21st September | 2018 | Friday | 12:14:51 PM

भुटानी नेता रिजाल भन्छन्–‘मलाई असुरक्षा महसुस भो’

  POSTED ON : Thursday, 12 April, 2018 (8:17:52 PM)

भुटानी नेता रिजाल भन्छन्–‘मलाई असुरक्षा महसुस भो’


हिमालय टाइम्स

काठमाडौं । नेपालमा बस्दै आएका भुटानका मानवअधिकारवादी नेता टेकनाथ रिजालले आफू असुरक्षित भएको बताएका छन् । हिमालय टाइम्ससँग बुधबार झापाबाट कुरा गर्दै रिजालले सो कुरा बताएका हुन् । 

‘नेपाल सरकारले हामीलाई वास्ता गर्न छोड्यो, हामी त यहीं सड्ने भयौं’, नेता रिजालले झापाबाट फोनमा भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमा गएर हाम्रो बारेमा केही कुरा गरिदिनुहोला भनेको केही पनि गरेजस्तो लागेन । सम्पर्कको प्रयास गर्दा पनि सम्पर्क हुन नसकेकाले हामी झन्झन् अप्ठेरोमा प¥यौं,’ रिजालले बताए । 

असुरक्षित के कारणले महसुस गर्नुभयो भन्ने हिमालय टाइम्सको जिज्ञासामा रिजालले आफू बस्दै आएको झापाको बिर्तामोडमा सरकारले यसअघि दुईजना सुरक्षाकर्मी खटाइदिएकोमा केही दिन अघिदेखि उनीहरूलाई फिर्ता पठाइएकाले त्यस्तो महसुस भएको जनाए । 

तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पालामा आफूलाई सरकारले आवश्यक सुरक्षा व्यवस्था र केही आर्थिक सहयोगसमेत गरेको उनले बताए ।

पञ्चायतका अन्तिम समयमा तत्कालीन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको सरकारले उनलाई झापाबाट नै पक्राउ गरी भुटानको तत्कालीन सरकारको आग्रहमा भुटानतर्फ ‘डिपोट’ गरेको थियो भने उनी केही वर्ष भुटानी जेलमा परेका थिए । रिजालले भने, ‘अनेकथरी मान्छे आउँछन्, केही हुने हो कि भन्ने डर लागेको छ ।’

नयाँ सरकार बनेपछि रिजालले केही साताअघि झापाबाट काठमाडौं आएर तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटालाई भेटी बाँकी रहेका भुटानी शरणार्थीलाई स्वदेश फिर्ताका लागि सरकारले पहल गरिदिन आग्रह गरेका थिए । बाँकी रहेका भुटानी शरणार्थीका बालबालिकालाई नेपालमा जन्मदर्ताको प्रमाणपत्र दिन थालिएकाले पछि त्यसैबाट उनीहरूले नेपालको नागरिकता लिन सक्ने र शरणार्थी नेपालमै मिल्ने भएकाले त्यसो नगर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका थिए । 

तत्कालीन गृहसचिव सापकोटाले आफूले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई यसबारेमा सबै कुरा बताउने र त्यसपछि काम अघि बढाउन सजिलो हुने जानकारी गराएको रिजालले बताए । ‘तर, अहिले सचिव नै फेरिनुभएछ । मेरो कुरा त्यत्तिकै छायामा प¥यो,’ रिजालले भने । 

काठमाडौं आएको बेलामा ‘प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग समेत भेट्ने प्रयास गरेको भएपनि उहाँहरूबाट समय पाउन नसकेको’ रिजालको गुनासो रहेको छ । 

सन् १९९० को दशकको सुरुबाट नेपालमा आएका १ लाखभन्दा बढी  भुटानी शरणार्थीमध्ये अहिले अधिकांश तेस्रो देशमा गएका भए पनि करिब साढे ९ हजार अहिले झापा र मोरङका शरणार्थी शिविरमा बस्दै आएका छन् । बाँकी रहेका शरणार्थीलाई भुटान फर्काउने व्यवस्था गर्नुपर्ने रिजालको तर्क रहँदै आएको छ । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोग (युएनएचसिआर) ले भने बाँकी रहेकालाई के गर्ने भन्ने सम्बन्धमा भुटान सरकार र नेपाल सरकारले निर्णय गर्नुपर्ने जनाउँदै आएको छ । 

यसैबीच भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेलले पनि हिमालय टाइम्ससँगको कुराकानीमा आफूहरूको समस्याका बारेमा नेपालका प्रधानमन्त्री ओलीले भारतसँग केही कुरा राखिदेलान् भन्ने आशा गरेको भएपनि त्यस्तो भएजस्तो आफूलाई नलागेको गुनासो गरे । 


Views: 1