17th July | 2018 | Tuesday | 1:20:46 PM

यसलाई सम्बन्धन् देउ, यसलाई नदेउ भन्ने अधिकार केसीलाई कस्ले दियो– योगेश भट्टराई

  POSTED ON : Wednesday, 11 July, 2018 (7:03:43 PM)

यसलाई सम्बन्धन् देउ, यसलाई नदेउ भन्ने अधिकार केसीलाई कस्ले दियो– योगेश भट्टराई

काठमाडौं । नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईले डा. गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् । 

काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारेका छन् ।

डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाण्डौ आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे । “तपाई काठमाडौ आउनुस् । वार्ता गर्न सरकार तयार छ । अनशन बसिरहनु पर्दैन ।”–उनले भने ।

जनताको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता अधिकार दिनका लागि सरकार तयार रहेको जिकिर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाडौ र कहिले जुम्ला पुगेर अनशन बस्नु नपर्ने बताए ।

“गोविन्द केसीसँग बन्द कोठाभित्र होइन, खुला मञ्चमा बसेर वार्ता गर्न तयार छौँ । सबै टेलिभिजन बोलाएर प्रत्यक्ष प्रशारण गर्दै वार्ता गरौँ । यसका लागि अनशन तोड्नुस, स्वस्थ हुनुस् ।” भट्टाराईले भने ।

हरेक पटकको अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उनले केसीको अनशनको उद्देश्य नै शंकास्पद रहेको दाबी समेत गरेका छन् ।

जायज मागलाई सकारात्मक रुपमा लिन सकिने भएपनि केसीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले लगानी गरेको कलेजलाई सम्बन्धन नदिने खेल खेलेको आरोपसमेत लगाए ।

आक्रोषित हुँदै भट्टराईले भने,“फलानो मेडिकल कलेजलाई सम्बन्धन देउ, ढिस्कानोलाई नदेउ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो ? देशभर नेपाली कांग्रेसका नेताहरुले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरुको कलेजले सम्बन्धन पाउने बेलामा अनशन बस्ने ? मनमोहनसँग के दुश्मनी छ ?”

“मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताहरु चाँही राम्रो अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दा चाँही माफिया ?” भट्टराईले भने ।

अहिलेसम्म खुलिसकेका मेडिकल कलेजको पनि छानबिन गर्नुपर्ने भट्टराईको तर्क छ । संसदीय छानबिन समिति बनाएर सबै मेडिकल कलेजलाई छानबिनको दायरामा ल्याइने भट्टराईले बताए ।

माथेमा प्रतिवेदन सुझाबमात्रै भएकाले हुबहु त्यसैका आधारमा नियम बनाउनुपर्छ भन्ने कुरा जायज नभएको उनको भनाई छ ।

नेपाल चिकित्सक संघले केसीको मागप्रति समर्थन जनाउँदै आन्दोलन गरेकामा भट्टराइले आपत्ति जनाएका छन् । “गोविन्द केसीलाई लडाएर अनशन बस्न लगाउने अनि आफू आन्दोलन गर्ने ? अरुको जीवनमाथि किन खेलवाड ? सक्नुहुन्छ भने तपाईहरु आफै अनशन बस्नुस् ।” उनले चुनौति दिए ।