21st September | 2018 | Friday | 12:38:29 PM

पार्टी एकता लगायतका विषयमा छलफल गर्न एमाले पोलिटब्यूरो बैठक बस्दै

हिमालय टाइम्स   POSTED ON : Sunday, 15 April, 2018 (8:27:48 PM)

पार्टी एकता लगायतका विषयमा छलफल गर्न एमाले पोलिटब्यूरो बैठक बस्दै

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले माओवादी केन्द्रसँगको एकताको बारेमा छलफल गर्न एमालेले तत्काल पोलिटब्यूरो बैठक डाक्न तयारी थालेको छ ।

माओवादी केन्द्र र एमालेबीच यही बैशाख ९ गते पार्टी एकता गर्ने दुबै दलका शीर्षस्थ नेताले उद्घोष गरिसकेको अवस्था छ । तर, तोकिएको मितिमा पार्टी एकता नहुने देखिएसँगै एमालेले  यस सम्बन्धमा निर्णय गर्न पोलिटब्यूरो बैठक बोलाउन लागेको हो । 

माओवादी केन्द्रले भने पार्टी एकतामा सम्मान जनक ५०–५० प्रतिशत हुनुपर्ने बताउँदै आएको छ भने एमाले चुनावी परिणामलाई आधार मानेर मात्र पार्टी एकिकरण गर्नुपर्ने अडानमा छ । त्यसैगरी जनयुद्ध शब्द राख्ने सन्दर्भमा भाषा मिलाउन सकिने एमाले नेताहरुले बताएका छन् भने चुनाव चिन्ह सूर्यमा भने दुवै दल सहमत हुने सम्भावना छ ।

यसअघि आइतवार विहान प्रचण्ड र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच पार्टी एकीकरणको बारेमा छलफल भएको थियो । तर, छलफलमा के विषयमा के कुरा भयो भन्ने दुबै नेताले खुलाएका छैनन् । 

यसैवीच पार्टी एकीकरण लगायतका विषयमा छलफल गर्न एमालेले बैशाख ७ गते पोलिटब्यूरो बैठक, स्थायी समिति र केन्द्रिय कार्यसमिति बैठक बोलाउने तयारी गरेको एक उच्च स्रोतले बताएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न तीन दिने भारत भ्रमणको बारेमा पनि समीक्षा गरिने स्रोतले बतायो । 

 


Views: 0