18th February | 2018 | Sunday | 5:04:11 AM

सबै कम्युनिष्ट एउटै केन्द्रमा समाहित हुन जरुरी : दाहाल

  POSTED ON : Wednesday, 14 February, 2018 (9:04:17 AM)

सबै कम्युनिष्ट एउटै केन्द्रमा समाहित हुन जरुरी : दाहाल

हिमालय टाइम्स

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी क्रान्तिको अभिभारा पूरा गर्न नेकपा एमालेसँग एकता प्रक्रिया अघि बढाएको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजको राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरणमा जनयुद्धको विशेष भूमिका बुझेको भन्दै दाहालले प्रशंसासमेत गरे । उनले शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्ने लक्ष्यका साथ एमालेसँग आफ्नो पार्टीले एकता प्रक्रिया अघि बढाएको बताए ।

‘२३ औं जनयुद्ध दिवस’ का अवसरमा मंगलबार माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सबै कम्युनिष्ट शक्तिलाई एउटै कम्युनिष्ट केन्द्रमा सामेल हुन पनि उनले आहृवान गरे । ‘संविधानमा समाजवाद लेखेर वा समाजवादको नारा लगाएरमात्र समाजवादी क्रान्ति सम्पन्न हुन सक्दैन,’ उनले भने, ‘समृद्धि र समाजवाद निर्माण गर्ने यो ऐतिहासिक अवसरमा सबै कम्युनिष्ट एउटै केन्द्रमा समाहित हुन जरुरी छ ।’  

अध्यक्ष दाहालले राजनीतिक नेतृत्वले देश र जनतालाई केन्द्रमा राखेर बेलाबखत जोखिम लिनुपर्ने पनि बताए । त्यस्तो जोखिम आफूले पटकपटक लिएको उनको भनाइ थियो । २०४६ सालअगाडि नै हतियार जम्मा गरेर क्रान्ति गर्ने सोच रहेको स्मरण गर्दै उनले त्यतिखेर आमजनता पञ्चायतविरोधी आन्दोलनको मनस्थितिमा रहेकाले छापामार युद्धले पञ्चायतलाई नै सहयोग पुग्ने निष्कर्षमा पुगेर आफूहरू जनआन्दोलनमा सहभागी भएको बताए । 

‘त्यतिखेर म पार्टीको महामन्त्री थिएँ र युद्धको प्राविधिक तयारीको जिम्मेवारी मेरो नै थियो’, उनले भने, ‘वस्तुगत अवस्थाको विश्लेषण गर्दा नयाँ जनवादी क्रान्ति सुरु गर्दा पञ्चायतलाई नै फाइदा पुग्ने हामीलाई लाग्यो । जनताको चाहना पञ्चायत फाल्ने थियो । हामी संयुक्त आन्दोलनमा होमियौं ।’ २०४६ पछि पाँच वर्ष संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्धको सुरुवात गर्नु आत्मगत र वस्तुगत दृष्टिकोणले वैज्ञानिक थियो भन्दै अध्यक्ष दाहालले त्यतिखेर संसदीय व्यवस्थाको उपयोग गरेर जनयुद्धको आधार तयार पारेको बताए । 

‘म सबैलाई स्मरण गराउन चाहन्छु, हामी त्यतिखेर पनि संसदवादमा फसेनौँ । इतिहासमा सधैँ अगाडि बढेरमात्रै क्रान्ति हुँदैन । कतिपय अवस्थामा पछाडि हटेर पनि अगाडि बढ्नुपर्छ । यसो गरिएमात्रै क्रान्ति सफल हुन्छ ।’ २०४८ सालको संसदीय निर्वाचन उपयोग गर्दा र पछि जनयुद्ध सञ्चालन गर्दासमेत विभिन्न कोणबाट आलोचना भएको स्मरण गर्दै दाहालले द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणबाट वस्तुगत यथार्र्थ बुझेर सोहीअनुरूप अगाडि बढ्न सक्नुपर्ने बताए । जनयुद्ध ६ महिना या १ वर्षमै सकिन्छ भन्ने र संसदवादमा गएर टुंगिन्छ भन्नेहरू गलत सावित भएको उनको भनाइ थियो ।

