25th April | 2018 | Wednesday | 3:25:59 AM

एक हप्ता भित्र पार्टी एकता : रावल

हिमालय टाइम्स   POSTED ON : Monday, 12 February, 2018 (4:33:00 PM)

एक हप्ता भित्र पार्टी एकता :  रावल

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताए । 

रावलले संयुक्त सरकार सञ्चालनकै अवस्थामा पार्टी एकता प्रक्रियालाई पनि निरन्तरता दिनेबारे आजको भेटवार्तामा छलफल भएको विश्वास दिलाए । उनले अबको एक हप्ताभित्रै एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने स्पष्ट पारेका छन् ।

रावलले भने,‘अबको प्रधानमन्त्री ओली नै बन्नुहुन्छ, यो पनि भन्ने विषय हो र ? जनताले त्यही भन्छन्, जनमतले त्यही भनेको छ, पत्रपत्रिकाले त्यही भनेको छ ।’

कुन नेतालाई कुन बेला कुन जिम्मेवारी दिने भन्ने कुरा समयले निर्धारण गर्ने कुरा भएकोले दुवै पार्टी एक भएकोले आलोपालो भन्ने कुरा नहुने रावलको भनाई थियो ।

त्यस्तै रावलले राष्ट्रपति, उपराष्ट्रपति लगायत महत्वपूर्ण पदमा सहमतिकै आधारमा कुन नेतालाई कुन जिम्मेवारी दिने भन्नेबारे निर्णय लिईनेपनि जानकारी दिए ।

देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चाँडो पार्टी एकता आवश्यक रहेको उनको भनाइ थियो । पार्टी एकीकरण प्रक्रियाबारे पार्टी्भित्र र बाहिर विभिन्न धारणा आउनु स्वाभाविक भएको उपाध्यक्ष रावलले बताए । 

त्यस्तै उनले वर्तमान सरकारले गरेका कतिपय गलत निर्णयहरु पूनरावलोकन गर्ने र निर्वाचन आचारसंहित भए खारेज गर्ने समेतको चेतावनी दिए । उनले भने,‘निर्वाचन आचारसंहिता विपरित गरिएका निर्णयहरु पूनरावलोकन गरिन्छ, अनपर्युक्त निर्णयहरु खारेज गरिन्छ।’ उनले भने ।