18th October | 2018 | Thursday | 12:39:35 PM

ओली–दाहाल अचानक भेट, विवाद उस्तै

हिमालय टाइम्स   POSTED ON : Tuesday, 17 April, 2018 (1:42:56 PM)

ओली–दाहाल अचानक भेट, विवाद उस्तै

हिमालय टाइम्स

काठमाडौं । वैशाख ९ मा पार्टी एकता घोषणाको योजना बनाएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रका दुई शीर्ष नेताबीच विवादित विषयमा छलफल भए पनि ठोस सहमति जुट्न सकेको छैन । आइतबार आरामका लागि भन्दै सिन्धुपाल्चोकको सुकुटे पुगेका माओवादी केन्द्रका अध्यक्ष सोमबार नै राजधानी फर्किएर प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा पार्टी एकतामा देखिएका अड्चनबारे दुई नेताबीच छलफल भएको स्रोतले जानकारी दिएको छ । मुख्यतया तीन विषयमा विवाद देखिएको छ । एकीकृत पार्टीको चुनाव चिहृनका साथै विधानमा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्ने विषयमा कार्यदलले टुंगो लगाउन सकेको थिएन । त्यस अतिरिक्त माओवादी केन्द्रले एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि लिएर संगठनका विभिन्न तहमा ‘सम्मानजनक’ हुने गरी एकता गर्नुपर्नेमा जोड दिदैं आएको छ । माओवादी केन्द्रको यस्तो माग दुवै पार्टीको ५०–५० प्रतिशत हिस्सेदारी हुने गरी सबै कमिटी गठन हुनुपर्ने उद्देश्यबाट प्रेरित रहेको स्रोत बताउँछ ।

तीन विवादित विषयमध्ये सोमबार ओली र दाहालबीच ‘सम्मानजनक एकता’ को विषयमा मात्र छलफल भएको बताइएको छ । छलफलमा निष्कर्ष निस्कन नसकेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले पार्टीमा छलफल गर्ने भन्दै एमाले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका हुन् । बैठकमा एकता प्रक्रियामा देखिएका विवादका बारेमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार ओली र दाहालबीचको भेटमा एकीकृत पार्टीमा दुवै दलबाट कुन अनुपातमा सदस्य रहने भन्ने विषयमा छलफल भएको छ । दुई नेताबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको जानकारी दिदैं उनले एकता संयोजन समितिको विषयमा यसबारे थप छलफल गर्ने निर्णय भएको बताए । माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार एकता संयोजन समितिको बैठकमा विवादित विषय छलफल गरी टुंग्याउने सहमति दुई नेताबीच भएको छ ।

दुवै दलका नेताहरू कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसर पारेर वैशाख ९ गते पार्टी एकताको घोषणा हुने दाबी गर्दै आएका भए पनि विवादित विषय टुंगिन नसक्दा एकता प्रक्रिया अन्योलमा परेको छ । प्रधानमन्त्री ओलीको भारत भ्रमणलगत्तै एकता संयोजन समितिको बैठक बस्ने भनिए पनि विवादित विषय चर्कदैं गएका कारण ओली र दाहाल अन्य कार्यक्रममा व्यस्त देखिएर संयोजन समितिको बैठक पन्छाउँदै आएका थिए ।

पार्टी एकताका लागि गठित दुई कार्यदलले चैत २२ गते नै एकता संयोजन समितिको बैठकमा दुवै दलका अध्यक्षलाई आ–आफ्नो प्रतिवेदन बुझाए पनि सो प्रतिवेदनमाथि छलफल हुन सकेको छैन । कार्यदलस्तरमा सहमति हुन नसकेको विषयमाथि पनि संयोजन समितिले नै छलफल गर्दै निष्कर्ष निकाल्नु पर्ने भएकाले एक–दुई दिनमै सहमति जुटाउन नेताहरूले चामत्कारिक शैली नै देखाउनुपर्ने हुन्छ । अन्यथा वैशाख ९ मा गर्ने भनिएको एकता सम्भव देखिदैंन ।


मुख्य चुनौती

हाल एमालेमा १९८ केन्द्रीय सदस्य छन् भने माओवादी केन्द्रमा ३ हजार ९९९ छन् । एकीकृत पार्टीमा २९९ केन्द्रीय सदस्य रहने गरी कार्यदलले प्रतिवेदन तयार पारेको छ । दुवै दलका गरी ४ हजार १९७ केन्द्रीय सदस्य रहेकोमा एकीकृत पार्टीमा २९९ मात्र समेटिने भएकाले बाँकी ३ हजार ८९८ केन्द्रीय सदस्यलाई कसरी व्यवस्थापन गर्ने भन्ने चुनौती व्याप्त छ । पोलिटब्युरो सदस्य र स्थायी समिति सदस्यमा पनि यस्तै समस्या छ ।

यस्तै १० वर्ष लामो जनयुद्धको पृष्ठभूमिबाटै तत्कालीन सात राजनीतिक दलसँग सहकार्य गरी मुलुकमा राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरेको माओवादीले एकीकृत पार्टीको विधानमा ‘जनयुद्ध’ शब्दलाई राख्नु आफ्नो प्रतिष्ठाको विषय बनाएको छ । तर जनयुद्धका नाममा आफ्ना कार्यकर्तासमेत तत्कालीन विद्रोही पक्षबाट मारिएका कारण पार्टीको विधानमै ‘जनयुद्ध’ समावेश गर्दा कार्यकर्तापंक्तिमा हीनता आउने भन्दै एमालेकै कतिपय नेताले त्यसको विरोध गर्दै आएका छन् ।

चुनाव चिहृनबारे देखिएको विवाद पनि सामान्य मानिएको छैन । एमाले आफ्नो चुनाव चिहृन जनतामा लोकप्रिय भइसकेको तर्क गर्दै त्यसमा फेरबदल गर्न नहुने पक्षमा छ । तर माओवादी केन्द्रले पार्टी एकतालाई झल्काउने गरी चुनाव चिहृन परिमार्जन गर्नुपर्ने तर्क गर्दै आएको छ । उसले एमालेको चुनाव चिहृन ‘सूर्य’ भित्र आफ्नो चुनाव चिहृन ‘हँसिया हथौडा’ समावेश गरी एकतालाई प्रतिबिम्बित गराउन सकिने प्रस्ताव राखेको छ । तर सूर्य चिहृन मास्ने बित्तिकै कार्यकर्ता तथा जनतामा नकारात्मक सन्देश जाने र लोकप्रियता खस्कने एमालेका नेताहरू बताउँछन् ।

निष्कर्षमा पुग्न हतार नगरिने

पार्टी एकताका दिशामा देखिएका यी अड्चन आपसी छलफलबाटै हटाउन सकिने भन्दै दुवै दलका नेता कुनै पनि निष्कर्षमा पुग्न हतार गर्न नहुने पक्षमा देखिएका छन् । उनीहरू वैशाख ९ को समयसीमा कटे पनि विवादित विषयलाई सूक्ष्म रूपमा केलाएर उचित समयमा उचित तरिकाले पार्टी एकता गर्नुपर्ने बताउँछन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी एकता गर्ने भनेरै चुनावमा सहकार्यदेखि केन्द्र र प्रदेश सरकार गठनसम्मका विभिन्न चरण पार गरिसकेको अवस्थामा अहिले देखिएका विवादको समाधान हुनै नसक्ने होइन । दुवै पार्टीका अध्यक्ष एकताका लागि सकारात्मक रहेको र जनतामा समेत पार्टी एकता हुने खबरले उत्साह बढेको भन्दै यसलाई कायम राख्दै विवाद समाधानमा अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

   


Views: 4