरक्षणकारी नीतिले मात्रै उद्योगधन्धा फस्टाउँछन् र उत्पादन बढाएर निर्यात गर्न सक्षम हुन्छन् उनले भने ।

 नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य एजाज आलमले औद्योगिक विकासबिना रोजगारी सिर्जना नहुने उल्लेख गर्दै बढ्दो बेरोजगारीको अन्त्य गर्न र युवाको विदेश पलायन रोक्नका लागि पनि उद्योग क्षेत्रमा लगानी र यसको संरक्षण जरुरी रहेको वताए ।

 रुपन्देही उद्योगसंघका अध्यक्ष दिनेशराज रेग्मीले उद्यमशिलताको बिकास गर्न उद्योग संघले बिभिन्न कार्य गर्ने गरेको वताए । त्यस अवसरमा उद्योगी व्यवसायीहरु डम्बरदेव अर्याल, बोनिन पिया, गणेशप्रसाद अधिकारी, पदमप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी लगायतले उद्योग व्यवसायको प्रवद्र्धन गर्ने गरी लगानीको वातावरण निर्माण र उद्योगमैत्री नीति निर्माणको खाँचो औंल्याएका थिए । 



Views: 2286