20th June | 2018 | Wednesday | 11:13:24 AM

देश अब आर्थिक क्रान्तितर्फ अगाडि बढ्छ : अध्यक्ष दाहाल

  POSTED ON : Sunday, 14 January, 2018 (7:34:20 AM)

देश अब आर्थिक क्रान्तितर्फ अगाडि बढ्छ : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समाजवाद उन्मुख अर्थतन्त्रका लागि सहकारी क्षेत्रलाई प्रभावकारीरुपमा अगाडि बढाउनुपर्ने बताएका छन् । 


हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको वार्षिक साधारणसभामा उनले निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारी क्षेत्रको सन्तुलनको खाँचो औँल्याउँदै सरकारले निर्दिष्ट गरेको क्षेत्राधिकारभित्र रही सहकारीले कार्य गरेमा सामाजिक समृद्धि कायम हुने विश्वास व्यक्त गरे । 


पूर्वप्रधानमन्त्री दाहालले राजनीतिक क्रान्ति सकिएर मुलुक अब आर्थिक क्रान्तितर्फ अगाडि बढेको अहिलेको अवस्थामा जनतालाई आर्थिकरुपमा सम्पन्न गराउनका लागि सहकारी क्षेत्रको महत्व रहेको प्रष्ट पारे । 


कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री विक्रमबहादुर थापाले मुलुकमा अर्थतन्त्रको दिगो विकासका लागि सहकारी क्षेत्रलाई व्यवस्थित र मर्या्दितरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए । 


राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाल, प्रदेशसभा सदस्य पशुपति चौलागाईं र केशव पोखरेललगायतले सहकारीलाई राज्यले अर्थतन्त्रको तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बाका रुपमा लिएको बताउँदै यसको विकासका लागि पनि ध्यान दिनुपर्ने बताए । 


सहकारीका अध्यक्ष केबी उप्रेतीले प्रगति प्रतिवेदन, नीति, कार्यक्रम तथा आर्थिक प्रतिवेदन र लेखा समितिका संयोजक राजु पौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे ।  


साधारणसभाबाट संस्थाले आर्थिक वर्ष २०७३÷७४ को कारोबारबाट आफ्ना शेयर सदस्यलाई १५ प्रतिशत मुनाफा प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

रासस