25th April | 2018 | Wednesday | 3:24:04 AM

पार्टीमा संयुक्त नेतृत्व सहमति नजिक

  POSTED ON : Tuesday, 13 February, 2018 (12:46:00 PM)

पार्टीमा संयुक्त नेतृत्व सहमति नजिक

काठमाडौं । दुई कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकता प्रक्रिया जटिल बन्दै गएको र अन्योलमा परेको ठानिएका बेला दुई पार्टीका अध्यक्षबीच सोमबार भएको एकान्त वार्ता सकारात्मक भएको जनाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ललितपुरको मानभवनस्थित एक घरमा तीन घण्टाभन्दा बढी एकान्त वार्ता भएको थियो । ओली र दाहाल दुवैका सचिवालयले वार्ता सकारात्मक भएको जनाएका छन् । ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार दुई अध्यक्षबीच पार्टी एकता र सरकार गठनबारे गम्भीर छलफल भएको छ । सोमबारको छलफल पार्टी एकतामा बढी केन्द्रित भएको र सहमति नजिक पुगेको जनाइएको छ । 

वार्ताबारे दुवै दलका नेताहरूले खुलेर प्रस्ट पार्न चाहेनन् । स्रोेतहरूका अनुसार दुई अध्यक्ष करिब सहमतिमा पुगेका छन् । मंगलबार बिहान पनि वार्ता हुनेछ । दुई अध्यक्ष सहमतिमा पुगेपछि सम्भवतः बुधबार पार्टी एकता संयोजन समितिको बैठक हुनेछ । संयोजन समितिको बैठकले एकता प्रक्रिया चाँडो निष्कर्षमा पु¥याउनेछ । 

स्रोतका अनुसार ओली प्रधानमन्त्री बन्नेछन् र पार्टीको नेतृत्वमा दुवै नेता रहनेछन् । ओली र दाहाल दुवैले ‘सहअध्यक्ष’ का रूपमा एकता महाधिवेशनसम्म बराबरीको हैसियतमा पार्टीको नेतृत्व गर्नेछन् । पार्टीको नेतृत्व साझा हुने भए पनि सरकारको नेतृत्व आधा–आधा आलोपालो गर्ने कि ओली एक्लैले गर्ने भन्नेमा सहमति भइसकेको छैन । पहिले ओली नै प्रधानमन्त्री बन्नेमा दाहाल सहमत छन् तर उनी साढे दुई वर्षपछि आफूले पालो पाउनुपर्ने पक्षमा छन् । ओली यसमा सहमत भइसकेका छैनन् । माओवादी केन्द्रका नेताहरूले दाहालले अध्यक्ष पद पाउनुपर्ने धारणा सार्वजनिक गर्दै आएका छन् । 

स्रोतका अनुसार परिस्थिति अन्यथा विकसित नभए सरकार गठन हुनुअगावै पार्टी एकताको खाका तयार हुनेछ । सरकार गठन पहिले कि पार्टी एकता घोषणा पहिले भन्ने टुंगो लागेको छैन । एकताको खाका तयार भए कुन पहिले भन्नेमा विवाद हुनेछैन । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुनासाथ सरकार गठन प्रक्रिया अघि बढाउन दुवै नेता सहमत छन् । एकताको खाका तयार भए सरकार गठनपछि एकता घोषणा हुनेछ । सबै विषयमा सहमति जुटे सरकार गठनअघि नै पनि एकता घोषणा हुन सक्नेछ ।

गत सप्ताहान्तमा दाहालले गृहजिल्ला चितवन पुगेर ‘आफू अर्को फड्को लिन तयार रहेको’ बताएपछि पार्टी एकतामा समस्या सिर्जना भएको ठानिएको थियो । उनले आफू काठमाडौं फर्केपछि ओलीसँग गम्भीर वार्ता गर्ने र टुंगोमा पुग्ने बताएका थिए । दाहालको भनाइ एमालेप्रतिको असन्तुष्टिका रूपमा आएको हुनसक्ने शंका एमाले नेताहरूमा थियो । सोमबारको वार्तामा दाहालले आफ्नो भनाइ पार्टी एकतामै फड्को मार्ने सन्देशका लागि आएको भन्ने प्रस्टीकरण दिएको जनाइएको छ ।