16th December | 2018 | Sunday | 11:56:22 AM

ट्रम्प–किम शिखर वार्ता : चार बुँदे सहमतिपत्रमा हस्ताक्षर

एजेन्सी   POSTED ON : Wednesday, 13 June, 2018 (1:45:01 PM)

ट्रम्प–किम शिखर वार्ता : चार बुँदे सहमतिपत्रमा हस्ताक्षर

सिंगापुर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच बहुप्रतिक्षित शिखर वार्ता चार बुँदे सहमतिका साथ मंगलबार सम्पन्न भएको छ । दुई नेताबीच कोरियाली प्रायद्वीपमा दिगो शान्ति तथा उत्तर कोरियाको सुरक्षा तथा परमाणु निःशस्त्रीकरणमा महŒवपूर्ण सहमति भएको हो ।

दुवै नेताले हस्ताक्षर गरेको सहमतिपत्रमा संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी–उत्तर कोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध रहेको उल्लेख छ । 

सहमतिपत्रमा संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायद्वीपमा दिगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकताबद्ध तुल्याउने तथा सन् २०१८ को अप्रिल २७ तारिखमा भएको पाम्मुन्जम घोषणापत्रप्रति समर्थन जनाउँदै प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायद्वीपको पूर्ण परमाणु निःशस्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता जनाएको छ ।

त्यस्तै युद्धबन्दी र लडाइँका क्रममा बेपत्ता भएकाहरूको अवशेष खोजी गर्ने र पहिचान भइसकेका पार्थिव अवशेषहरूलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि दुवै मुलुक सहमत भएका छन् । उत्तर कोरियाली नेता किमसँगको वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ताबाट हासिल उपलब्धिप्रति आफूले गर्व गरेको बताएका छन् । उनले विगतको दाँजोमा अमेरिका र कोरियाली प्रायद्वीपबीचको सम्बन्ध अब नितान्त भिन्न हुने बताए । दुवै पक्षले विशेष सम्बन्ध विकसित गरेको दाबी गर्दै उनले वार्तामा सोचेभन्दा धेरै प्रगति भएको जनाए ।

उत्तर कोरियाली नेता किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको छलफल ऐतिहासिक भएको बताए । उनले अब विश्वले ठूलो परिवर्तन देख्न पाउने बताए । उनले आफूहरू विगतलाई पछाडि छाड्न सहमत भएको उल्लेख गरे । उत्तर कोरियाली नेता र अमेरिकी राष्ट्रपतिबीच इतिहासमै पहिलो पटक भेटवार्ता भएको हो । दशकौंदेखि परस्पर शत्रुतापूर्ण व्यवहार गर्दै आएका यी दुई मुलुकका राष्ट्रप्रमुख बीचको वार्ता विश्वका लागि चासोको विषय बनेको थियो । वार्ता हुने या नहुने अन्यौलका बीच दुवै नेता उत्साहसाथ सिंगापुर पुगेका थिए, जहाँ उनीहरूले ऐतिहासिक वार्तामात्र गरेनन्, विश्वलाई चार बुँदे सहमतिमार्फत ऐतिहासिक उपलपब्धिको प्रमाण पनि पेश गरे ।

ट्रम्पले किम जोङ उनसँग विशेषसम्बन्ध कायम भएको जनाए । उनले भने, ‘किम निकै प्रतिभाशाली व्यक्ति हुनुहुन्छ । आफ्नो देशलाई धेरै माया गर्नुहुन्छ ।’ उत्तर कोरियाली नेता किमले यो बिन्दुसम्म आइपुग्न निकै कठिन रहेको बताउँदै आफूहरूले निकै ठूलो चुनौती पार गरेर यहाँसम्म आइपुगेको प्रतिक्रिया दिए । उनले भने, ‘हाम्रो इतिहास, हाम्रा पूर्वाग्रह यस दिशामा अघि बढ्न अवरोध बनिरहेका थिए तर हामी ती सबै चुनौती पार गरेर यहाँ आइपुगेका छौं ।’

ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासले निरन्तरता नपाउने संकेतसमेत गरेका छन् । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यासलाई ‘भड्काउपूर्ण’ भन्दै आएको थियो । ट्रम्पले संयुक्त सैन्य अभ्यासलाई ‘युद्धको खेल’ संज्ञा दिँदै भने, ‘हामी लामो समयदेखि दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास गर्दै आएका थियौं, त्यसमा ठूलो खर्च हुन्थ्यो, अहिले हामी धेरै जटिल सम्झौताका बारेमा कुरा गरिरहेका छौं, मलाई लाग्छ अब युद्धको खेल जारी राख्नु उचित हुँदैन ।’ शिखर वार्तामा उत्तर कोरियाली नेता किमले क्षेप्यास्त्र तथा परमाणु अखडा नष्ट गर्दै जाने प्रतिबद्धता जनाएको जानकारी दिँदै ट्रम्पले उत्तर कोरियाले आफ्ना प्रतिबद्धता पूरा गर्दै गएमा उसमाथि लगाइएका नाकाबन्दी क्रमशः घटाउँदै लैजाने प्रष्ट पारे ।

सिंगापुरमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘उत्तर कोरियामा मानवअधिकारको अवस्थामा व्यापक सुधारपछि मात्र प्रतिबन्धहरूलाई हटाउन आवश्यक कदम चालिनेछ ।’ उनले उत्तर कोरियाली नेता किमसँग अब अमेरिकामा वार्ता हुने संकेतसमेत गरेका छन् ।

दुई नेताबीच शिखर बैठकअघि ३८ मिनेट लामो ‘वान टु वान’ वार्ता भएको थियो । लगत्तै उनीहरूसहितको प्रतिनिधिमण्डलबीच शिखर वार्ता भएको थियो । दिवा भोजसँगै लिएका दुवै नेता केहीबेर बगैँचामा भलाकुसरी गर्दै टहलिएका थिए । उनीहरूको हरेक कदमलाई कैद गर्न सिंगापुर पुगेका विश्वका सञ्चारकर्मीहरू आफ्नो क्यामेरा सोझ्याइरहेका थिए ।

 


Views: 16