19th October | 2018 | Friday | 9:24:08 PM

निशस्त्रीकरणमा प्रतिबद्ध छौँ : किम -ह्वाइट हाउसमा फेरि भेट्छौँ : ट्रम्प

निशस्त्रीकरणमा प्रतिबद्ध छौँ : किम -ह्वाइट हाउसमा फेरि भेट्छौँ : ट्रम्प

काठमाडौँ । जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो । 

तर मङ्गलबार बिहानको पहिलो बैठकमै उत्तर कोरियाली नेता किम जोङ् उन आणविक निशस्त्रीकरणमा सहमत भएपछि त्यो प्रतिक्षाको अन्त्य सुखद हुन पुगेको हो । 

अमेरिका र लगभग विश्वले नै कडा मिजासका दुवै नेता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम पहिलो वार्तामा कसरी प्रस्तुत हुन्छन् त्यसैमा वार्ताको भविश्य निर्भर रहन्छ भन्दै परिणामको पर्खाइमा थिए । 

यसैबीच उत्तर कोरियाली नेता किम जोङ उनले सिङ्गापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको शिखर वार्ताको क्रममा कोरियाली प्रायद्वीपलाई पूर्ण निशस्त्रीकरण गर्ने विषयमा प्रतिबद्धता जारी गरेका छन् । 

उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचको एक सम्झौतामा कोरियाली प्रायद्वीपमा नै पूर्ण निशस्त्रीकरण गर्ने सहमतिसहित हस्ताक्षर गरे । 

दुई नेताले सिङ्गापुरमा भएको वार्तापछि एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । यस वार्तापछि गर्वको अनुभव भएको ट्रम्पले बताए । 

अमेरिकाले उत्तरकोरियाको पूर्ण, प्रमाणिकरण गर्न सकिने र उल्टाउन नसकिने प्रकृतिको परमाणु निशस्त्रीकरणका लागि जोड दिँदै आएको थियो । 

ह्वाइट हाउसमा फेरि भेट्छौँ : ट्रम्प 

यसै वार्ताबाट प्रभावित भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतालाई फेरि भेट्ने बचन दिएका छन् । सिङ्गापुरमा भएको ऐतिहासिक शिखर सम्मेलनपछि राष्ट्रपति ट्रम्पले नेता किमलाई ह्वाइट हाउसमा भेट्ने बचन दिएका हुन् । 

ट्रम्पले सम्झौता हस्ताक्षर समारोह समापनपछि ‘हामी फेरि भेट्छौँ, सम्भवत हामी ह्वाइट हाउसमै भेट्छौँ भने । दुई नेताबीच भएको पहिलो भेटघाटबाट अत्यन्त प्रसन्न भएका ट्रम्प उत्तर कोरियाली नेतासँग बारम्बार भेटगर्ने पनि बताए ।रासस


Views: 5