19th October | 2018 | Friday | 10:49:51 AM

दाहाल र नेपाललाई एकता भाँडिने डर

हिमालय टाइम्स   POSTED ON : Wednesday, 16 May, 2018 (1:21:01 PM)

दाहाल र नेपाललाई एकता भाँडिने डर

काठमाडौं । एमाले नेता माधवकुमार नेपालले पार्टी एकतालाई निष्कर्षमा पु¥याउन विवादित विषयमा सामूहिक रूपमा छलफल गर्नुपर्ने खाँचो औंल्याएका छन् । उनले एमाले र माओवादी केन्द्रका अध्यक्षबीच हुँदै आएको ‘वान–टु–वान’ वार्तामा के–कस्ता विषयमा कस्तो धारणा बनेको छ भन्ने जानकारी बाहिर नआउँदा विवाद समाधानका लागि आफूहरूले प्रयास गर्न नसकेको बताए । 

मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा एमाले नेता नेपालले एकता संयोजन समितिको बैठक राखेर विवादित विषयमा दुवै पक्षबीच छलफल गर्न उचित हुने सुझाव दिए ।

पछिल्लो समय एमाले र माओवादी केन्द्रबीच विभिन्न विषयमा एकापसमा आशंका र अविश्वास बढिरहेको चर्चा चलेकै समयमा माओवादी केन्द्रका अध्यक्ष दाहाल एमाले नेता नेपाललाई भेट्न मंगलबार बिहान ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान पुगेका थिए । भेटमा दाहालले पार्टी एकतामा भइरहेको ढिलाइ र हालैका दिनमा दुवै दलका कार्यकर्ताबीच देखिएको आरोप–प्रत्यारोपबारे चर्चा गरेका थिए ।

खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि माओवादी केन्द्रका कार्यकर्तापंक्तिले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको खुलेर आलोचना गरेका छन् । सामाजिक सञ्जालमा माओवादी कार्यकर्ताले ओलीको ‘राष्ट्रवादी चरित्र’ भित्रको असली अनुहार मोदीको भ्रमणमा प्रकट भएको तर्क गरेका छन् ।

उनीहरूले अरुण तेस्रो जलविद्युत् आयोजनाको शीलान्यास, मोदीको भ्रमणको बहानामा भारतीय सुरक्षाकर्मीको परेडलगायत विषयमा चर्को असन्तुष्टि जनाएका छन् । कार्यकर्तापंक्तिको चर्को विरोधपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी एकता नै संकटमा पर्ने हो कि भन्ने चिन्ताका साथ एमाले नेता नेपाललाई सहयोगी भूमिका निर्वाहका लागि आग्रह गरेको बताइएको छ । 

नेता नेपालले पार्टी एकताका सन्दर्भमा देखिएका विवादका विषय समाधानमा दुवै दलका अध्यक्षलाई एकता संयोजन समितिले जिम्मेवारी दिएदेखि के–कस्ता विषयमा कति प्रगति भयो भन्नेबारे आफूहरूलाई राम्रो जानकारीसमेत हुन नसकेको भन्दै सामूहिक रूपमा छलफल गरेर त्यस्ता विषय टुंग्याउन उपयुक्त हुने सुझाव दिएका थिए ।

स्रोतका अनुसार सबै विषयमा एकता संयोजन समितिमा छलफल भए सहमतिमा पुग्न सहज हुने एमाले नेता नेपालको तर्क थियो । ‘अहिले त हामीलाई नै थाहा छैन, के–के विषयमा तपाईंहरू (ओली र दाहाल) बीच छलफल भयो र कस्तो नतिजा आयो ?’ नेता नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो अवस्थामा हामीले के आधारमा कसरी सहमतिको प्रयास गर्ने ?’

माओवादी केन्द्रका अध्यक्ष दाहालले ओलीसँगको भेटमा भएका प्रगति र सुल्झन बाँकी विषयबारे भने नखुलाएको स्रोत बताउँछ । विवादित विषयमा सहमति खोज्न एकता संयोजन समितिको बैठक बोलाउनुपर्ने एमाले नेता नेपालको प्रस्तावमा भने उनी सकारात्मक रहेको बताइएको छ ।

यसैबीच मंगलबारै माओवादी केन्द्रका दोस्रो तहका नेताले पार्टी अध्यक्ष दाहालसँग भेट गरी एकता प्रक्रियाका बारेमा चासो राखेका छन् । जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेतलगायत नेताहरूले अध्यक्ष दाहालसमक्ष भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि सामाजिक सञ्जालमा भएका टिका–टिप्पणी, कार्यकर्ताको भावनालगायतका विषय उजागर गरेको बताइएको छ । उनीहरूले एकता प्रक्रियामा भइरहेको ढिलाइले कार्यकर्तापंक्तिमा अनेक आशंका उब्जन थालेको भन्दै यथास्थितिमा पार्टी संगठनसमेत कमजोर हुँदै गएको जानकारी गराएका छन् ।

‘पार्टी संगठन सुदृढीकरणका कार्यक्रमसमेत अहिले ठप्प छ, पार्टी एकता भइहाल्छ भनेर संगठनात्मक गतिविधिलाई थाँती राखिएको छ,’ दाहालसँगको भेटमा सहभागी एक नेताले भने, ‘कार्यकर्ताहरू निष्क्रिय भएका छन्, उनीहरूलाई परिचालन गर्न पनि सकिएको छैन, भोलि केही गरी एकता भएन भने त्यसले हामीलाई निकै पछि पु¥याउनेछ ।’

अध्यक्ष दाहालले चाँडै नै एकता प्रक्रिया टुंग्याइने आश्वासन दिएको स्रोत बताउँछ । ‘विवाद धेरै छैन,’ दाहाललाई उद्धृत गर्दै ती नेताले भने, ‘केही प्राविधिक विषय मिलाउन बाँकी छ, अब हाम्रो ध्यान त्यसमै केन्द्रित हुनेछ ।’ उनले बुधबार एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीसँग छलफल गर्ने तयारी भइरहेको समेत जानकारी गराएका थिए ।


Views: 6