22nd June | 2018 | Friday | 10:43:46 PM

राजपा र फोरमबीच एकता अन्योलमा

  POSTED ON : Sunday, 14 January, 2018 (3:23:53 PM)

राजपा र फोरमबीच एकता अन्योलमा

गंगा बराल

काठमाडौं । प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपालको नेतृत्वमा प्रदेश सरकार गठनको तयारी भएको छ । उपेन्द्र यादव नेतृत्वको फोरमले प्रदेशसभामा प्रत्यक्ष र समानुपातिक गरी सर्वाधिक २९ सिट हासिल गरेकाले फोरमले मुख्यमन्त्रीसहित सरकारको नेतृत्व गर्ने भएको हो । निर्वाचनअघि दुई मधेसवादी दल फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच भएको सहमतिअनुसार बढी सिट हासिल गरेको फोरमलाई प्रदेश सरकारको नेतृत्व गर्ने बाटो खुलेको दुवै दलले बताएका हुन् ।

राजपा नेपालका वरिष्ठ उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लले चुनावी तालमेल गर्दा नै जसको सिट बढी आउँछ उसैले सरकार बनाउने सहमति भएको बताए ।

‘पहिले नै हामीबीच सहमति भएको हो त्यसैलाई आधार मान्छौं,’ शुक्लले भने, ‘मुख्यमन्त्री फोरमको र उपमुख्यमन्त्री राजपाको हुन्छ अन्य पद पनि आपसी छलफलबाट मिलाइन्छ ।’

फोरम नेपालका केन्द्रीय सदस्य डा शिवजी यादवले पनि संख्याको आधारमा नै पद बाँडफाँट हुने बताए । ‘अब तालमेलको प्रक्रिया अघि बढेको छ, त्यसबाट पछाडि फर्कन सकिँदैन,’ उनले भने, ‘यो एकता लामो समयसम्म टिकाइराख्नु आवश्यक छ, जनताले पनि यही म्यान्डेट दिएका छन् ।’

फोरम र राजपाबीच दुई नम्बर प्रदेशका सबै निर्वाचन क्षेत्रमा चुनावी तालमेल भएको थियो । यादवले सरकार निर्माण र अन्य राजनीतिक विषयमा प्रमुख नेताबीच छिट्टै छलफल हुने बताए ।

शुक्लले पार्टी एकताको केही कुरा नभएको तर भविष्यमा भने हुनैपर्ने तर्क गरे । ‘एकताको विषयमा कोही पनि नकारात्मक छैन तर अहिले नै यो विषय योजनामा परेको छैन,’ शुक्लले भने, ‘सहकार्य गर्नु आवश्यक छ तर धेरै जटिलता छन्, रणनीति र कार्यनीति प्रस्ट बनाउन सकियो भने एकता हुन सक्छ ।’ उनले पार्टीको सैद्धान्तिक धरातल पनि फरक भएको र नेताहरूमा स्वार्थ भएकाले पद बाँडफाँट प्रमुख समस्याका रूपमा आउन सक्ने खतरा भएको बताए ।

डा. शिवजी यादवले दुवै पार्टीबीच एकता हुनुपर्छ भनेर कार्यकर्ताहरूको दबाब आएको बताए । तर उनले अहिले नै त्यसका लागि कुनै खाका नबनेको जनाए । दुवै पार्टीको सैद्धान्तिक र व्यावहारिक बाटो फरक भएकाले पनि तत्काल सजिलैढंगले पार्टी एकता सम्भव नभएको यादवले जनाए ।

प्रदेश नम्बर २ को प्रदेशसभामा ६४ जना प्रत्यक्ष निर्वाचित भएकोमा राजपाले १५ सिट र फोरमले २० सिट जितेको छ । समानुपातिकमा राजपाले १० सिट र फोरमले ९ सिट पाएको छ । प्रत्यक्ष र समानुपातिक जोड्दा फोरमको सिट २९ र राजपाको २५ हुन्छ ।

प्रत्यक्षतर्फका ६४ सिटमा एमालेले १४, कांग्रेसले ८, माओवादीले ६ र स्वतन्त्रले एक सिट जितेका छन् भने समानुपातिकतर्फका ४३ सिटमा कांग्रेसले ११, एमालेले ७, माओवादीले ५ र नेपाल संघीय समाजवादी पार्टीले एक सिट पाएका छन् ।