18th August | 2018 | Saturday | 11:35:03 PM

जग्गा नेपालीको, हैकम भारतीयको

दुर्गा उपाध्याय   POSTED ON : Wednesday, 16 May, 2018 (1:26:36 PM)

जग्गा नेपालीको, हैकम भारतीयको

कञ्चनपुर । किसानलाई यतिबेला कामको निकै चटारो छ । मानो रोपेर मुरी फलाउने बेला भएकाले पनि बाँझो खेत जोत्न, धानको बीउ छर्न र वर्षभरी थुपारेर राखेको गोबर मल खेतबारीमा हाल्न उनीहरूलाई भ्याई नभ्याई छ । 

त्यही मानो रोप्ने तयारीमा लागेका बेलौरी नगरपालिका १० का कृष्णदत्त पन्तलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले आफ्नै खेतमा काम गर्न रोके । वर्षाैंदेखि भोगचलन गर्दै आएको खेतको माटो सम्याइरहेका पन्तलाई एसएसबीले सोमबार साँझ भारतको भूमि भन्दै काम गर्न रोकेका हुन् । 

संयुक्त सर्भे टोलीले सो क्षेत्र भारतमा पर्ने बताएको भन्दै एसएसबीले नयाँ स्तम्भ नबनेसम्म पन्तलाई भोगचलन गर्न रोक लगाएको वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले पुष्टि गरे । ‘नेपालीले वर्षौंदेखि भोगचलन गर्दै आएको जमिनलाई एकाएक एसएसबीले दशगजा पर्ने भन्दै काम गर्न रोकेको छ’, वडा अध्यक्ष चौधरीले भने, ‘उनीहरूले दशगजा दाबी गरेको भूमिको नेपालीसँग जग्गा धनी पूर्जा पनि छ ।’

सीमा क्षेत्रसँग जोडिएको १३३ देखि १३४ नम्बर सीमा स्तम्भसँग जोडिएको नेपाली भू–भागमा भारतीय सीमा सुरक्षा बलले हस्तक्षेप गरेको पीडित कृष्णदत्त पन्तले बताए । ‘नहरको छेउको जमिन उचोनिचो थियो । पानीले खेतको मल बगाएर लाने भएकाले जमिनलाई सम्याइरहेका थियांै’, पन्तले भने, ‘त्यहिबेला एसएसबी आएर भारतको भूमि दाबी गर्दै काम गर्न रोक्यो ।’

पिताम्बर पन्तको नाममा रहेको १४६६ कित्ता नम्बरको सो जग्गाको आफूहरूले वर्षेनी मालपोत र पानीपोत तिर्दै आएको उनले बताए । ‘हामीसँग त्यो जग्गाको नक्सा र जग्गा धनी पूर्जा दुवै छ’, पन्तले भने, ‘वर्षेनी सरकारलाई मालपोत र पानीपोत तिर्दै आएका छौं । अहिले एसएसबीले त्यो भारतको भूमी पर्छ भन्छ ।’ उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली मंगलबार एसएसबीको क्याम्पमा गएर नक्सा र जग्गा धनी पूर्जा देखाउँदा नेपाल सरकार र नापी विभागले नै जग्गा धनी पूर्जाको प्रमाण गलत दिएको दाबी गरेका छन् । 

‘स्थानीय प्रशासनको रोहबरमा वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको नक्सा र जग्गा धनी पूर्जाको प्रमाण हामीले मंगलबार एसएसबीलाई देखायौं’, पन्तले भने, ‘सबै प्रमाण हेरेपछि उल्टै तिमीहरूको सरकार र नापीले पो गलत नक्सा र प्रमाण दियो भन्दै हामीलाई फर्काए ।’ कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय सुरक्षाकर्मीले पटकपटक हस्तक्षेप गर्दै आएका छन् । महिनै पिच्छे एसएसबीको ज्यादति खेप्दै आएका सो क्षेत्रका स्थानीयलाई प्रशासन भएको आभाषसमेत हुन छोडेको छ । सीमा सुरक्षाका लागि खटिएको सुरक्षा निकाय (सशस्त्र प्रहरी) नै भारतीय पक्षसँग डराउने गरेको स्थानीय सरकारको आरोप छ भने सुरक्षा निकाय र प्रशासनको बेवास्ताप्रति स्थानीयवासी भने आक्रोशित बनेका छन् । 

एसएसबीले खेतमै आएर हस्तक्षप गरेपछि सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरीलाई खबर गर्दा बेवास्ता गरिएको पन्तको गुनासो छ । ‘हामीले सोमबार साँझ नै सशस्त्रलाई खबर गर्यौं’, पन्तले भने, ‘भोलि बिहानै आउँछांै भन्दै टारेको सशस्त्र प्रहरी  १२ बजे घटनास्थल पुग्यो ।’ दुई महिनाअघि भएको संयुक्त सर्भे टोलीको नक्सांकनमा सो भूमि भारतमा परेको भन्दै एसएसबीले पन्तलाई भोगचलन गर्न रोक लगाएको हो । 

भारतीय हस्तक्षेपका बारेमा छलफल गर्न मंगलबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) को क्याम्पमा पुगेका सुरक्षा निकायका पदाधिकारी र स्थानीय सरकाका प्रतिनिधिसहितको टोलीले सर्भे टोलीले नयाँ सीमास्तम्भ नबन्दासम्म सो जमिन भोगचलन गर्न नपाउने सहमति गरेको छ । 

‘मंगलबार दुवै पक्षबीच सहमति भयो’, वडा अध्यक्ष चौधरीले भने ‘अब नयाँ सीमास्तम्भ नबनुञ्जेल दुवै पक्षले भोगचलन नगर्ने भन्ने कुरा भयो ।’ दुवै पक्षबिच भोगचलन नगर्ने सहमति भएपनि पीडित पक्षले भने आफ्नो जमिनमा भारतीयले दादागिरी देखाएको आरोप लगाएको छ ।