22nd September | 2018 | Saturday | 6:36:35 PM

भारत र चीन जाँदै दाहाल

हिमालय टाइम्स   POSTED ON : Wednesday, 13 June, 2018 (1:42:54 PM)

भारत र चीन जाँदै दाहाल

चितवन (हिटा) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफू चाँडै भारत र चीनको भ्रमणमा जाने बताएका छन् । विकासका मोडेलकाबारेमा छलफल गर्न आफू दुवै छिमेकी मुलुकमा जान लागेको मंगलबार आयोजित एक कार्यक्रममा उनले बताए ।

विकासका मोडलका बारेमा आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला कुराकानी गरेको भन्दै उनले समय लिएर विकासका एजेण्डामा कुराकानी गर्न आउन मोदीले निम्तो दिएको दाहालले जानकारी दिए । 

चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको उनको भनाइ थियो । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि आफू पालोपालो भारत र चीन जाने तयारी गरेको उनले जनाए । चीन र भारतले देशका अन्य ठाउँमा झैं चितवन केन्द्रित एक÷एकवटा गौरवका आयोजनामा सहयोग गरोस् भन्ने आफ्नो चाहना रहेको उनले बताए । 

दाहालले अबको संघर्ष विकासका लागि भएको भन्दै विकासमा विपक्षी नरहनेसमेत बताए । भरतपुर महानगरपालिकाले मंगलबार यहाँ आयोजना गरेको ‘समृद्ध भरतपुर महानगरको एकीकृत विकास गुरुयोजना निर्माणका लागि अवसर, चुनौती र भावी कार्यदिशा’ विषयको एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक मूल्य मान्यतामा सत्ता पक्ष र प्रतिपक्ष भए पनि अहिले विकास निर्माणमा कोही प्रतिपक्ष नरहेको बताए । 

लामो समय सरकारमा रहेर अनुभव हासिल गरेको विपक्षी र केही गरौं भन्ने सत्तापक्ष भएकाले सबैको साझा एजेण्डा विकास र समृद्धि भएको उनले बताए । विगतमा राजनीतिक विषयमा सबैको ध्यान केन्द्रित हुने भए पनि अहिले आमजनता, राजनीतिक दल र सरकारको ध्यान विकासमा केन्द्रित रहेको जनाउँदै दाहालले अब विकास र समृद्धिको दशक बनाउनुपर्ने बताए । 


Views: 1