24th April | 2018 | Tuesday | 5:21:35 PM

कांग्रेस केन्द्रीय बैठक शुक्रबार

हिमालय टाइम्स   POSTED ON : Tuesday, 17 April, 2018 (1:37:08 PM)

कांग्रेस केन्द्रीय बैठक शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको स्थगित बैठक आउँदो शुक्रबारदेखि सुरु हुने भएको छ । पूर्वमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको निधनपछि स्थगित बैठक शुक्रबारका लागि बोलाइएको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको स्थगित बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी बोलाइएको जानकारी दिएका छन् । नेता खड्काको निधनपछि अर्को सूचना जारी नभएसम्मका लागि भन्दै चैत १७ गते बैठक स्थगित गरिएको थियो ।

निर्वाचनमा पार्टीले बेहोरेको पराजय, नेतृत्वप्रतिको असन्तुष्टिलगायत समग्र विषयमा छलफल गर्न चैत ९ गतेदेखि कार्यसमिति बैठक सुरु भएको थियो । बैठकमा करिब दुई दर्जन केन्द्रीय सदस्यले आफ्ना धारणा राख्न बाँकी छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नाम लेखाउनुभएका २३–२४ जना सदस्यले धारणा राख्न बाँकी छ, तीनचार दिनमा बोल्ने क्रम सकिन्छ होला ।’

बैठकले महासमिति बैठक आहृवान गर्ने जनाइएको छ । स्रोतका अनुसार पार्टीभित्र देखिएका विवाद सम्बोधन गर्न तथा संघीय संरचनाअनुसार विधान तयार पार्नका लागि महासमिति बैठक आहृवान गर्ने तयारी भएको हो । बैठकले विधान मस्यौदा समिति, दस्तावेज निर्माण समिति, महासमिति बैठक तयारी समितिलगायत केही समिति पनि गठन गर्ने छ ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कांग्रेसले पराजय बेहोरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले पार्टी नेतृत्वमाथि दोषारोपण गर्दै आएको छ । नेतृत्वकै कमजोरीका कारण पार्टी पराजित भएको पौडेल पक्षको आरोप छ ।

सभापति शेरबहादुर देउवाले भने एमाले र माओवादीबीच भएको तालमेलका कारण पार्टीले पराजय बेहोर्नुपरेको बताउँदै आएका छन् । केन्द्रीय समिति बैठकमा समेत देउवा पक्ष र पौडेल पक्षका केन्द्रीय सदस्यले यस्तै आरोप–प्रत्यारोप गर्दै आएका छन् ।

निर्वाचनपछि पहिलोपटक खुला अजेन्डाका साथ बैठक आहृवान गरिएका कारण पनि कांग्रेसभित्रका आरोप–प्रत्यारोप तथा मतान्तर बैठकमा प्रकट भएको प्रवक्ता शर्मा बताउँछन् । ‘यसअघि केन्द्रीय समितिका चार बैठक तत्कालीन आवश्यकताअनुसार तोकिएका अजेन्डामा छलफल गर्न बोलाइएका कारण पनि खुलेर यसरी निर्वाचनको समीक्षा हुन पाएको थिएन,’ उनले भने, ‘अहिले सबै विषयमा छलफलका लागि खुला गरिएको छ, त्यसैले पनि बैठक लम्बिएको छ । तर बैठक लम्बिए पनि यसको निष्कर्ष सुखद् नै हुनेछ ।’ उनका अनुसार केन्द्रीय कार्यसमितिको बैठकले पार्टीलाई एकजुट बनाउनका साथै आगामी दिनमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रस्ट दृष्टिकोण र योजना ल्याउने छ ।