त्यतिखेर जनयुद्ध समाप्त पार्न संसारभरका प्रतिक्रियावादी सक्रिय भएझैँ अहिले कम्युनिष्ट एकताको महान अभियान बिथोल्न सक्रिय भइरहेको भन्दै दाहालले सबै वामशक्तिहरू एक ठाउँमा भएको अवस्थामा नेपालमा समाजवाद निर्माण र समृद्धिको आधार तयार गर्न सकिने विश्वास प्रकट गरे । ‘अहिले समृद्धि र समाजवादको आधार तयार गर्ने ऐतिहासिक र असाधारण अवसर हाम्रासामु छ’, उनले भने, ‘लहड र रहरले क्रान्ति हुन्न, त्यसो हुने भए हामीले २०४६ सालअघि नै जनयुद्ध सुरु गरिसक्थ्यौं त्यसैले वैद्य, विप्लवलगायत सबै कम्युनिष्टलाई इतिहासको आवश्यकता बुझेर महान एकता प्रक्रियामा सहभागी हुन आहृवान गर्दछु ।’ 

सबै कम्युनिष्ट शक्ति एक ठाउँमा नआएसम्म समाजवाद स्थापना हुन नसक्ने दाहालको भनाइ थियो । उनले भने, ‘विप्लवजी, वैद्यजीहरूलाई द्वन्द्वात्मक भौतिकवादलाई यथार्थमा बुझ्न विशेष अपिल गर्दछु । माओले मास लाइनको कुरा गर्नुहुन्थ्यो, अहिले नेपाली जनताले के चाहेका छन्, त्यो बुझेर एकतामा आउन आहृवान गर्न चाहन्छु ।’ 

सम्बोधन अघि २३ औं जनयुद्ध दिवस समारोह उद्घाटन गर्दै अध्यक्ष दाहालले २३ किलोको केक काटेका थिए ।

‘फेरि प्रधानमन्त्री हुन्छु’

चितवन (हिटा) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू ढिलो–चाँडो फेरि प्रधानमन्त्री बन्ने बताएका छन् । गृहजिल्ला चितवनमा शरदपुर माविको ४३ औं वार्षिकोत्सव एवं अभिभावक दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उनले नेपाली कांग्रेसले आफूलाई प्रधानमन्त्री हुन बारम्बार प्रस्ताव गरेको खुलासा गरे । उनले आफू ‘ढिलो–चाँडो प्रधानमन्त्री बनेर आउँछु भन्ने विश्वास’ रहेको बताए । दाहालले वाम गठबन्धनबाटै प्रधानमन्त्री बन्ने या कांग्रेसले गरेको प्रस्तावअनुसार बन्ने भनेर प्रष्ट खुलाएनन् । उनको यो अभिव्यक्ति पार्टी एकतापछि आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार आएको ठानिएको छ ।   

सोमबार दाहाल र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भएको वार्तामा दुवै नेता पार्टीको सहअध्यक्ष बन्ने र आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा सहमति नजिक पुगेको बताइएको थियो । दाहालले देशको समृद्धिका लागि संविधान निर्माणमा मुख्य भूमिका निर्वाह गरेका प्रमुख तीन दल एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेसबीच सहकार्य जरुरी रहेको बताए । 

दाहालले चितवनको विकासका लागि आफू प्रयासरत रहेको भन्दै नयाँ सरकारले भरतपुर महानगरपालिकामा निर्माण हुने भनिएको चक्रपथका लागि दुई अर्ब बजेट विनियोजन गर्ने जानकारी दिए ।


सम्बन्धित सामग्री: